Loving nepal news

Tuesday, August 10, 2010

'माओवादी प्रस्ताव रणनीतिक'

कुलचन्द्र न्यौपाने

काठमाडौ, श्रावण २६ - कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्रीका प्रत्यासी रामचन्द्र पौडेलले एमाले केन्द्रीय कमिटी बैठक बस्नु पूर्वसन्ध्यामा माओेवादीले आफ्नो पार्टीसमक्ष उम्मेदवारी फिर्ता लिन राखेको भनिएको प्रस्ताव 'रणनीतिक' योजनाअन्तर्गत आएको दाबी गरेका छन् ।

वार्ता क्रममा आफूलाई सघाउन अपिल गरेको माओवादीले सञ्चारकर्मीसँग राष्ट्रिय सहमतिका लागि उम्मेदवारी फिर्ता लिन प्रस्ताव राख्दा कांग्रेसले नमानेको भनेर दिएको अभिव्यक्ति 'भ्रामक र रणनीतिक' रहेको बताएका हुन् । बुधबारदेखि बस्न लागेको एमाले बैठकलाई प्रभावित पार्न त्यस्तो अभिव्यक्ति दिएको उनको भनाइ थियो ।

'सडकमा सस्तो लोकपि्रयता फालेर आफूमात्रै सहमतिको पक्षधर बन्न खोजिएको हो । वास्तविक रूपमा माओवादीभित्र त्यस्तो धारणा छैन, यो देखावटी सहमतिको नारामात्रै हो,' मंगलबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा संवाददाताहरूसँग पौडेलले भने, 'राष्ट्रिय सहमति व्यक्तिमा होइन, मुद्दामा मात्रै सम्भव हुन्छ ।'

माओवादी र कांग्रेसबीच सोमबार वार्ता भएको थियो । वार्तापछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिको सरकारका लागि माओवादीले उम्मेदवार

फिर्ता गर्ने प्रस्ताव कांग्रेससँग राखेको बताएका थिए । सहमतिको स्पष्टमार्ग चित्र नभई प्रधानमन्त्रीको वर्तमान प्रक्रियाबाट बाहिर निस्कँदा मुलुक झनै अन्योल र खतराको बाटोमा पुग्ने पौडेलले बताए ।

'हामी एउटा प्रक्रियामा प्रवेश गरिसकेका छौं । यो प्रक्रियालाई पूर्णता नदिएर बाहिर निस्कँदा मुलुकमा शून्यता खडा हुन्छ । त्यसपछि के गर्ने भन्ने हामीसँग स्पष्ट खाका छैन,' पौडेलले भने, 'हामीले चाहेको अन्धकार होइन, निकास हो ।'

जेठ १४ गते भएको तीनबुँदे सहमतिअन्तर्गत संविधानसभाको म्याद थप गर्ने र प्रधानमन्त्रीले राजीनामा दिने दुई बुँदा कार्यान्वयनमा आइसकेको स्मरण गराउँदै पौडेलले शान्ति र संविधान निर्माणको एक नम्बरको बुँदालाई कार्यान्वयन गर्न माओवादीले तत्परता नदेखाएकै कारण सहमति हुन नसकेको बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks