काठमाडौ, भाद्र २१ - संयुक्त राष्ट्र संघका महासचिव वानकी मुनले वर्तमान कार्यादेशमा नै राष्ट्रसंघीय मिसनको समयावधी थप्नु पर्ने सिफारिस गरेका छन् । 'अहिलेको अबस्थामा मिसनको भविष्यका सम्बन्धमा गहन वार्ता गर्न अहिलेको स्थिति अनुकूल छैन' अनमिनले सोमबार जारी गरेको बिज्ञप्तिमा महासिचवको प्रतिवेदन उदृत गर्दै भनिएको छ । अनमिनले विधिवत गठित सरकारसँग आवश्यक छलफल गर्नका लागि वर्तमान कार्यादेशलाई नै निरन्तरता दिन सिफारिस गरिएको उल्लेख गरेको छ ।
महासचिवले प्रतिवेदनमा निरन्तर आधारहीन आलोचनाबाट सिर्जित कार्य सम्पादनमा नै जटिलता थप्ने खालको वातावरणमा मिसनको कार्यादेश बारम्बार थप गर्ने पक्षमा नरहेको उल्लेख गरेका छन् ।
साथै सुरक्षा परिषद्को अनुरोधबमोजिम बाँकी रहेका अनुगमनसम्बन्धी जिम्मेवारीहरूको हस्तान्तरण र आफ्नो फिर्तीसम्बन्धमा व्यवस्था मिलाउन अन्मिनले पक्षहरूसँग निरन्तर छलफल गर्दै आएको उल्लेख गरेको छ ।
'दलका वरिष्ठ नेताहरूसँगको परामर्श तथा समायोजन र पुनर्स्थापनाका प्राविधिक पक्षसँग सम्बन्धित 'नन-पेपर' तयारीसहितका आफ्नो तर्फबाट गर्ने प्रयास अन्मिनले जारी राखेतापनि मिसनलाई आफ्नो काम पूरा गर्न वा आफ्नो जिम्मेवारी कुनै पक्षलाई हस्तान्तरण गर्न सकिने खालको प्रगति भएको छैन' महासचिवले भनेका छन् ।
उनले दुई सेनाको भविष्य टुङ्गो लगाउँने तथा संविधानको मस्यौदा तयारी गर्ने जस्ता शान्ति प्रक्रियाका महत्त्वपूर्ण अपूरा कामहरूका अतिरिक्त विशेषत तराई र केही पहाडी जिल्लाहरूमा व्याप्त कानुनी शासनको अभाव र असुरक्षाजस्ता चुनौतिहरूलाई प्रतिवेदनमा समेटेका छन् ।
प्रतिवेदनमा माओवादीद्वारा आव्हान गरेको आमहड्ताल, हतियारधारी समूह तथा जातीय संगठनहरूद्वारा जारी जबरजस्ती चन्दा असुलीलगायत मानवअधिकार उल्लङ्घनसम्बन्धी विद्यमान दण्डहीनतालाई सम्बोधन गर्नेतर्फ कुनै प्रगति नभएको कुरा उठाएको बताइएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks