Loving nepal news

Sunday, August 29, 2010

कोरियाली भाषा परीक्षामा ३६ हजार सहभागी

योगेश खतिवडा

काठमाडौ, भाद्र १४ - दक्षिण कोरियामा रोजगारीका लागि दोस्रो चरणमा सञ्चालित कोरियन भाषा परीक्षा सकिएको छ । शनिबार र आइतबार भएको भाषा परीक्षामा ३६ हजारले भाग लिएका छन् । इपिएस अन्तर्गत कोरियामा कामदार पठाउने १५ मुलुकमध्ये यसपाला नेपालबाट सबैभन्दा धेरै परीक्षार्थी सहभागी भएका छन् ।

यही परीक्षाका लागि काठमाडौं र ललितपुरका २८ वटा सरकारी तथा निजी विद्यालय एवं क्याम्पस आइतबार बन्द थिए । परीक्षाका लागि साउनमा भएको परीक्षामा ४२ हजार ५० जनाले फारम भरेका थिए । जसमा ४१ हजार ७ सय २० जना मात्र परीक्षा दिन योग्य भएर छनोटमा परेका थिए । भाषा परीक्षामा सामेल हुन नपाउनेको शुल्क फिर्ता गरिएको थियो । 'त्यसमा करिब ३६ हजार १ सय ८१ जना मात्र सहभागी छन्,' इपिएस नेपालका प्रमुख महेश आचार्यले भने, 'कतिपय व्यक्ति फाराम भरेर पनि आएनन् ।'

परीक्षा समयभन्दा केही ढिला आएका व्यक्ति पनि परीक्षामा सामेल हुन पाएनन् ।

आचार्यका अनुसार शनिबारको परीक्षामा १९ हजार २ सय ५० जना सहभागी भएका थिए भने आइतबार १६ हजार ९ सय ३१ जना सहभागी भए । तर फारम भरेकामध्ये शनिबार २१ हजार ९२ आइतबारको परीक्षामा २० हजार ६ सय २८ जना सहभागी हुनुपर्ने थियो । परीक्षार्थीको उत्तरपुस्तिका कोरियाबाट आएको ९१ सदस्यीय टोलीले लैजानेछ । 'कापी जाँच्ने काम कोरियामा हुन्छ,' आचार्यले भने, 'कोरियामै नतिजा तयार गरेर यहाँ पठाइन्छ ।' उनका अनुसार असोज १४ गते भाषा परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।

असारमा दोस्रो चरणमा कोरिया कामदार लैजान छनोटका लागि भाषा परीक्षाको फारम खुला गरिएको थियो । शनिबार २८ वटा परीक्षा केन्द्र र आइतबार २७ केन्द्रमा भाषा परीक्षा भएको थियो । परीक्षा दिउँसो २ बजेदेखि सवा ३ बजेसम्म सञ्चालन भएको थियो । जसमा ३० मिनेट सुनाइ र

४० मिनेट पढाइको परीक्षा लिइएको थियो ।

सहभागी भएको परीक्षार्थीले २ सय नम्बरको परीक्षामा कम्तीमा ८० अंक ल्याउनुपर्छ । ८० भन्दा बढी ल्याउनेबाट धेरै नम्बर हासिल गर्ने ४ हजार कोरिया जानका लागि छनोटमा पर्नेछन् । तर इपिएसले यो परिवर्तन हुन सक्ने जनाएको छ । यो भाषा परीक्षा उत्पादनमूलक क्षेत्रका लागि मात्र सञ्चालन गरिएको हो । १८ वर्ष पुगेका र ३९ वर्ष ननाघेका व्यक्ति परीक्षामा सहभागी हुन पाएका थिए ।

नतिजा इपिएको वेबसाइट डब्लुडब्लुडब्लु डट इपिएस नेपाल डट जिओभी डट एनपी,

एचआरडी कोरियाको वेबसाइट एचआरडी कोरिया डट ओआर डट केरा र इपिएस-केएलटीको होमपेज इपिएसकेएलटी डट एचआरडी कोरिया डट आराडटकेटामा हेर्न सकिने छ । त्यस्तै वैदेशिक रोजगार विभागको सूचनापाटीमा पनि नतिजा प्रकाशित गर्ने विभागले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks