Loving nepal news

Monday, August 2, 2010

थप ६ ठाउँमा ६ लेनका सडक


बलराम बानियाँ

काठमाडौ, श्रावण १८ - सरकारले थप ६ महत्त्वपूर्ण ठाउँमा राजधानीको कोटेश्वरदेखि सूर्यविनायकमा जस्तै स्तरीय फराकिलो सडक बनाउने भएको छ । यसै वर्षदेखि ती महत्त्वपूर्ण सडकलाई छ लेनको बनाउने कार्य सुरु गर्न लागिएको जानकारी भौतिक योजना तथा निर्माण मन्त्रालयका अधिकारीले दिए ।

ती अधिकारीका अनुसार राजधानी जोड्ने सूर्यविनायकदेखि धुलिखेल र भारतसित व्यापारिक नाका जोडिएका पाँच प्रमुख सहरबाट पूर्व-पश्चिम महेन्द्र राजमार्गसित जोडिने लिंक सडकलाई एकसाथ छवटा गाडी आवतजावत गर्न सक्ने गरी फराकिलो बनाउन लागिएको हो । राजधानीसँग जोड्ने सूर्यविनायक देखि धुलिखेलसम्मको २ लेनको १८ किलोमिटर बाटो छ लेनको बनाइनेछ । जापानको सहयोगमा कोटेश्वरदेखि सूर्यविनायकसम्म ९ किलोमिटर लामो छ लेनको सडक बन्दैछ । सूर्यविनायकदेखि धुलिखेलसम्म सडक फराकिलो पारिएपछि राजधानी जोड्ने छ लेनको बाटो २७ किमि हुनेछ । सम्पन्न हुन लागेको बनेपा-बर्दिबास सडक, तातोपानीबाट चीनसितको बढ्दो व्यापार र पूर्वका उत्तरी जिल्लाबाट बढ्दो यातायात चापलाई थेग्न राजधानीबाट धुलिखेलसम्मको रोड फराकिलो बनाउन लागिएको हो ।

छ लेनको सडक विस्तार गर्न लागिएकामा वीरगन्ज भन्सारदेखि पथलैया, विराटनगर रानी भन्सारदेखि इटहरी, भैरहवा भन्सारदेखि बुटवल, नेपालगन्ज भन्सारदेखि कोहलपुर तथा बिर्तामोडदेखि भद्रपुर (मेची पुलसम्म) को सडकलाई विस्तार गरी ६ लेनको बनाइने जानकारी भौतिक योजनाका अधिकारीले दिए ।

वीरगन्ज-पथलैया २६, विराटनगर-इटहरी २५, भैरहवा-बुटवल २२, नेपालगन्जदेखि कोहलपुर २० र बिर्तामोड-भद्रपुर (मेची पुलसम्म) १५ किमि लिंक रोडलाई विस्तार गरी निर्माणाधीन कोटेश्वरदेखि सूर्यविनायकसम्मको जस्तै फराकिलो बनाइनेछ । वीरगन्ज, भैरहवा, विराटनगर र नेपालगन्ज भारतसहित तेस्रो मुलुकसित व्यापार हुने प्रमुख नाका हुन्, ती नाकासम्म पुग्ने सडक फराकिलो र स्तरीय बनाउन ६ लेनको बनाउन लागिएको हो ।

बिर्तामोडबाट भद्रपुर सडक फराकिलो बनाई निर्माणाधीन मेची पुल सम्पन्न भएपछि यो मार्ग नै भारत र बंगलादेशसितको नयाँ महत्त्वपूर्ण व्यापारिक नाका हुने स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार काँकडभित्ता नाकाबाट भन्दा मेची पुलबाट भारतको पानी ट्यांकी हुँदै भारत र बंगलादेशसित सामान आयात तथा निर्यात गर्न दूरी छोटो पर्नेछ । बिर्तामोड-भद्रपुर सडक छ लनेको र मेची पुल बनेपछि काँकडभित्ता नाका बिस्तारै असान्दर्भिक हुँदै जानेछ । वीरगन्ज-पथलैया सडक एसियाली विकास बैंकको 'रोड कनेक्टिभिटी सेक्टर प्रोजेक्ट' को सहयोगमा तथा बाँकी पाँच सडकलाई सरकारले आफ्नै स्रोतबाट विस्तार गर्नेछ । ती छवटा सडकलाई छ लेनको बनाउन ५ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान भौतिक योजनाको छ । अर्थ मन्त्रालयले भौतिक योजनालाई ती सडक विस्तार गर्न यस वर्ष १ अर्ब रुपैयाँ दिने सहमति जनाएको जानकारी स्रोतले दिएको छ । आवश्यक रकम थप गर्न अर्थ मन्त्रालय तयार छ भने भौतिक योजनासमेत ती सडकमा अरू आयोजनामा बचत हुने रकम शोधनान्तर गर्न तयार छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks