धनकुटा, भाद्र १ - पुर्वाञ्चलका विभिन्न जिल्लामा स्वाइनफ्लु तथा सेन्डेमिना इन्फ्युएन्जा फैलिएपछि सावधानी अपनाई रहेको अवस्थामा पुन: यसका बिरामी थपिएपछि पछिल्लो एक महिनाको अवधिमा १७ जनामा स्वाइनफ्ल्यु भएको पुष्टि भएको छ । सुनसरीको इनरुवा नगरपालिका ६ को घोग्राहामा दुई व्यक्तिमा स्वाइनफ्लुका बिरामी भएको पुष्टि भएपछि यसको संख्या थप हुनेक्रम बढेको हो ।
घोग्राहामा अस्थायी टहरामा बस्दै आएका दुई व्यक्तिमा स्वाइन फ्लु पोजिटिभ फेला परेको पुर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । घोग्राहमा एउटै वस्तीमा स्वाइनफ्ल्युको लक्षण भएका विरामी देखिएपछि स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा सरुवा रोग महाशाखा अन्तरगत जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गरिएको निर्देशनालयका इपिडेमियोजिष्ट (महामारी विशेषज्ञ) रामकुमार महतोले जानकारी दिए । लक्षण देखिएका व्यक्तिको घाँटीबाट थ्रोड स्वाव नामको पदार्थ जाँच गरिएपछि स्वाइन फ्ल्यू भएनभएको प्रमाणित हुने महामारी विशेषज्ञ महतोले बताए ।
यसअघि सप्तरीको राजविराज कारागारका ७, विराटनगर कारागारका ६ कैदी , इलामको शान्तिपुरमा २ जनामा समेत यो रोग पुष्टि भइसकेको महतोले बताए । यसैगरी महामारीको रुपमा नरहे पनि क्रमश यस रोगले प्रभाव जमाउन सक्ने भन्दै क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सर्वसाधारणलाई सतर्क रहन सावधानी गराएको छ । भीडभाडमा अनिवार्य माक्स लगाउनु पर्ने, हात नमिलाउने, कम्तिमा एक मीटरको दुरीमा बस्नेलगायतका सचेतना अपनाए यो रोगबाट बच्न सकिने क्षेत्रीय स्वास्थ्य निर्देशक डा. भीम आचार्यले जानकारी दिए ।
प्रभाव फैलन सक्ने भएकोले जिल्लागत रुपमा स्थानीय प्रशासन, नागरिक समाज, सञ्चार संस्था लगायतलाई सहयोगका लागि अपिल गरिएको छ । सबै स्थानीय प्रशासनलाई सतर्क रहनसमेत आग्रह गरिएको निर्देशनालयले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks