Loving nepal news

Monday, September 13, 2010

कांग्रेस महाधिवेशनमा खान र बस्नमात्र १ करोड

जितेन्द्र साह

ललितपुर, भाद्र २९ - कांग्रेसको बाह्रौं महाधिवेशनमा भाग लिन आउने स्वदेशी र विदेशीका लागि आवास एवं भोजनमा मात्र करिब एक करोड १४ लाख ५७ हजार रुपैयाँ खर्च हुने भएको छ । महाधिवेशन प्रतिनिधि र पर्यवेक्षक गरी ३ हजार ३ सयको सहभागिता हुनेछ ।

आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक बलबहादुर केसीका अनुसार आवासमा ५० लाख ८२ हजार रुपैयाँ, भोजनमा ६३ लाख र पानीमा ७५ हजार रुपैयाँ खर्च हुने देखिन्छ । उक्त समितिले बागबजारको इन्द्रेनी होटेलमा सचिवालय स्थापना गरेको छ । व्यवस्थापनअनुसार प्रतिव्यक्ति खानामा तीन सय रुपैयाँ र आवासमा दुई सयदेखि दुई सय ५० रुपैयाँ खर्च हुने देखिन्छ ।

महाधिवेशनमा बाहिर जिल्लाबाट आउने महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ संगठन, विदेशस्थित जनसम्पर्क समिति र स्वयंसेवकहरूका लागि यो व्यवस्था गरिएको हो । राजधानीको गौशाला, बागबजार, कमलपोखरी, सुन्धारा-भोटेबहाल र ठमेल-क्षेत्रपाटीका १ सय ३ होटेल एवं धर्मशाला भाडामा लिइएको छ । समितिका अनुसार भदौ ३१ को साँझदेखि असोज ६ को बिहानसम्म आवासको र असोज १ को बिहानदेखि ५ गते बेलुकासम्म भोजनको व्यवस्था रहनेछ । टुँडिखेलमा सुरु हुने उद्घाटन सत्रमा भने महाधिवेशन प्रतिनिधि र स्वयंसेवकका लागि मात्र भोजनको व्यवस्था गरिएको छ ।

'सम्झौताअनुरूप होटेललाई १० प्रतिशत अगि्रम भुक्तानी दिइसकिएको छ,' समितिका सदस्य लेखनाथ पोखरेलले कान्तिपुरसँग भने, 'पाहुनाहरू अझ बढी दिन बस्ने स्थिति आएमा त्यही अनुरूप होटेलसँग सम्झौता गरिएको छ ।' उनका अनुसार जिल्ला बाहिरबाट धेरै प्रतिनिधिहरू आइसकेका छन् । उनीहरू अहिले भने आफ्नो सुविधाअनुरूप आफन्त, मित्र र होटेलमा बसेको उनले जानकारी दिए ।

'एक व्यक्तिका लागि एक विस्तरा, सम्भव भएसम्म एक अञ्चल वा मिल्दो भौगोलिक क्षेत्र तथा एक निर्वाचन क्षेत्र नघट्ने गरी प्रतिनिधिहरूलाई बस्ने सुविधा मिलाइएको छ,' संयोजक केसीले सोमबार सञ्चारकर्मीहरूलाई भने । केसीका अनुसार व्यवस्थापन गर्दा अपांग र महिलाको बसोबासलाई विशेष प्राथमिकता दिएका छौं ।

उनले तोकेको मेनुअनुसार खुला प्रतिस्पर्धामा क्याटरिङका लागि परेको १३ निवेदनमध्ये वैधानिक हैसियत एवं क्षमताका आधारमा एकको छनोट गरिएको बताए । खाजामा चिया, रोटी, जेरी, चना, पुरी र तरकारीको व्यवस्था छ भने खानामा दाल, भात, दुई खालको तरकारी, अनार, सलाद, दही र मासुको व्यवस्था छ । 'दिनैपिच्छे कहिले कुखुरा र कहिले खसीको मासुको व्यवस्था छ,' उनले भने, 'शाकाहारीहरूले चिन्ता लिनु पर्दैन, उहाँहरूले पनि स्वच्छ, स्वस्थ, सफा र स्वादिष्ट भोजन खान पाउनु हुनेछ ।' उक्त समितिमा सबै जिल्लाका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ संगठनका र सम्बन्धित क्षेत्रका विज्ञहरूलाई रेखदेखका लागि मनोनयन गरिएको छ । साथै आवास तथा भोजनको प्रबन्ध गरिएको स्थलहरूमा उपसमितिहरू गठन गरी जिम्मेवारी दिएको छ । केसीले भने, 'ती सम्पूर्ण कुराको व्यवस्थापनका लागि एक अनुगमन समितिसमेत निर्माण गरिएको छ ।' महाधिवेशनमा अमेरिका, जापान, चीन, भारत र युरोपेली मुलुकबाट आउने पाहुनाका लागि सोल्टी होटेलमा व्यवस्था गरिनेछ । विभिन्न मुलुकबाट महाधिवेशनको सफलताका लागि शुभकामना आउन सुरु भइसकेको कांग्रेसले जनाएको छ ।

खर्च सार्वजनिक गरिने महाधिवेशनका लागि गठित आर्थिक समितिका संयोजक दीपकुमार उपाध्यायले कुल व्यवस्थापनमा तीन करोड रुपैयाँ खर्च हुने जानकारी दिए । यसअन्तर्गत आन्तरिक स्रोतबाट एक करोड र बाह्य स्रोतबाट दुई करोड रुपैयाँ उठाइने उनले बताए । 'व्यक्तिगतभन्दा संस्थागत सहयोगमा जोड दिएका छौं,' उनले सोमबार बेलुकी कान्तिपुरसँग भने, 'जोर जबरजस्ती गरिएको छैन ।' उनले चन्दा दातालाई अनिवार्यरूपमा रसिद दिइएको र अभिलेख राखिएको बताए । उपाध्यायले यो सम्पूर्ण खर्चको लेखा परीक्षण गराई सार्वजनिक गरिने बताए । 'यसपालि नैतिकता र आचारसंहिताको पक्षमा कुनै चुक हुन नदिने पक्षमा छौं,' उनले भने, 'हाम्रो पार्टीले पछिसम्म अनुशरण गरोस् भन्ने चाहनासाथ खर्चलाई पारदर्शी राखेका छौं ।'

बुधबारदेखि प्रतिनिधि दर्ता

कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान १० बजेदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प््रारम्भ हुनेछ । दर्ता गर्ने कार्य बिहीबार र शुक्रबारसम्म जारी रहनेछ । दर्ताका लागि विकास क्षेत्रअनुरूप पाँच टेबुल राखिनेछ ।

थप अर्को टेबुल कांग्रेसका केन्द्रीय सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिका लागि छुट्याइएको छ । रजिस्ट्रेसन गर्न आउँदा महाधिवेशन प्रतिनिधिले निर्वाचित भएको प्रमाणपत्र, सो नभएमा जिल्ला सभापति र सभापतिको निर्वाचन नभएको जिल्लामा क्षेत्रीय सभापतिले दिएको प्रमाणपत्र बुझाउनु पर्नेछ । साथमा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रहेको डीसीबीएल बैंकको काउन्टरमा एक हजार रुपैयाँ बुझाएको रजिस्टे्रसन दस्तुर पेस गर्नुपर्नेछ । उक्त बैंकको काउन्टर भदौ २७ देखि दिनको ११ देखि ४ बजेसम्म खुला छ । रजिस्ट्रेसन भइसकेपछि आफ्नो परिचयपत्रको नाम र ठेगाना हेरेर लिन र उपलब्ध गराइने ब्यागमा लिस्टबमोजिमको सामग्री जाँचेर लिन आन्तरिक व्यवस्थापन समितिका संयोजक लक्ष्मण घिमिरेले आग्रह गरेका छन् । परिचयपत्रको आधारमा मात्र महाधिवेशनको बन्द सेसनमा हुने हलमा प्रवेश पाइने र निर्वाचनमा भाग लिन पाइने हुनाले त्यसलाई सुरक्षित उक्त समितिले पूर्वसूचना जारी गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks