कान्तिपुर संवाददाता
काठमाडौ, श्रावण ३० २०६७ ०८:०४ - एमालेले भदौ २ गते हुने पाँचौं चरणको प्रधानमन्त्री निर्वाचन सार्ने प्रस्ताव राखेको छ । आगामी निर्वाचनमा पनि माओवादी र कांग्रेस उम्मेदवारमध्ये कसैले बहुमत ल्याउन नसक्ने भन्दै उसले सहमतिका लागि मतदान सार्ने प्रस्ताव राखेको हो । तोकिएको निर्वाचन सार्न संसद्को कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्नुपर्ने हुन्छ ।
पार्टी केन्द्रीय कार्यालयमा शनिबार साना ११ दलको बैठकमा एमालेले सहमतिका लागि प्रधानमन्त्री निर्वाचन सार्नुपर्ने प्रस्ताव गरेको थियो । बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले सहमतिका लागि प्रधानमन्त्री निर्वाचन सार्ने प्रस्ताव गरेको जानकारी दिए ।
बैठकमा सहभागी राप्रपा अध्यक्ष पशुपतिशमशेर जबराले पनि प्रधानमन्त्री निर्वाचन सारेर भए पनि सहमति खोज्ने प्रयास भएको बताए । 'सहमतिका लागि २ गतेको निर्वाचन सानुपर्ने विषयमा पनि छलफल भयो,' उनले संवाददातासँग भने ।
बैठकले राष्ट्रिय सहमतिका लागि उम्मेदवारी फिर्ता लिने प्रस्तावबारे औपचारिक निर्णय गर्न माओवादीलाई आग्रह गरेको छ । कांग्रेस सहमत भए राजनीतिक गतिरोध तोड्न उम्मेदवारी फिर्ता लिन आफू तयार रहेको माओवादीले बिहीबार जनाएको थियो ।
खनालले राष्ट्रिय सहमतिका लागि प्रमुख दलहरूबीच छलफल गर्ने बताए । 'राष्ट्रिय सहमतिका लागि सबै दलसँग छलफल गर्ने निर्णय भएको छ,' उनले भने, 'अब पनि बहुमतीय सरकार बनाउनुको अर्थ छैन ।'
भदौ २ को निर्वाचनपछि एमालेले कांग्रेसलाई समर्थन गर्छ ? भन्ने प्रश्नमा खनालले ठाडै अस्वीकार
गरे । 'एमालेले समर्थन गर्ला भन्ने अर्को निर्णय पर्खाइमा हो भने त्यसको कुनै अर्थ छैन,' उनले भने, 'राष्ट्रले राष्ट्रिय सहमति खोजेको छ, कसैको बहुमतको सरकार होइन ।'
सर्वदलीय बैठकले प्रधानमन्त्री निर्वाचनका क्रममा दलहरूबीच 'असंसदीय र गैरराजनीतिक आचरण' देखिएको भन्दै खेद व्यक्त गरेको छ । बैठकमा एमाले, मधेसी फोरम लोकतान्त्रिक, माले, सद््भावना, राप्रपा, संयुक्त, राजपा, दलित जनजाति पार्टी, नेपाल परिवार दल, नेपा: राष्ट्रिय पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरू उपस्थित थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks