सरोजराज अधिकारी/प्रतिमा बास्कोटा
काठमाडौ, भाद्र १५ - नेपाल प्रहरीको निरीक्षक (इन्सपेक्टर) पदमा जागिर लगाइदिने भन्दै रकम असुलिरहेका एमाले सभासद डोलबहादुर (डिबी) कार्की पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको विशेष टोलीले एक लाख रुपैंया घुस लिदै गर्दा कार्की र उनका सहयोगी 'स्वामी एक हजार आठ' ब्रहमानन्द उदासिनलाई भिमसेनगोलास्थित डेराबाट सोमबार साँझ सप्रमाण पक्राउ गरेको हो । इन्सपेक्टरका लागि पाँच लाख आवश्यक पर्ने भन्दै उनले एक लाख बैनाबापत लिएको पक्राउमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।
'जागिर लगाइदिने भन्दै घुस लिइरहेको प्रहरी सूचनाका आधारमा छापा मार्दा कार्की र उदासिनलाई एक लाख रुपैयाँ सहित पक्राउ गरिएको हो,' अख्तियारका प्रवक्ता इश्वरीप्रसाद पौडेलले इकान्तिपुरसंग भने, 'साँझ समातिएकाले बयान लिन भ्याइएको छैन, भोली बयान लिएपछि धेरैकुरा स्पष्ट हुनेछ ।'
पुख्र्यौली स्याङ्जा घर भइ हाल लमजुङ निवासी कार्की एमालेबाट समानुपातिकको कोटामा सभाषद् चुनिएका हुन् । उच्च प्रहरी स्रोतका अनुसार कार्कीले हालै खुलेको प्रहरी भर्नाका क्रममा जागिर लगाइदिने भन्दै एक दर्जन बढी सर्वसाधारणसंग रकम लिइसकेको उजुरी आएपछि उनीमाथि उच्च निगरानी राखिएको थियो ।
'एक दर्जन बढी उजुरी प्राप्त भएपछि टोली नै खटाएर उनीमाथि निगरानी बढाइएको थियो । सप्रमाण पक्राउ गर्नका लागि केही समय लागेको हो,' एक उच्चप्रहरी अधिकृतले भने ।
प्रहरी प्रधान कार्यालयले केहि समय अघि ८० प्रहरी निरीक्षकका लागि भर्ना आवहन गरेको थियो । जसमध्ये जनजाति ११, मधेसी १०, महिला र दलित ६/६ र पिछडिएको बर्ग -१ गरि ३५ जनाको अन्तिम नतिजा प्रकाशन भइसकेको छ ।
सभाषद् कार्की पूर्वगृहमन्त्री वामदेव गौतमका निकटतम मानिन्छन् । प्रधान कार्यालयका एक प्रहरी नायब महानिरीक्षकका अनुसार गौतम गृहमन्त्री रहेका बेला प्रहरी सरुवा बढुवामा कार्कीको हालिमुहाली निकै चल्थ्यो । गौतम अध्यक्ष रहेको अखिल नेपाल किसान संघका केन्द्रीय सदस्यसमेत हुन्, कार्की । सभाषद् कार्कीलाई हाल नक्सालस्थित अख्तियार परिसरमै रहेको प्रहरीको थुनुवा कक्षमा राखिएको छ ।
अख्तियारले कार्कीको पक्राउ सम्बन्धमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समेत जानकारी गराइसकेको छ । 'अख्तियारबाट फोनमार्फत सभाषद् कार्की पक्राउको जानकारी आएको थियो । साँझ पक्राउ गरिएकाले मौखिक जानकारी गराउनुपर्यो, भोली लिखित जानकारी गराउछौ भन्नुभयो,' सभाध्यक्ष नेम्वाङले भने । संसद् चलिरहेका बेला सभाषद्लाई पक्राउ गर्नुपर्दा सभाध्यक्षलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आफूलाई घटनासम्बन्धमा बिस्तृत जानकारी नभए पनि अनुचित क्रियाकलापमा संलग्न जो सुकैमाथि कानुन बमोजिम कडा कारवाही हुनुपर्ने बताए । 'गैरकानुनी र अनुचित काम गर्ने जोकोही माथि कारवाही हुनुपर्छ । कुनै ओहोदा धारण गरेको भरमा कसैले छुट पाउनु हुदैन,' ज्ञवालीले भने, 'घटनाबारे बिस्तृत जानकारी आएपछि र अभियोग प्रमाणित भए पार्टीले पनि आवश्यक कारवाही गर्छ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks