पोखरा-, भाद्र २ - पोखरा मालपोत कार्यालयमा आइतबार मध्यरातमा भएको करोडौंको चलखेलमा अनियमितता आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार छानबिन सुरु गरेको छ । अख्तियारले कारोबारका सम्पूर्ण फाइलहरू नियन्त्रणमा लिएर छानबिन थालेको हो ।
आयोगले कास्की जिल्ला प्रशासनलाई पत्र लेखी छानबिनका लागि निर्देशन दिएको थियो । आयोगको पत्र फ्याक्समार्फत आइपुग्नुअघि नै प्रशासन कार्यालयले कानुन अधिकृतमार्फत मालपोतका सम्पूर्ण फाइल नियन्त्रणमा लिएको थियो ।
काठमाडौंस्थित नेपाल बंगलादेश बैंक बिजुली बजार, नेपाल बैंक लिमिटेड धर्मपथ र कर्मचारी सञ्चयकोष पुल्चोकको धितो रहेको २० कित्ता घरजग्गा किनबेच र राजस्वसमेत गरी २३ करोड १५ लाख ६० हजार रुपैयाँको कारोबार आइतबार राति पौने बाह्र बजेसम्म बसेर गरिएको थियो ।
प्रशासनले सम्पूर्ण जग्गाहरू अहिलेकै अवस्थामा रोक्का गरी राति कारोबारमा संलग्न कार्यालय प्रमुखसहित अन्य कर्मचारीलाई बयान लिन पनि थालेको
छ । ती जग्गाहरू नामसारी भएर थप कारोबार नहोस् भन्दै रोक्का गरिएको प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले बताए । प्रजिअ कोइरालाले सोमबारै सोधेको स्पष्टीकरणको जवाफ मालपोत प्रमुख मुकुन्दप्रसाद ढकालले मंगलबार दिएका छन् भने संलग्न अन्य १२ कर्मचारीलाई प्रशासन कार्यालयमै बोलाएर बयान लिन सुरु गरिएको छ । तीन जनालाई बयान लिइएको र अन्यको बुधबार लिइने कोइरालाले बताए ।
प्रशासन कार्यालयका अनुसार त्यस रात काम गर्नेमा अधिकृत ढकालका साथै मालपोत अधिकृत सालिकराम ढकाल, शाखा अधिकृत केशव सुवेदी, सुब्बाहरू कृष्णप्रसाद कोइराला, लालप्रसाद सुवेदी, लक्ष्मी पौडेल, खिमप्रसाद मरासिनी खरिदारहरू लोकनाथ सुवेदी, रामचन्द्र पौडेल, दीपक पौडेल, डिल्लीराज सुवेदी र डिल्लीप्रसाद शर्मा छन् ।
ढकालले स्पष्टीकरणमा अबरेसम्म काम गरेको स्वीकार गर्दै कुनै अनियमित र गलत काम नभएको दाबी गरेका
छन् । अख्तियारको निर्देशनअनुसार छानबिन गरी तीन दिनभित्र सम्पूर्ण कागजात आयोगको कार्यालय काठमाडौंमा पठाइने प्रजिअ कोइरालाले बताए । तीनवटा बैंकले यहाँको सिर्जनाचोकस्थित कौशिला आइरन एन्ड इन्डस्टि्रज प्रालिका लागि डिलबहादुर छेत्री, जगबहादुर गुरुङ, नेत्रकुमारी गुरुङ, संगीता गुरुङसेनीको पोखरा- ८, १० र १७ वडामा रहेका करिब १५ रोपनी घरजग्गाको दाखिला खारेज भएको
थियो । त्यसमध्ये १४ कित्ता जग्गा स्याङजा जिल्ला राङबाङका तनबहादुर थापा एक्लैले ११ करोड ७० लाख रुपैयाँमा र पाँच कित्ता जग्गा तिनै थापा र गोरखा जिल्ला गोरखकाली गाविसका हरिबाबु जोशीले संयुक्त रूपमा १ करोड ३५ लाख रुपैयाँमा सकारेका थिए ।
ती जग्गामध्ये सिर्जनाचोक रहेको मेट्रो सिटी हस्पिटलसहितको ६ कित्ता घरजग्गा तुरुन्तै मध्यरातमा हस्पिटलले कम्पनीको नाममा खरिद गरेको थियो । हस्पिटल रहेको तीनवटा घरसमेतको १ रोपनी ३ आना ३ दाम जग्गा ६ करोड ७५ लाख रुपैयाँमा सकारेर उत्तिबेलै ९ करोड रुपैयाँमा बिक्री गरिएको मालपोतको अभिलेखमा उल्लेख छ ।
यसैबीच हिमचुली विकास बैंकले धितोबन्धक पास गरी अस्पतालको स्थिर पुँजी खरिद गर्ने परियोजनामा हस्पिटलको स्वप्रयोजनका लागि ५ करोड रुपैयाँ 'टर्म लोन' -ऋण) प्रदान गर्ने काम पनि राति तुरुन्तै भएको थियो ।
मेट्रो सिटी हस्पिटलले बुधबार पत्रकार सम्मेलन गरी उक्त जग्गा किनबेचमा आफ्नो तर्फबाट कुनै अनियमितता नभएको प्रस्ट पारको छ । लिलाम सकारेर जग्गा कारोबार गर्ने समूहलाई पहिल्यै रकम दिइसकेको र त्यसदिन जग्गा पास नभए आफ्नो करोडौं रुपैयाँ डुब्ने खतरा रहेकाले मालपोत कार्यालयलाई ढिलासम्म काम गर्न अनुरोध गरिएको हस्पिटलका अध्यक्ष भरत खत्रीले बताए । 'लिलाम सकार्न बुझाउनुपर्ने रकम थापाको समूहलाई दिइसकिएको थियो, त्यस दिन पास नभए उक्त रकम जोखिममा पर्नुका साथै अस्पताल भवन अन्यत्र जाने जोखिम भएकाले डाक्टरहरूले मालपोतलाई काम गर्न अनुरोध गरेका हुन्,' खत्रीले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks