Loving nepal news

Tuesday, August 17, 2010

सडक बने पनि पुल छैनन्

विकास थापा

काठमाडौ, भाद्र २ - सडक विभागले प्रभावशाली नेता र मन्त्रीका जिल्लामा पर्याप्त पुल बनाए पनि रणनीतिक सडक सञ्जालमा पर्ने राजमार्ग र सहायक राजमार्गका ५० भन्दा बढी ठाउँमा नहुँदा वर्षा याममा यातायात अवरुद्ध हुँदै आएको छ ।

'सडकले जिल्ला सदरमुकाम जोडिएको' भने पनि पुल अभावले वर्षायाममा सार्वजनिक आवागमन अवरुद्ध हुने गरेको छ । राजमार्ग निर्माण गर्दा पक्की पुलको सट्टा अस्थायी प्रकृतिका संरचना बनाइएकाले वर्षायाममा यातायात ठप्प हुँदै आएको हो ।

सडक विभाग स्रोतअनुसार रणनीतिक सडक सञ्जालअन्तर्गत पर्ने राजमार्ग र सहायक राजमार्गका ५० भन्दा बढी स्थानमा पुल बनाउनु जरुरी

छ । 'राजमार्गमा भन्दा ग्रामीण सडकमा पर्ने पुलमा ध्यान गएकाले यो स्थिति आएको हो,' स्रोतले भन्यो । सडक सञ्जालले सदरमुकामलाई जोडे पनि यातायात सञ्चालन नभएको उदाहरण साँफे-मार्तडी सडक हो । यो राजमार्ग अन्तर्गत ७ ठाउँमा पुल छैन । वर्षायाममा त्यस क्षेत्रका बासिन्दा हिँडेर आउजाउ गर्न बाध्य छन् । 'सडक बन्यो, पुल छैन,' स्रोतले भन्यो, 'सडकको के काम ?'

सरकारले तयार पारेको २० वर्षे राष्ट्रिय यातायात नीति र सडक विभागको मापदण्डअनुसार पहिला राजमार्ग र त्यसपछि सहायक राजमार्गहरू दुरुस्त पार्नुपर्छ । नीतिविपरीत नेता तथा मन्त्रीहरूको दबाबका कारण राजमार्गमा बन्नुपर्ने पुलहरू ग्रामीण क्षेत्रमा मोडिएको भौतिक योजना तथा निर्माण मन्त्रालयका एक अधिकारीले स्वीकार गरे ।

७ जिल्लालाई जोड्ने कैलालीको अत्तरियादेखि केही माथि पर्ने गोदावरी पुल अत्यन्त जीर्ण भएकाले कैयौंपटक दुर्घटना भइसकेको छ । गत चैतमा उक्त पुलमा ट्रक दुर्घटना हुँदा यातायात अवरुद्ध भएको थियो । 'यस्तो जीर्ण पुलको कुरा लिएर कोही आउँदैन,' ती अधिकारीले भने ।

यो पुल निकै जीर्ण भएकाले यसबाट डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी र अछाम जाने सबै सडक अत्यन्त जोखिममा परेका छन् । 'यो पुल भत्केमा सात जिल्लामा आवगमन बन्द हुन्छ,' उनले भने ।

कालिकोट र जुम्ला जोड्ने कर्णाली राजमार्ग यस्तै पक्की पुल नभएर केही सातादेखि बन्द छ । यो राजमार्गमा चार ठाउँमा पक्की पुल बनाउन आवश्यक रहेको विभागले जनाएको छ । ट्रयाक मात्र खोलिएको कर्णाली राजमार्ग वर्षायामका तीन महिना खोला तर्न नसक्दा बन्द हुने गर्छ । सुर्खेत-जुम्ला सडकमा आवश्यक पुल निर्माणका लागि गएको फाइल भौतिक योजना तथा निर्माण मन्त्रालयले फिर्ता गरिदिएको थियो ।

सरकारले वर्षौं लगाएर साँफे-मार्तडी सडक बनाए पनि सात ठाउँमा आवश्यक पुल बनेको छैन । यसले गर्दा 'सडक छोएका जिल्ला सदरमुकाम' यातायात सेवाबाट बञ्चित छन् । ५७ किलोमिटरको यो सहायक राजमार्गमा चाहिने ११ पुलमध्ये एउटा मात्र बनेको छ । तीनवटा निर्माणाधीन छन् । आयोजना प्रमुख भरतकाजी देउजाका अनुसार अरू पुलको डिजाइन भएकै छैन ।

पूर्व-पश्चिम राजगमार्गको वैकल्पिक बाटोका रूपमा निर्मित धरान-चतरा- गाईघाट सडक खण्ड पनि वर्षौं देखि यस्तै पुलको अभाव झेल्दै आएको छ ।

तर अर्कोतर्फ मन्त्री तथा प्रभावशाली नेताको दबाबमा सडक विभागले गोरुगाडा हिँड्ने ठाउँमा समेत पुल बनाएको छ । भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदरले आफ्नो निर्वाचन क्षेत्र सुनसरी र मोरङमा सबैभन्दा बढी पुल बनाएका हुन् । विभाग स्रोतका अनुसार उनको निर्वाचन क्षेत्रमा गत वर्ष २ अर्ब रुपैयाँ बराबरका पुलका क्रमागत योजना परेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks