काठमाडौ, भाद्र १९ - नेपाली क्रिकेटमा यो साता खुसी छाएको छ । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष विनयराज पाण्डेलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एसियाली क्रिकेट विकास समितिको सदस्यमा नियुक्त गरेको छ । करिब दुई साताअघि इटालीमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ प्रवेशको सपना पूरा नभए पनि निराश देखिएको नेपाली क्रिकेटका लागि यसले केही खुसी भने पक्कै दिएको छ । सन् २०१० को मार्चमा आईसीसीको 'लाइफटाइभ अचिभमेन्ट अवार्ड' बाट सम्मानित उनी यसै वर्ष एसियाली क्रिकेट परिषद् (एसीसी) को उपाध्यक्ष पनि चयन भएका थिए । आईसीसी विकास समितिको सदस्यमा नियुक्ति र नेपाली क्रिकेटको सेरोफेरोमा रहेर शरदप्रकाश धिताल र जगदीश्वर पाण्डेले गरेको कुराकानी-
एसियाली विकास समितिको सदस्यमा नियुक्त हुँदा कस्तो लागेको छ ?
यो नेपाल र नेपाली क्रिकेटको सम्मान हो । एसियाली क्रिकेट विकास सदस्यमा नियुक्त हुन पाउनु ठूूलो हो । मलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । मैले एसियाका चार टेस्ट खेल्नेबाहेकका अन्य १८ राष्ट्रलाई हेर्नुपर्नेछ । आईसीसीले पाँच विभिन्न क्षेत्रमा एक/एक सदस्यलाई नियुक्त गर्छ । अमेरिका, युरोप, अपि|mका, एसिया र प्यासिफक एसिया गरी पाँच क्षेत्र छन् ।
अब, नेपाली क्रिकेटको विकासमा के पहल गर्नुहुन्छ ?
पक्कै पनि यसले गर्दा नेपाली क्रिकेटलाई अगाडि बढाउन थप सहयोग पुग्नेछ । नेपालमा खेलाडी छन् तर पूर्वाधारको कमी छ । पूर्वाधारका साथसाथै आईसीसीबाट नेपालका लागि कार्यक्रमको पहलसमेत गर्न सकिन्छ । भर्खर नियुक्त भएको छु, त्यहाँको प्रक्रिया के छ भन्नेमा म स्पष्ट छैन । अब गोन्जाउमा कात्तिकमा हुने कमिटीको बैठकपछि मात्र के गर्न सकिन्छ थाहा पाउन सकिन्छ ।
क्यान अध्यक्षको हैसियतले हेर्दा नेपालको क्रिकेट कहाँ छ ?
नेपालको क्रिकेट स्तर राम्रो छ । हामी क्रमिक रूपमा अगाडि बढ्दै गइरहेका छौं । खेल्दै नखेलेको टिमले खेलेर सफलतासमेत हात पार्दै आइरहेको छ । खेलाडी आफ्नै पहलमा खेलिरहेका छन् । आईसीसीले सन् २००४ मा टेस्ट नखेल्ने राष्ट्रको समेत वरीयता निकाल्न थालेको हो । त्यसबेला नेपाल ३७ औं स्थानमा थियो । नेपाल अहिले २७ औं स्थानमा छ । जसलाई हामी सफलताकै रूपमा लिन सक्छौं ।
घरेलु क्रिकेटलाई कसरी हेर्नुभएको छ ?
नेपालमा घरेलु क्रिकेटको अवस्था राम्रो नै छ । उमेर समूह र सिनियर गरी ६ वटा राष्ट्रिय प्रतियोगिता गर्दै आइरहेका छौं । राष्ट्रिय प्रतियोगिताअघि जिल्ला र क्षेत्रीयस्तरमा प्रतियोगिता भइरहेका छन् । त्यस्तै, स्कुलस्तरमा पनि उल्लेख्य मात्रामा खेल सञ्चालन भइरहेका छन् ।
अब यसको संरचनागत परिवर्तन गर्नेबारे के विचार छ ?
अब नेपालको घरेलु क्रिकेटको संरचनागत परिवर्तमा जोड दिने सोच छ । यसका लागि मुख्य तीन कार्ययोजना अघि बढाउने विचारमा क्यान रहेको छ । पहिलो हाल भइरहेको क्षेत्रलाई ६ बाट बढाएर ८ पुर्याउनेबारे छलफल भइरहेको छ । हाल विराटनगर, वीरगन्ज, काठमाडौं, नेपालगन्ज, बैतडी र भैरहवा छन् । अब वीरगन्जलाई टुक्र्याएर जनकपुर तथा भैरहवाबाट पोखरा क्षेत्र थप्ने तयारीमा छौं । पोखरामा पूर्वाधार छ भने जनकपुरमा उल्लेख्य खेलाडी छन् । दोस्रो, प्रत्येक जिल्लालाई नै सक्रिय गराउने हो । जिल्लालाई संघले सहयोग गरी वर्षमा कम्तीमा एक क्लब प्रतियोगिता गर्न लगाउने सोचमा छौं । त्यहाँ उत्कृष्ट क्लबहहरूको बीचमा राष्ट्रिय प्रतियोगिता गर्नेछौं । तेस्रो तथा मुख्य लक्ष्य भनेको पूर्वाधार विकास नै हो । पूर्वाधारबिना खेल असम्भव हुने भएकाले यसमा जोड दिने सोचमा छौं । यही वर्षको मसान्तसम्म क्यानको लक्ष्य कीर्तिपुरको त्रिविका साथसाथै पुल्चोकस्थित इन्जिनियरिङ मैदान व्यवस्थित बनाउने सोचमा छौं । त्यससँगै मूलपानी, पोखरा र काँकडभिट्टाको मैदान निर्माण सम्पन्न हुनेछ । त्यस्तै, विराटनगर, वीरगन्ज र भैरहवाको मैदानलाई सुधार ल्याउनेछौं ।
डिभिजन-४ को नेपालको प्रदर्शनलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
प्रतियोगितामा अमेरिका र नेपाल बलिया टिम थिए । अमेरिका र तान्जानियासँगको हारले गर्दा हामी डिभिजन-३ उक्लन असफल भयौं । माथिल्लो डिभिजनमा उक्लिएको भए नेपाली क्रिकेटलाई धेरै फाइदा पुग्ने थियो । सन् २०१५ मा विश्वकप खेल्ने अवसर अझै बाँकी छ । अब हामीले सन् २०१२ मा हुने डिभिजन-४ को तयारी गनर्ुपर्छ ।
अब प्रशिक्षक परिवर्तनको अवस्था आएको हो ?
वर्तमान प्रशिक्षक रोय डायसले लामो समयदेखि नेपाली टिमको जिम्मेवारी सम्हालिसकेका छन् । उनको प्रशिक्षणमा सफलता पनि प्राप्त भएको छ । तर यसै वर्षको डिसेम्बरसम्म उनको म्याद छ । अब बस्ने क्यान बैठकले डायसको म्याद थप्ने वा नथप्नेबारे निर्णय गर्नेछ ।
खेलाडीका लागि के योजना छ ?
अब अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेलिसकेका खेलाडीलाई 'डेभलपमेन्ट अफिसर' का रूपमा राख्नेबारे सोचिराखेका छौं । उनीहरूले विभिन्न क्षेत्रको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान दिन सक्छन् । त्यस्तै, कुनै खेलाडीले एकेडेमी खोल्छ भने उसलाई पनि क्यानले सहयोग गर्नेछ । त्यस्तै, उमेर समूहका लागि हिसानसँग मिलेर हिसान कप र बैंकहरूसँग मिलेर बैंकर्सकप क्रिकेट आयोजना गर्ने सोच छ । यसले खेलाडीलाई सहयोग गर्नेछ ।
नेपालको महिला क्रिकेट कहाँ छ ?
अहिले नेपाली टिम उत्कृष्ट छ । नेपालले एसीसी ट्रफीसमेत भित्र्याइसकेको छ । अबका ६/७ वर्षसम्म यसलाई निरन्तरता दिन सक्छौं कि सक्दैनौं
हामीलाई चुनौतीसमेत छ । यही स्तरलाई हामीले कायम राख्न सक्नुपर्छ ।
एसियाको क्रिकेट विकासका लागि कस्तो योजना छ ?
क्रिकेटको विकास गर्न दुई/तीन कुराको तालमेल मिल्नुपर्छ । भौतिक पूर्वाधार भएको राष्ट्रमा खेलाडीको अभाव छ भने खेलाडी भएको देशमा पूर्वाधारको कमी छ । जस्तै, मध्यएसियामा भौतिक पूर्वाधार छन्, खेलाडीको अभाव छ । नेपालमा खेलाडी छन्, भौतिक पूर्वाधारको कमी छ । भुटानमा ७ अन्तर्राष्ट्रिय अम्पायर छन् । जहाँ प्रतियोगिता नै हुँदैन । यी विभिन्न कुरालाई मध्यनजर गर्दै नयाँ कार्यक्रमसाथ अगाडि बढ्नुपर्छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks