काठमाडौ, भाद्र १३ - माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य पक्ष एक-अर्काप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् । वैद्यले राजनीतिक प्रतिवेदनमा दाहाललाई 'मध्यपन्थी' र दाहालले वैद्यलाई 'जडसूत्रवादी' भनेपछि दुवै पक्षबीच चर्को आरोप प्रत्यारोप चलेको हो ।
वैद्य पक्षीय स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले शनिबार दाहालतर्फ संकेत गर्दै नेतृत्वका कारण समस्या उत्पन्न भएको बताएपछि दाहाल पक्षीय स्थायी समिति सदस्य वर्षमान पुनले त्यसको प्रतिवाद गरेका थिए । त्यसमा पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले थपेका थिए ।
'नेतृत्व सजिलै बन्ने विषय होइन,' गजुरेलको भनाइ थियो, 'विचार र नेतृत्वलाई अलग गराउने प्रयास भइरहेको छ ।' उनले विगतमा माओवादी नेतृत्वमाथि आक्रमण गर्ने रवीन्द्र श्रेष्ठको उदाहरण दिँदै हाल पनि नेतृत्वलाई दोष लगाउनेको त्यही हालत हुने चेतावनी दिएको स्रोतले जनायो । चन्दले नेतृत्वकै कारण पार्टीमा क्रान्तिकारी विचलन आउन लागेको उल्लेख गर्दै कार्यदिशा सही हुनुपर्ने बताए । उनले 'यही बाटोबाट क्रान्ति सम्पन्न हुन नसक्ने,' दाबी गरे । पुनले शान्ति र संविधानसभाको बाटो बन्द भए मुलुक स्वतः जनविद्रोहमा जाने चेतावनी दिए ।
बैठकमा स्थायी समिति सदस्य कृष्णबहादुर महराले जिम्मेवार तरिकाले प्रस्तुत हुन नेताहरूलाई आग्रह गरेका थिए । 'सबैतिर नेतृत्वलाई आक्रमण भइरहेको छ,' महराको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'पार्टीभित्र त्यस्तो हुनु राम्रो होइन ।' उनले अध्यक्ष दाहालको प्रतिवेदनलाई समर्थन गरेका थिए । 'शान्ति र संविधानसभा भंग हुने अवस्था आए जनविद्रोहमा जानुपर्ने बाध्यता हुन्छ,' उनको भनाइ थियो ।
त्यस्तै अर्का स्थायी समिति सदस्य देव गुरुङले तीनै पक्षका सकारात्मक विषय समेटेर जानुपर्ने धारणा राखेका थिए । उनले 'विदेशी लगानीका सञ्चारमाध्यमले नेताहरूलाई उचालेर पार्टी फुटाउने षड्यन्त्र,' गरेको आरोप लगाएका थिए । उनले नेतृत्व र विचारलाई अलग गर्न नसकिने भन्दै विचार सही भएमात्र नेतृत्व सही हुने बताएका
थिए । उनले अन्ततः मुलुकमा जनविद्रोह गर्नुपर्ने अवस्था आउने जनाएका थिए ।
सचिव सीपी गजुरेलले 'जनविद्रोह' को तयारी गर्नुपर्ने कार्यदिशा लिएको वैद्यको राजनीतिक प्रतिवेदनलाई समर्थन गरेका थिए भने अर्का सचिव पोस्टबहादुर बोगटीले तीन 'स' (सरकार, सदन र सडक) को मोर्चाबाट जनताको संघीय लोकतान्त्रिक गणतन्त्रमा लाग्नुपर्ने बताएका थिए ।
गजुरेलले केन्द्रीय समिति बैठक 'विचारगोष्ठी' जस्तो भएको भन्दै स्वच्छ बहस गर्न आग्रह गरेका थिए ।
'फेरि अर्को आन्दोलन'
माओवादी उपाध्यक्ष मोहन वैद्यले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा भने लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर जनमुखी संविधान बनाउनुपर्ने धारणा राखे । सबै बाटा बन्द भएमात्र अर्को आन्दोलनमा जानुपर्ने बताए ।
'शान्तिपूर्ण बाटो भएसम्म हामी यही बाटोबाट जान्छौं,' उनले भने, 'त्यो बाटो बन्द भए राष्ट्रिय स्वाधीनताका लागि फेरि आन्दोलनमा जानुपर्ने हुन्छ ।'
यसैबीच अर्को एक कार्यक्रममा स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले जनतालाई धोका हुने अवस्था आए केन्द्रीय नेताहरू सहिद हुन तयार भएको बताएका छन् । कीर्तिपुरमा शनिबार आयोजित कार्यक्रमा बोल्दै चन्दले जसरी पनि लडाइँ जित्ने अभियानमा आफू लागेको बताए ।
'माओवादी जनतालाई धोका हुने भयो भने, नेपाली जनतालाई घात हुने भयो भने यो मिटिङबाट एउटा संकल्प गर्दै छौं,' उनले भने, '१४७ जना नेताहरू सहिद बन्न तयार छौं तर नेपाली जनतालाई धोका दिने छैनौं । हामी विजयको नजिक पुगेका छौं ।'
उनले राष्ट्रपति शासन लगाउने प्रयास भइरहेको दाबीसमेत गरे । 'हामीले लडाइँ जित्नुपर्छ । चाहे सरकारको लडाइँ होस्, चाहे सदनको लडाइँ होस्, चाहे सडकको लडाइँ होस्,' उनको भनाइ छ, 'चाहे जनताको अधिकारको लडाइँ होस्, चाहे संविधानको लडाइँ होस्, चाहे अहिले राष्ट्रपति शासन लगाउने खेल भइरहेको छ । त्यो खेललाई रोक्ने लडाइँ होस्, सबै लडाइँ माओवादीले जित्नुपर्छ ।'
उनले माओवादी नेताहरू सीमित स्वार्थका लागि झुक्ने बताउँदै माओवादी संसदीय खेलमा नफस्ने बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks