Loving nepal news

Friday, August 27, 2010

गाईको रजाइँ * सवारी चापले व्यस्त हुने सडकमा गाई-गोरुले सवारी आवागमनमा समस्या पारेका छन्

जितेन्द्र साह

काठमाडौ, भाद्र १२ - नयाँबानेश्वर चोकको मुख्य मार्ग पेटीमा शुक्रबार पौने १२ बजे छ चौपाया सुस्ताइरहेका भेटिए । एउटा बाच्छो बीच सडकमा निदाइरहेको थियो । गोठाला कोही थिएनन् र तिनलाई हटाउनेतिर कसैले चासो देखाएको पनि थिएन । दृश्य हेरिरहेका हिस्ट इन्जिनियरिङ कलेजका सुरक्षा गार्ड लीलाबहादुर पाखि्रनले भने, 'कसको हो, थाहा छैन ? खाली ठाउँमा गएर चर्छ, फुटपाथ र बीच बाटोमा सुत्छ । धपायो फेरि आइहाल्छ ।'

सवारी चापले व्यस्त हुने थापाथली सडकको फुटपाथमा दुई गोरु र एक दुहुनो गाई दैनिक उभिएका भेटिन्छन् । पैदल यात्रु तिनको आक्रमणको त्रासमा हुन्छन् । चौपायाधनी कहिल्यै फेला नपर्ने स्थानीय व्यवसायी बताउँछन् ।

चक्रपथको व्यस्त मानिने बल्खुको विष्णुमती पुल किनारमा शुक्रबार मध्यान्ह ११ वटा चौपाया उग्राइरहेका थिए । उक्त स्थलमा चौबीसै घन्टा भ्यानसहित ट्राफिक प्रहरी ड्युटीमा खटिएका हुन्छन् । 'धेरै पटक महानगरपालिकाले चौपाया उठाएर लगिसक्यो, फेरि आइहाल्छन्, के गर्ने ?,' उक्त मार्गका खटिएका ट्राफिक प्रहरीहरूले भने, 'कहाँबाट आउँछन् ? हामी पनि हैरान भइसक्यौं, कहिलेकाहीं त खोला किनारमा चरिरहेका सयांै चौपाया एकै पटक पुलमा आइपुग्छन् ।'

शुक्रबार चक्रपथको एक फन्को मार्दा बबरमहलमा दुई, त्रिपुरेश्वरमा दुई, कोटेश्वर चोकमा ४ र सात दोबाटोमा पाँच छाडा चौपाय हिंडिरहेका भेटिए । जीर्ण सडक र सवारी चापले अस्तव्यस्त रहने राजधानीलाई बाटामा खुला छाडिएका चौपायाले थप भद्रगोल बनाएका छन् । तिनका बारे कसैले चासो नदिंदा सवारी चालक, यात्रु र ट्राफिकलाई हैरानी छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी विनोद सिंहका अनुसार यसबाट दिउँसो ठूला सवारीको आवागमनमा र राति टाढाबाट नदेखिने हुनाले मोटरसाइकल र स्कुटी चालकलाई अप्ठ्यारो पर्छ । महानगरपालिकालाई खबर गरेर चौपाया उठाउन लगाउने गरेको उनले बताए । उनले भने, 'अरूलाई सभ्यता सिकाउने सहरवासीका चौपायाले सडकमा समस्या सिर्जना गरेका छन् । ट्राफिकले के गर्ने पशु धपाउने कि सवारी मिलाउने ?'

ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष भएको कुल २ हजार ७ सय ६५ दुर्घटनामा दुई चौपाया मारिएका थिए । यो वर्षको असारसम्ममा भएका ४ हजार १ सय ४ सवारी दुर्घटनामा ६ चौपायाको मृत्यु भएको थियो भने ४ घाइते भएका थिए ।

काठमाडौं महानगरपालिकाको कार्यान्वयन महाशाखाका अनुसार गत आर्थिक वर्षमा छाडा २ सय ८७ चौपायालाई सडकबाट उठाइएको थियो । भुस्याहा कुकर र छाडा चौपायाबाट बर्सेनि १५ प्रतिशत दुर्घटना हुने गरेको छ ।

स्वायत्त शासन ऐन-२०५५ मा छाडा पशुलाई पक्रेर लिलामी गर्ने व्यवस्था छ । 'लिलाम नहुने बूढा गाई, गोरु र साँढेलाई धादिङको खुला जंगलमा लगेर छाड्छौं,' महाशाखा प्रमुख धनपति सापकोटाले भने । महाशाखाले गत साउनमा मात्र सडकबाट २१ चौपाया उठाएको थियो । बिरामी र दुर्घटनाका कारण सडकमै पशु मर्ने गरेको महाशाखाले जनाएको छ ।

महाशाखाको अध्ययन अनुसार सहर वरिपरिको गाउँमा बाली खाने हुनाले पशु आहारा किन्ने कञ्जुस्याइँमा पशुपालकहरूले टाढाबाट निगरानी राख्दै गाई छाड्ने गरेका छन् । सापकोटाका अनुसार चौपाया जिम्मा लगाउन पशुअधिकारसम्बन्धी संघसंस्थाको खोजी गर्दा पनि कोही आएनन् । महाशाखाका अनुसार आर्थिक वर्ष २०६३/६४ मा ४ सय ९२, ०६४/६५ मा ३ सय ८७ र यो आर्थिक वर्षमा २ सय ८२ मृत पशु सडकमा फेला परेका थिए । सूचना पाएलगतै सडकमा मरेका पशुलाई उठाएर सार्वजनिक जग्गामा खाल्डो खनेर पुर्ने गरिएको छ । महाशाखाले जानकारी पाएको आधा घन्टामा त्यस्ता पशुको शव उठाउने व्यवस्था मिलाएको सापकोटाले बताए । महाशाखाका अनुसार तुलनात्मकरूपमा बर्सेनि सडकमा छाडा छाडिने पशुको संख्या घट्दै गएको र पशुले गर्दा हुने सवारी दुर्घटनामा एक तिहाईले कमी आएको देखिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks