दोलखा, भाद्र १३ - नर्वेको लगानीमा निर्माण हुन लागेको तामाकोसी- ३ जलविद्युत् आयोजनाले सात बर्षभित्र ८ सय ८० मेगावाट विद्युत् उत्पादन गरिसक्ने घोषणा गरेको छ । कामको केही चरण पुरा गरिसकेको एसएन पावरले सन् २०१७ को सुरुमै आयोजना सम्पन्न गरी विद्युत उत्पादन गरिसक्ने योजना बनाएको छ ।
चरम ऊर्जा संकट व्यहोरिरहेको मुलुकमा तामाकोसी नदीबाट मात्र सातबर्षभित्र दुई ठूला परियोजनाले १३ सय ३६ मेगावाट विद्युत् उत्पादन गर्ने छ । अन्यथा नभए अबको सातबर्षभित्र तामाकोसी- ३ परियोजनाबाट ८ सय ८० मेगावाट र माथिल्लो तामाकोसीबाट ४ सय ५६ मेगावाट बिजुली उत्पादन गर्ने प्रतिबद्धता दुई कम्पनीहरुले जनाइसकेको छ । आयोजनाबारे जानकारी गराउन चरिकोटमा आयोजित कार्यक्रममा एसएन पावरका भाइस प्रेसिडेन्ट तथा नेपाल कन्ट्री डाइरेक्टर डा. सन्दीप शाहले भने, 'परिस्थित बाधक नबने समय भित्रै विद्युत् उत्पादन हुनेछ ।'
नर्वेको लगानीमा बन्ने तामाकोसी- ३ र स्वदेशी लगानीमा बन्ने माथिल्लो तामाकोसी परियोजना तोकिएको समयमै सम्पन्न भए कम्तीमा पनि बषर्ायाममा लोडसेडिङ हुने छैन । अहिले वषर्ायायमा समेत दैनिक दुई घण्टा लोडेडिङको मार मुलुकवासीलाई छ । माथिल्लो तामाकोसीले सन् २०१५ भित्र र तामाकोसी- ३ ले त्यसको दुईबर्षपछि विद्युत् उत्पादन गर्ने घोषणा गरेकाले त्यो बेलामा हिऊँदका केही महिनाबाहेक मुलुक लोडसेडिङ मुक्त रहने छ । नेपाल विद्युत् प्राधिकरणको हालै प्रकाशित बाषिर्क प्रतिवेदन (सन् २००९/१०) अनुसार सन् २०१७/१८ मा विद्युतको उच्च माग करिब १८ सय मेगावाट पुग्ने अनुमान गरेको छ । हाल देशको विद्युतको कूल जडित क्षमता केवल ६ सय ९८ मेगावाट रहेको छ ।
एसएन पावरले सन् २०१२ देखि निर्माण कार्य सुरु हुने तामाकोसी- ३ बाट चार चरणमा त्यति विजुली उत्पादन गरिसक्नेछ । पहिलो चरणमा सन् २०१६ भित्र २ सय २० मेगावाट उत्पादन गरिसक्ने उसको योजनामा छ । 'त्यसपछि अर्को एक बर्ष भित्र पुरै विजुली उत्पादन भैसक्ने छ,' डा. शाहले बताए । दोलखाको नाम्दु वुस्तीमा ९६ मिटर बाँध उठाएर साढे किलोमिटर सुरुङमार्फत पानी पठाई मालु वा शहरेमध्ये कुनै एक स्थानमा विद्युतगृह बनाइने योजना छ । सिंगटीदेखि वुस्तीसम्म करिब १५ दशमलव ७५ किलोमिटर जलाशय रहने परियोजनाबाट हिउँदमा कम्तीमा दुई सय ५० मेगावाट विजुली उत्पादन हुने अनुमान छ । आयोजनाको विस्तृत इञ्जिनियरिङ्ग डिजाइन लगायत नेपाल सरकारसंग सम्झौता र वित्तिय व्यवस्थापन समयमा नै हुनसके परियोजना ठिक समयमै सम्पन्न भई मुलुकलाई उर्जा संकटबाट जोगाउन मद्दत मिल्ने आयोजनाको भनाइ रहेको छ । आयोजनाले सन् २०१२ बाट मुख्य निर्माणको काम थाल्ने कार्यतालिका बनाएको छ ।
झण्डै २ हजार देखि २५ सय मेगावाटसम्म विद्युत् उत्पादनको लाइसेन्स जारी भैसकेको दोलखामा दुई ठूला कम्पनीले जलविद्युत आयोजना निर्माणको कामलाई तिब्रता दिएको छ । माथिल्लो तामाकोसीका मुख्य सिभिल ठेकेदारले केही हप्ताभित्रै मुख्य सिभिल संरचनाहरुको निर्माण कार्य शुरु गर्ने जनाएको छ । तामाकोसी- ३ ले भने दुई बर्षमा लाइसेन्स स्वीकृति, विद्युत् खरिद सम्झौता, ढल्केबरसम्म चारसय केभी प्रशारण लाइनको टुङ्गो लगाइसक्ने जानकारी दिएको छ । जसका लागि दोलखाको एक नगरसहित १९ र रामेछापको एक गाविसलाई प्रभावित क्षेत्र मानेर काम थालेको छ । कामलाई सहज बनाउन एसएन पावरले जिल्ला र गाउँ तहमा सर्वपक्षीय छलफल सुरु गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks