काठमाडौ, भाद्र १७ - कांग्रेस केन्द्रीय समितिका लागि महिला आकांक्षीको संख्या बढेको छ । पार्टी विधानले कम्तीमा १३ महिला केन्द्रीय कार्यसमितिमा आउने बाटो खुला गरेपछि उम्मेदवारको सूची लामो देखिएको हो ।
अहिलेसम्म दुई दर्जन महिलाले उम्मेदवारी घोषणा गरिसकेका छन् । पचासभन्दा बढी उम्मेदवार हुने सम्भावना देखिएको महिला संघ महासचिव एवं सभासद पुष्पा भुसालले बताइन् । विधानले खुलाबाट महिला कोटामा ६ जना निर्वाचित हुने व्यवस्था गरेको
छ । आदिवासी जनजाति, दलित र मधेसीबाट पनि दुई/दुई जना महिला निर्वाचित हुनेछन् । सभापतिले एकजना मनोनीत गर्ने व्यवस्था छ ।
महिलाले खुला प्रतिस्पर्धाभन्दा आरक्षण र समावेशी कोटामा बढी प्रतिस्पर्धा गर्ने स्थिति देखिएको छ । तर सबैका लागि खुला २५ केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने आकांक्षी देखिएका छैनन् । सुजाता कोइरालाले महामन्त्री र चित्रलेखा यादवले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मन्त्री, केन्द्रीय सदस्य र सभासद भइसकेकाले पनि आरक्षणमा आकांक्षा देखाएका छन् । केन्द्रीय सदस्यसमेत रहेकी महालक्ष्मी उपाध्यायले विधानको नयाँ व्यवस्थासँगै केन्द्रमा आउन चाहनेको आकांक्षा बढेको बताइन् ।
'महिला कोटा र समावेशीमा बढी सुरक्षित भइन्छ भन्ने सोचेर पनि खुला प्रतिस्पर्धामा महिला जान नखोजेका हुन्,' उपाध्यायले भनिन् ।
सभासद भुसालले पनि खुला २५ भित्र पुराना र नयाँ पुस्ता आउनुपर्ने भएकाले महिलाको उम्मेदवारी आरक्षण र समावेशीमा केन्दि्रत भएको धारणा राखिन् । 'दुई पुस्ताको प्रतिस्पर्धा भएकाले महिला कोटा र समावेशीमा नै बढी सुरक्षित हुने देखेर यतामात्रै उम्मेदवारी पर्ने देखिएको हो,' उनले भनिन् ।
महिला सदस्यका लागि उपाध्याय, भुसाल, मीना पाण्डे, कमला पन्त, सुप्रभा घिमिरे, अम्बिका बस्नेत, उमा रेग्मी, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, डिला संग्रौला, शारदा पौडेल, शान्ता शर्मा, कल्याणी रिजाल, कृष्णा अमात्य, निर्मला प्रसाईं, अनिता देवकोटा, रुकमणि कोइराला, इन्द्र कार्की, रिता खनाल, कान्ता रिजाल, जया पाठक, उमा दाहाललगायतले उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा जुटेका छन् ।
दलितबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्यका लागि लक्ष्मी परियार, कविता सरदार, सिर्जना परियार, राजन विक र आशा विकले उम्मेदवारी दिने भएका छन् । जनजातिमा उषा गुरुङ, सीता गुरुङ, रत्ना गुरुङ, सुर्वण ज्वारचन,
महेन्द्रा सुब्बा, ममता थेबे, बुद्धलक्ष्मी बजगाईं, प्रमिला राई र लक्ष्मी राईले आकांक्षा देखाएका छन् । मधेसी कोटामा मंगलबारसम्म मीनाक्षी झाले उम्मेदवारी घोषणा गरेकी छन् ।
पहिलो पटक केन्द्रीय कार्यसमितिमा सत्र प्रतिशत महिला प्रतिनिधित्व हुने भएको छ । हाल ६ जना महिला मात्रै केन्द्रीय कार्यसमितिमा छन् । महिला संघकी महासचिव भुसालले भने १७ प्रतिशत सिट पनि सन्तोषजनक नरहेको बताइन् । 'हाम्रो माग त ५० प्रतिशत हो । तर ३३ प्रतिशतलाई सुनिश्चित गराउन पार्टीभित्र संघर्ष थाल्छौं,' उनले भनिन् । सक्रिय सदस्यतामा पनि महिलाको सहभागिता १७ प्रतिशत नै देखिएको छ । सभासद उमा रेग्मीले पार्टी केन्द्रीय कार्यसमितिमा विधानले समावेशीकरण गरे पनि समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुन नसकेको भन्दै त्यसविरुद्ध संघर्ष गर्न आफूले उम्मेदवारी घोषणा गरेको बताइन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks