Loving nepal news

Monday, August 2, 2010

तेस्रो चुनाव पनि व्यर्थै

राजेन्द्र फुयाल/कुलचन्द्र न्यौपाने/अब्दुल्लाह मियाँ

काठमाडौ, श्रावण १८ - प्रधानमन्त्री चयनका लागि सोमबार संसदमा तेस्रो पटक भएको मतदानबाट पनि कोही चुनिन सकेनन् ।प्रधानमन्त्री पदका प्रत्यासी माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सदनमा तेस्रो पटक पराजय बेहोरेका हुन् । चौथो निर्वाचन शुक्रबार हुने भएको छ ।

सोमबारको चुनावमा एमाले र मधेसी मोर्चाका चार घटकमध्ये तीन दल तटस्थ बसे । मधेसी जनअधिकार फोरमका सभासद माओवादी पक्ष र तटस्थ कित्तामा विभाजित भए । कांग्रेसले संसद्मा 'माओवादीले अमर्यादित खेल सुरु गरेको' आरोप लगाएको छ ।

आफ्नो अवधारणामा सहमति नआएकाले तटस्थ बस्ने मोर्चाको निर्णयविपरीत फोरमका ११ सभासदले दाहालको पक्षमा मतदान गरेका हुन् । फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ता मतदानमा तटस्थ बसे भने अध्यक्ष निकट मानिने रेणुकुमारी यादव र संसदीय दलका मुख्य सचेतक अभिषेकप्रताप साहसहितका सभासदले माओवादीलाई सघाए ।

अघिल्लो निर्वाचनमा भन्दा दाहालले थप १८ सभासदको समर्थन जुटाएका छन् । उनलाई प्रधानमन्त्री हुनका लागि ४३ मत कम भएको हो । उनलाई फोरमका ११, नेमकिपाका ५ र पूर्ववत समर्थन गरिरहेका साना दलहरूका ६ सभासदले उनको पक्षमा मतदान गरेका हुन् । मतदानमा सहभागी ५८१ सभासदमध्ये दाहालको पक्षमा २५९, विपक्षमा ११४ र तटस्थमा २०८ मत परेको थियो ।

पौडेलले आफ्नो पक्षमा रहेको १ सय २४ मत मात्र पाए । उनको प्रस्तावमा मतदान गर्ने ५५६ सभासदमध्ये २४६ ले विपक्षमा मत दिए १८६ सभासद तटस्थ बसे । राप्रपा (८) र राजपा -३) ले यो पल्ट पनि साथ दिए ।

कांग्रेसले आफ्नो पार्टी महाधिवेशनको पूर्वनिर्धारित कार्यक्रमलाई प्रभाव नपर्ने गरी भदौ २ गते मात्र अर्को बैठक बस्ने प्रस्ताव गरेको थियो भने माओवादीले बिहीबारै अर्को बैठक गर्ने अडान राखेको थियो । कांग्रेसले यसअघि साउन १७ को अधिवेशनसमेत सारेर २७ गते पुर्‍याएकाले २ गते तोक्नुपर्ने अडान राखेको थियो । एमालेले भने अर्को निर्वाचन मिति सहमतिमा जहिले गरे पनि हुने लचिलो धारणा राखेको अध्यक्ष झलनाथ खनालले बताए ।

निर्वाचनपछि सभामुख सुवासचन्द्र नेम्वाङले आधा घन्टाका लागि सदन स्थगित गरी कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए । विवादैकै बीच समितिले दिएको सुझावअनुसार राति अबेर सदनको बैठक गरी सभामुख नेम्वाङले साउन २१ शुक्रबार अपराह्न ३ बजे प्रधानमन्त्री पदका लागि चौथो निर्वाचन मिति घोषणा गरेका हुन् । सभामुखले निर्वाचन तिथिको घोषणा गर्दा सदनमा ज्यादै न्यून सभासद मात्र उपस्थित थिए । संसद् संविधानसभा नियमावलीमा कुनै एक उम्मेदवारको पक्षमा बहुमत प्राप्त नभएसम्म मतदान जारी रहन्छ । पराजयपछि माओवादी अध्यक्ष दाहालले भने सञ्चारकर्मीलाई प्रतिक्रिया दिन अस्वीकार गरे । गतिरोध अन्त्यको उपायबारे सोधिएको प्रश्नमा उनले यति मात्र भने, 'फेरि चुनाव हुन्छ ।'

कांग्रेस उम्मेदवार पौडेलले भने आइतबारको दृश्य र परिस्थितिको मूल्यांकन गर्दै मुलुकलाई अनिर्णयको बन्दीमा नराख्न एमालेलाई आग्रह गरेको बताए ।

एमाले अध्यक्ष झलनाथ खनालले भने पूर्ववत पार्टीको निर्णय राष्ट्रिय सहमति नजुट्दासम्म पुनर्विचार हुन नसक्ने बताए । 'सहमति नजुट्दासम्म हामी 'चट्टान' झैं उभिन्छौं,' खनालले भने, 'हामीले निर्णयको बन्दी बनाएका छैनौं । संविधान र शान्ति नचाहनेहरूले मुलुकलाई अर्कै बाटोतर्फ अघि बढाइरहेका छन् ।' गृहमन्त्री भीम रावलले यस्तो अनिर्णयको बन्दी बनाएर मुलुकलाई लामो समय राख्न नहुने बताउँदै एमालेको तटस्थ बस्ने निर्णयमा अब पुनर्विचार हुने बताए ।

राष्ट्रिय सहमतिको वकालत गरिरहेका प्रमुख दलहरूले आफ्नो पक्षमा बहुमत पुग्ने गरी सत्ता समीकरण बनाउन नसकेकाले संसद् अनिर्णयको बन्दी बनेको हो । प्रधानमन्त्री माधवकुमार नेपालले गत असार १६ गते राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि सुरु भएको कसरतले एक महिनासम्म निकास पाउन नसकेको हो ।

संयुक्त लोकतान्त्रिक मधेस मोर्चाले कुनै उम्मेदवारको पक्षमा मतदान गर्ने/ नगर्ने विषयमा दिनभरि गरेको छलफल तथा द्विपक्षीय र बहुपक्षीय बैठकका कारण अपराह्न ४ बजेका लागि बोलाइएको सोमबारको बैठक ८ बजे मात्र सुरु भएको थियो ।

मोर्चाले माओवादीसँग सोमबार बिहान भएको छलफलमा केही विषयमा थप स्पष्टता खोजेपछि माओवादीले पूरक प्रस्ताव पेस गरेको थियो । अध्यक्ष दाहालसहित उपाध्यक्षत्रय मोहन वैद्य, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले मोर्चाका अवधारणाबारे थप प्रस्ट्याएका थिए ।

सके मोर्चाका सबै घटक नभए त्यसभित्रबाट आफूलाई बहुमत पुर्‍याउन सकिने जति सभासदको समर्थन जुटाउने प्रयास माओवादीले दिनभरि जारी राखेको थियो । कांग्रेस नेताहरूले भने सत्तामा पुग्नका लागि माओवादीले 'अमर्यादित खेल' सुरु गरेको आरोप लगाएका छन् ।

कांग्रेस सहमहामन्त्री डा. रामशरण महतले 'सभासदका लागि दुई करोडको खेल भएको भनेर आफूहरूलाई सद्भावनाका नेताहरूले भनेको' बताउँदै संसदभत्र सांसद तानातान गरी फोहरी खेलमा माओवादी लागेको आरोप लगाए । 'पार्टीको एउटा निर्णय हुन्छ, अर्कैतर्फ मत हाल्न तानातान गरिन्छ । यो अमर्यादित र फोहरी खेल हो,' महतले भने, 'यसको अन्त्यका लागि पनि एमालेले आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्छ ।'

सदनमा दाहालको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनासाथ मधेसी जनअधिकार फोरमका सभासद र एमालेका नेताहरूबीच मुखामुख भएको थियो । माओवादी संसदीय दलका उपेनता नारायणकाजी श्रेष्ठ, सभासद वर्षमान पुन, पम्फा भुसाल फोरमका सभासदलाई आफ्नो पक्षमा मतदान गराउन भित्रै लागिपरेका थिए । पुन र भुसालले त 'यताबाट जाउँ भन्दै' फोरमका सभासदलाई बीचको बाटो देखाइरहेका थिए । श्रेष्ठ र पुनले आफ्नो पक्षमा मतदान गर्ने सभासदको लिस्ट लिइरहेका थिए । फोरमका सभासद यादवले त माओवादीको पक्षमा मतदानका लागि सभासदलाई तान्नसम्म भ्याएका थिए । त्यही तानातानमा एक महिला सभासद फुत्किएर तटस्थको लाइनमा पुगेकी थिइन् । एघार सभासदले बीचको बाटो प्रयोग गरी माओवादीको पक्षमा मतदान गरेका थिए ।

फोरमका सभासद तानातानको दृश्य हेरिरहेका कांग्रेस नेता पौडेल आफू बसेको ठाउँबाट उठेर एमाले अध्यक्ष झलनाथ खनालसामु पुगेर भलाकुसारी गरेका थिए । दाहालको पक्षमा मतदान गर्ने बेला प्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष दाहालसँगै उठेर सँगै हिँड्दा केहीबेर सभासदसमेत अन्योलमा परेका थिए । 'म यता' प्रधानमन्त्रीले हातको इसाराले दाहाललाई भनेपछि दाहालले 'यतै जाउँ' भन्दै बाटो देखाइरहेका थिए । त्यसो भन्दा हाँसो गुन्जिएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks