Loving nepal news

Sunday, September 5, 2010

गोरखकाली पहिलोपटक नाफामा


कृष्ण आचार्य

मझुवादेउराली (गोरखा), भाद्र २१ - बितेका २० वर्षदेखि निरन्तर घाटा बेहोर्दै आएको गोरखकाली रबर उद्योगले गत आर्थिक वर्षमा नाफा कमाएको छ ।

उद्योगले आर्थिक वर्ष २०६६/०६७ मा सवा २ करोड मुनाफा आर्जन गरेको जनाएको छ । सञ्चित पुँजी, कच्चा पदार्थको नियमित आपूर्ति, कामदार आन्दोलन, ऋण रकमको ब्याजको भारलगायत कारणले उद्योगले वाषिर्क ५ करोडभन्दा बढी घाटा बेहोर्दै आएको थियो । गत वर्ष ती कुराहरूमा सुधार आएकाले टायर उत्पादन गर्ने नेपालको एक मात्र उद्योगले पहिलो पटक नाफामा कमाएको महाप्रबन्धक डा. जटाधर झाले बताए ।

'अघिल्ला वर्षको तुलनामा यो आम्दानी ११ करोड बढी हो,' झाले भने, 'खुद नाफाचाहिँ सवा २ करोड भयो ।' उद्योग प्रशासनले कर्मचारीको उत्साह, कच्चा पदार्थको सहज आपूर्ति, कर्मचारी कटौती, सरकारी अनुदान लगायतले उद्योग नाफामा गएको जनाएको छ । उद्योगले यो अवधिमा ५२ हजार टायर उत्पादन गरेको थियो । यो अघिल्ला वर्षहरूमा भन्दा १० हजार बढी हो । 'कम कर्मचारी र आर्थिक मन्दीले कच्चा पदार्थको मूल्य घटेकाले उद्योगलाई फाइदा भयो,' महाप्रबन्धक झाले भने, 'सरकारले अनुदान दिएको ५ करोड रकमले कच्चा पदार्थ सञ्चित गरी निरन्तर उत्पादन गर्‍यौं ।' मन्दीले कच्चा सामानको मूल्य घट्दा लागत खर्च घटेको थियो । उद्योगले टायरको बिक्री मूल्य भने घटाएन । कच्चा पदार्थ सञ्चित गरेर निरन्तर उत्पादन गर्दा नाफा कामाउन सफल भएको महाप्रबन्धक झाको भनाइ छ । अघिल्ला वर्षहरूमा कच्चा पदार्थ नहुँदा उद्योग एक तिहाइ क्षमतामा चलाउनसमेत गाह्रो पर्ने गरेको थियो । गएको आर्थिक वर्ष उद्योग ४० प्रतिशतभन्दा बढी क्षमतामा चल्यो ।

उद्योग सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले भने सरकारी ऋणको ब्याजमा छुट पाएकाले नाफा कमाउन सफल भएको बताए । उद्योग स्थापनाका लागि सरकारले दिएको ३६ करोड ऋणको ब्याज वाषिर्क १० प्रतिशत लिने गरेको थियो । 'अग्राधिकार सेयरका रूपमा रहेको १४ करोडको र ऋण रकमको ब्याज सरकाले ३ प्रतिशत मात्र लिन थाल्यो,' मानन्धरले भने, 'जोगिएको ७ प्रतिशत ब्याजले उद्योग नाफामा गयो ।' उद्योगले ५ सय कर्मचारीमध्ये गत वर्ष कटाएर करिब ३ सय मात्र राखेको थियो । कर्मचारीको तलब खर्च बचत भएकाले त्यसलाई नाफामा गाभिएको छ । पूरा क्षमतामा चल्न नसकेको उद्योगमा सुरुमा भर्ना गरिएका कर्मचारीसमेत बढी थिए । कतिपयले राजीनामा दिएपछि उद्योगले पदपूर्ति गरेको छैन । लामो समयदेखि कामदार तथा कर्मचारीले आन्दोलन नगरेकाले उद्योगको उत्पादनमा सहयोग पुगेको थियो ।

गत असारमा अहिलेसम्मकै महिनामा सबैभन्दा धेरै दिन (२२ दिन) उद्योगले उत्पादन गरेको जनाएको छ । विगत वर्षमा महिनामा सरदर एक साता मात्र उद्योगले उत्पादन गर्ने गरेको

थियो । २० वर्ष निरन्तर घाटा बेहोर्दा उद्योगको सञ्चित नोक्सानी ९६ करोड पुगेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks