डेनमार्क, आश्विन २ - डेनमार्कमा पुर्नबास भएका भुटानी शरणार्थीलाई भाषाको ठूलो समस्या भएको छ । विश्वका कठिन भाषामध्येमा पर्ने डेनिस भाषा सिक्न शरणार्थीलाई निकै कठिन हुने गरेको हो । 'यहाँ हामीलाई ठूलो समस्या छ भने त्यो हो भाषाको' निरक्षर तुलसा अधिकारीले भनिन् 'हामी पढ्दै नपढेकाले त डेनिस भाषा जान्दछौ जस्तो पनि लाग्दैन ।'
आफू पाँच महिनादेखि डेनिस भाषा सिक्न स्कुल जान थालेको बताउदै उनले थपिन् 'हाइ र हेल्लो भन्न जाने, हाइ भनेको हाम्रो नमस्ते जस्तै रहेछ ।'
अंग्रेजी भाषा पनि हैन तर अंग्रेजी अक्षरबाट बनेको डेनिस भाषाको अक्षरको उच्चारण फरक र भित्र भित्र गाभेर बोल्नु पर्ने भएका कारण यो भाषा सिक्न कठिन भएको हो । बुढेसकाल लागेका तथा अंग्रेजी नजान्नेका लागि झनै कठिन भएको छ ।
शरणार्थीले भाषा सिक्न सातामा पाँचदिन स्कुल जानु पर्छ । डेनिस भाषा निशुल्क सिकाइन्छ । दुर्गा अधिकारीका अनुसार डेनमार्कको नागरिक बन्नका लागि तीन बर्षमा भाषा जान्नु पर्छ । तीन बर्षमा भाषाको छ तह पास गर्नुपर्ने जनाउदै उनले स्कुल गएकामध्ये आफू सहित चार जनाले छ तह पास गरिसकेका बताए । बालकुमारी कोइराला, कमल कोइराला र माया भण्डारीले पनि भाषाको तह पास गरिसकेका छन् ।
'पढेकालाई पनि डेनिस भाषा सिक्न गाहो रहेछ' पास गरेपनि मजाले बोल्न बुझ्न नसकिने उल्लेख गर्दै कोइरालाले भनिन् 'जे लेखिन्छ त्यो कुरा बोल्दा फरक उच्चारण गरिन्छ ।' स्कुल पढ्दा अंग्रेजी शब्द जसरी उच्चारण गरियो तर, डेनमार्कमा शब्द उच्चारण पनि फरक ढंगबाट गरिने भएकाले बोल्न कठिन भएको अनुभव सुनाइन् ।
शरणार्थीको लागि डेनिस भाषा तेस्रो भाषा भएकाले पनि सिक्न अझ कठिन भएको अनुभव उनीहरुले गरेका छन् ।आफूले युरोपका केही मुलुकको भाषा सिक्ने अबसर पाएको उल्लेख गर्दै विष्णु अधिकारीले तर, डेनिस भाषा गाहो लागेको बताए । निरक्षर तथा अंग्रेजी बोल्न बुझुन नसक्ने शरणार्थीलाई शरणार्थीको समूहमा राखेर पढाइन्छ ।
'भाषा पढ्न साहै कठिन रहेछ' निरक्षर कासिनाथ न्यौपानेले थपे ' दिनै पढ्न जान्छौ तर, भाष सिक्न नसकेकोमा दुख लाग्छ ।' अंग्रेजी समेत नजान्ने शरणार्थीलाई भाषाको समस्याले घर बाहिर एक्लो घुमफिर गर्न सकेका छैनन् । डेनमार्कमा ३ सय २६ जना शरणार्थी आएका छन् । उनीहरु राजधारी कोपनहेगन बाहिर बिभिन्न स्थानमा बस्छन् । डेनमार्क सरकारले खान बस्न वापत मासिक प्रति शरणार्थी ४ हजार ७ सय क्रोनर दिन्छ । स्वास्थ्य, शिक्षा निशुल्क छ । घरभाडा प्रति महिना सात -आठ हजार क्रोनर तिर्नुपर्छ ।
१० -१२ परिवारका दरले विभिन्न ठाउँमा राखिएका भुटानी शरणार्थी बसेका ठाउँहरुमा अन्य मुलुकका शरणार्थी र डेनिस नागरिक पनि छन् । उनीहरुलाई नेपालमा जस्तो शिबिर खडा गरेर राखिएको छैन । अन्य सामान्य नागरिक झै राखिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks