काठमाडौ, श्रावण ३० २०६७ ०९:०२ - अविश्वसनीय रूपमा बंगलादेशसँग पराजय बेहोर्दै नेपालले बैंग्लोरमा भएको मध्यएसियाली यु-१८ बास्केटबल छनोट निराशाजनक रूपमा शनिबार टुंग्याएको छ । छनोटका तीनै खेलमा नेपालले पराजय बेहोर्यो ।
कान्तिरावा इन्डोर स्टेडियममा नेपाल ६२-३३ ले चुक्यो । यसअघि सुरुआती दुई खेलमा भारत र श्रीलंकासँग हारेपछि नै नेपालको फिबा एसिया यु-१८ च्याम्पियनसिप खेल्ने सम्भावना समाप्त भइसकेको थियो ।
औपचारिकतामा सीमित बंगलादेशसँगको खेल जितेर बैंग्लोर यात्रालाई सन्तोषजनक बनाउने नेपाललाई राम्रो अवसर थियो । तर सान्त्वना जित हासिल भएन । 'टिमवर्क राम्रो रहेन,' नेपाली टिमका सहायक प्रशिक्षक विकास राईले भने, 'यसअघिका खेलमा गरेको उत्कृष्ट प्रदर्शन दोहोर्याउन सकेनन् । बंगलादेशी खेलाडीको अग्लो कद हाम्रा लागि बाधक बन्यो । सुरुका दुई खेलमा बंगलादेशी टिमको तुलनामा नेपालको प्रदर्शन राम्रो रहेको थियो ।'
पहिलो खेलमा भारतसँग ८०-५० ले हारेको नेपाल तेस्रो क्वाटरसम्म लिएको ५ स्कोरको अग्रता जोगाउन नसक्दा श्रीलंकासँग ६७-५४ ले घुँडा टेक्न पुगेको थियो । बंगलादेशविरुद्ध श्रीलंकाले ८०-५१ र भारतले ९१-४४ को जित निकालेका थिए ।
नेपालले कुनै पनि क्वाटरमा बंगलादेशलाई पछि पार्न सकेन । पहिलो क्वाटरमा १९-९ को फराकिलो अग्रता लिएपछि बंगलादेश कहिल्यै पछाडि र्फकनुपरेन । कम स्कोर भएको दोस्रो क्वाटरमा पनि नेपाल ६-११ ले पछि पर्यो । तेस्रोमा नेपालले फेरि ६ स्कोर मात्र जोड्न सक्यो भने बंगलादेशले १८ स्कोर गर्यो । अन्तिम दस मिनेटको खेल भने संघर्षपूर्ण रह्यो । त्यसमा बंगलादेश १४-१२ ले अगाडि रह्यो ।
पहिलोपल्ट १८ वर्षमुनिको बास्केटबल छनोटमा सहभागी नेपालले बंगलादेशविरुद्ध गरेको स्कोर बैंग्लोर यात्राकै सर्वाधिक खराब प्रदर्शन हो । नेपाली खेलाडी रवि गिरीले ८, विक्रम डंगोलले
७ र रोहित लामाले ६ स्कोर योगदान गरे ।
अन्तिम खेलमा श्रीलंकाको चुनौती समाप्त पार्दै भारत मध्यएसियाली छनोटको विजेताका रूपमा २१ औं फिबा एसिया यु-१८ बास्केटबल च्याम्पियनसिपमा छनोट भएको छ । घरमा भएको छनोटमा उसले तीनै खेल जित्यो । सेप्टेम्बर २२ देखि अक्टोबर १ सम्म यमनमा हुने प्रतियोगितामा शीर्ष तीनमा रहने देशले सन् २०११ मा लात्भियामा हुने वल्र्ड यु-१९ च्याम्पियनसिपमा एसियाली चुनौती पेस गर्नेछन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks