काठमाडौ, भाद्र ५ - अमेरिकी दूतावासले नेपालमा लामो समयदेखि बसोबास गर्दै आएका तिब्बती शरणार्थीलाई 'नेपाली नागरिक' भनेर आफ्नो देशमा भ्रमण इजाजत दिने गरेको छ ।
विदेश जान चाहने तिब्बती शरणार्थीलाई नेपालको परराष्ट्र मन्त्रालयले दिने ट्राभल डकुमेन्टमा अमेरिकी दूतावासले भ्रमण इजाजत दिँदा उनीहरूको राष्ट्रियतामा 'एनईपी' अर्थात् नेपाली लेख्ने गरेको जानकारी गृह मन्त्रालयका उच्च अधिकारीले दिए ।
ती अधिकारीका अनुसार अमेरिकी दूतावासले तिब्बती शरणार्थीलाई पहिला आफ्नो देशमा भ्रमण अनुमति दिँदा व्यक्तिगत विवरणको राष्ट्रियता शीर्षकमा 'क्रस' गरी केही पनि लेख्दैनथ्यो । तर झन्डै दुई वर्षदेखि
तिब्बती शरणार्थीलाई 'नेपाली' भनेर लेख्न थालिएको हो । नेपाल सरकारले करिब २५ हजार तिब्बतीलाई शरणार्थीको मान्यतासहित परिचयपत्र दिएको छ । परिचयपत्रवाहक र तिनका नाबालक सन्तानलाई विदेश भ्रमणमा जाँदा परराष्ट्र मन्त्रालयले ट्राभल डकुमेन्ट बनाइदिने गर्छ र विदेशी मुलुकका दूतावासले त्यही डकुमेन्टमा आफ्नो देश भ्रमणको इजाजत दिन्छन् ।
गृहका अधिकारीले तिब्बती शरणार्थीलाई नेपाली नागरिक भनेर परिचय दिनु कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गरे । 'नेपाली भनेर जाने तिब्बती शरणार्थीले विदेशमा कुनै अवैध काम गरे या चीनविरोधी गतिविधिमा संलग्न भएमा नेपालको बेइज्जतीमात्र हुन्न, मित्रराष्ट्र चीनसितको सम्बन्धमा समेत नकारात्मक असर पर्न सक्छ,' उनले बताए ।
गृह मन्त्रालयले अमेरिकी दूतावासलाई पत्र पठाई तिब्बती शरणार्थीलाई नेपाली भनेर भ्रमण इजाजत दिने गरेकामा विरोध जनाउँदै त्यस्तो कार्य तुरुन्त बन्द गर्न आग्रह गरेको छ । तर पत्र पठाएको दुई महिना भइसक्दा पनि दूतावासबाट कुनै प्रतिक्रिया नआएको गृह स्रोतले बतायो ।
नेपाल भ्रमणमा आएका अमेरिकी उपसहायक मन्त्री अतुल केसपले बुधबार गृहमन्त्री भीम रावललाई भेट्दासमेत गृहका अधिकारीले अमेरिकी दूतावासले तिब्बतीलाई नेपाली लेख्ने गरेकामा आपत्ति जनाएका थिए । 'मन्त्री रावल र अमेरिकी मन्त्रीबीचको भेटवार्ताका क्रममा गृहका अधिकारीले अमेरिकी दूतावासले तिब्बती शरणार्थीको ट्राभल डकुमेन्टमा नेपाली लेख्ने गरेकामा विरोध जनाएर रोक्न भनेका छौं,' गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले कान्तिपुरसित भने ।
गृहका अर्का अधिकारीले परराष्ट्र मन्त्रालयलाई पत्र पठाई कूटनीतिक माध्यमबाट प्रयास गरी अमेरिकी दूतावासलाई तिब्बती शरणार्थीलाई नेपाली भनेर इजाजत दिने कार्य बन्द गराउन आग्रह गरेको थियो । दुई महिनासम्म परराष्ट्रबाट कुनै प्रयास नभएपछि गृह आफैंले दूतावासलाई पत्र लेखी रोक्न आग्रह गरेको हो ।
परराष्ट्र मन्त्रालयका युरोप-अमेरिका महाशाखा प्रमुख धनञ्जय झाले अमेरिकी राजदूतलाई आफूले तिब्बती शरणार्थीलाई नेपाली नलेख्न मौखिक रूपमा आग्रह गरेको बताए । 'मैले यस विषयमा नयाँ अमेरिकी राजदूतलाई मौखिक रूपमा जानकारी गराइसकेको छु । हेरौं, उहाँहरूले के गर्नुहुन्छ ?' झाले भने ।
अमेरिकी दूतावासका एक अधिकारीले भने आफ्नो देशमा जाने व्यक्तिलाई राष्ट्रियताविहीन लेख्न नमिल्ने भएकाले तिब्बती शरणार्थीलाई नेपाली लेख्ने गरिएको प्रतिक्रिया दिए । 'अमेरिकाले आफ्नो देश जाने मानिसलाई राष्ट्रियताविहीन लेख्न मिल्दैन । त्यही भएर तिब्बती शरणार्थीको सबालमा राष्ट्रियता नेपाली लेखिएको हो । उनीहरूको राष्ट्रियता चिनियाँ लेख्न उनीहरूले चीनबाट अमेरिका जान आवेदन दिनुपर्छ । त्यही भएर उनीहरूको राष्ट्रियता चिनियाँ लेख्न सकिएन,' ती अधिकारीले बताए । उनका अनुसार यो प्राविधिक समस्या सल्टाउन प्रक्रिया अगाडि बढिसकेको छ । तर त्यसलाई अमेरिकी सदन कंग्रेसले अनुमोदन गर्नुपर्ने भएकाले लामै समय लाग्न सक्ने ती अधिकारीले भने ।
अमेरिकी दूतावासका प्रवक्ता टेरी ह्वाइटले नेपालले मान्यता नदिएसम्म आफ्नो देशले तिब्बती शरणार्थीलाई नेपाली नागरिक भन्न नसक्ने दाबी गरे । तर उनले आफ्नो दूतावासले तिब्बती शरणार्थीलाई नेपाली लेख्ने गरेकोबारे भने केही भन्न चाहेनन् ।
'नेपाल सरकारले मान्यता नदिएसम्म अमेरिकाले तिब्बतीलाई नेपाली नागरिक ठान्दैन । अमेरिकाले आफ्ना कन्सुलर अफिस, दूतावास र महावाणिज्य दूतावासमार्फत हाम्रो देशमा प्रवेशका लागि आवेदन स्वीकार्छ र अनुमति प्रदान गर्छ । त्यस्तो स्वीकृति नेपालको सबालमा नेपाल सरकारले जारी गरेको कागजातमा आधारित रहेर प्रदान गरिन्छ,' ह्वाइटले भने । यसबारेमा दूतावास नेपाल सरकारसित नियमित सम्पर्क र छलफलमा रहेको उनले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks