काठमाडौं, श्रावण १८ - नेपाली सेनाले भर्ना खोलेको एक दिन नबित्दै माओवादी सेनाले पनि मंगलबार भर्ना खोलेको छ । जनमुक्ति सेनाका प्रवक्ता चन्द्रप्रकाश खनालले विज्ञप्ती जारी गर्दै भर्ना खोलेको जनाएका छन् ।
माओवादी सेनाले १८ वर्ष उमेर पुगेका स्वस्थ, सक्षम, साक्षर शैक्षिक योग्यता भएका र जुझारु राष्ट्रिय भावनाले ओतप्रोत भएका नेपाली नागरिकबाट दरखास्त आहृवान गरेको छ । माओवादी सेनाले नेपाली सेनाले आहृवान गरेको भर्ना फिर्ता नलिएसम्म पदपूर्तिका लागि दरखास्त लिने जनाएको छ ।
'नेपाली सेनालेे आवश्यक्ताको आधारमा रिक्त दरबन्दी भनी भर्ना सम्बन्धि विज्ञापन खोलेको छ,' विज्ञप्तीमा भनिएको छ, 'त्यसैले जनमुक्ति सेना भित्र पनि विविध कारणवश दरबन्दी खाली हुन गएकोले नेपाली सेनाले भर्ना प्रकृया फिर्ता नलिएमा स्वतः आवश्यक्ताको आधारमा जनमुक्ति सेनाले पनि उक्त खाली दरबन्दीको पदपूर्ति गर्न पहिले स्थगित गरिएको भर्ना प्रकृयालाई अगाडी बढाउन आवश्यक ठानेका छौं ।'
यसअघि पनि नेपाली सेनाले भर्ना आहृवान गरेपछि २०६५ फागुन १९ गते माओवादी सेनाले पनि भर्ना आव्हान गरेको थियो । त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । २०६५ फागुन २५ गते सर्वोच्चले भर्ना रोक्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि माओवादी सेनाले २०६५ फागुन २७ गते भर्ना रोकेको थियो ।
माओवादी सेनामा भर्नाका लागि यस्ता छन् योग्यता
१) १८ वर्ष उमेर पुगेका स्वस्थ,सक्षम,नेपाली नागरीक
२) शैक्षिक योग्यता साक्षर
३) जुझारु राष्ट्रिय भावनाले ओतप्रोत भएको
थप जानकारीको लागी नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, पाँच प्रति पासपोर्ट साइजको फोटोसहित सातवटै डिभिजनको डिभिजन हेडक्वार्टरमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks