Loving nepal news

Tuesday, August 10, 2010

भारतीय कूटनीतिज्ञलाई फर्काउन निर्देशन * सभासदलाई धम्कीविरुद्ध संसदीय समिति सर्वसम्मत

राजेन्द्र फुयाल

काठमाडौ, श्रावण २६ - संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले सभासदलाई 'गालीगलौज र धाकधम्की दिने' भारतीय दूतावासका कूटनीतिज्ञलाई देशनिकाला गर्न र दूतावासलाई आत्मालोचना गराउन सरकारलाई निर्देशन दिएको छ । समितिले भारतीय प्रधानमन्त्रीका विशेषदूत श्यामशरणको नेपाल भ्रमणसमेत कूटनीतिक मर्यादाविपरीत भएको ठहर गर्दै सरकारको जानकारीबिना त्यस्ता भ्रमण नदोहोर्‍याउन पनि निर्देशन दिएको छ ।

सभासद रामकुमार शर्मालाई 'भारतीय दूतावासका कूटनीतिज्ञले गालीगलौज र धम्की दिएको' घटनाबारे छलफल गर्न बसेको समितिको बैठकले मंगलबार सर्वसम्मतिबाट सरकारलाई यस्तो निर्देशन दिएको हो ।

'नेपाल सरकारले यस विषयमा आवश्यक छानबिन गरी भारतीय दूतावासका दोषी कर्मचारीलाई अवाञ्छित व्यक्ति घोषित गरी स्वदेश फिर्ता पठाउने एवं सो घटनाप्रति दूतावासलाई आत्मालोचना गराउने पहलकदमी लिन परराष्ट्र मन्त्रालयलाई निर्देशन गरियो,' बैठकको निर्णयमा भनिएको छ ।

तमलोपाबाट माओवादी प्रवेश गरेका सभासद शर्माले प्रधानमन्त्री चयनका लागि चौथो चरणको निर्वाचनका सन्दर्भमा साउन २० गते आफूलाई भारतीय दूतावासबाट कूटनीतिक मर्यादाविपरीत गालीगलौज र धम्की आएको उल्लेख गर्दै छानबिनको माग गरेका थिए । दूतावासको कन्सुलर पदमा रहेका सुब्रत दासले आफूलाई 'अपहरण गर्ने, मार्ने, राजनीति समाप्त पारिदिने र दूतावास परिसर लैनचौरमा रहेको केन्द्रीय विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनकी छोरी चाँदनीलाई निष्कासन गर्ने' धम्की दिएको शर्माको दाबी छ ।

बैठकले 'सार्वभौम राष्ट्रको गरिमामय संविधानसभाका सदस्यलाई निज कर्मचारीले गरेको उक्त अमर्यादित व्यवहारले सिंगो राष्ट्रिय स्वाधीनतामाथि नै आघात पुर्‍याएको ठहर गरी उक्त व्यवहारको घोर भत्र्सना गर्ने' निर्णय गरेको छ । परराष्ट्रमन्त्री सुजाता कोइरालासमेतको उपस्थितिमा भएको छलफलपछि समितिका सभापति पद्मलाल विश्वकर्माले घटनालाई समितिले सिंगो राष्ट्रिय स्वाधीनतामाथिको चुनौतीका रूपमा लिएको निष्कर्ष सुनाए ।

बैठकमा डाकिए पनि कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाल भने उपस्थित भएनन् ।

छलफलमा सहभागी सभासदहरूले दूतावासका कर्मचारीले सभासदलाई धम्की दिएको घटना प्रकाशमा आउँदा पनि राज्य मौन बसेको भन्दै सरकारको आलोचना गरेका थिए ।

जवाफमा परराष्ट्रमन्त्री कोइरालाले छलफलमा उठेका विषयलाई आफूले गम्भीर रूपमा लिएको र छानबिनपछि मात्र थप भन्न सक्ने बताइन् । घटनाबारे गृह मन्त्रालयबाट परराष्ट्रलाई मौखिक सोधनी भएको, साउन २३ गते नै भारतीय दूतावाससँग घटनाबारे जानकारी मागिएको उनले जानकारी दिइन् । 'जवाफमा दूतावासबाट उक्त आरोप आधारहीन रहेको भन्ने पत्र आएको छ,' कोइरालाले भनिन् ।

संसदीय समितिको बैठकले भारतीय प्रधानमन्त्रीका विशेषदूत श्यामशरणको भ्रमणबारे नेपाल सरकारलाई औपचारिक जानकारी नगराएर भारतीय दूतावासले कूटनीतिक मर्यादा भंग गरेको ठहरसमेत गरेको छ । नेपालको राजनीतिक संकट गहिरिएका बेला भारतका पूर्वविदेश सचिव शरण काठमाडौं आई राजनीतिक भेटघाट गरेका थिए । 'पूर्वस्वीकृति र जानकारी बिना कुनै पनि देशका सरकारका प्रतिनिधिले नेपाल भ्रमण गर्ने कार्य र यसरी आउने कुनै पनि देशका विशेषदूतलाई सरकार प्रमुखलगायतका पदाधिकारीहरू एवं राजनीतिक दलका नेतृत्व तहले समेत मान्यता दिने कार्यलाई अनुचित ठहर गरी आगामी दिनमा त्यस्ता घटनाहरू नदोहोरिने व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिने' बैठकको निर्णय छ । बैठकले परिवर्तित सन्दर्भमा व्यापक छलफल गरी परराष्ट्र नीति निर्माण गर्न पनि सरकारलाई निर्देशन दिएको छ । परराष्ट्रमन्त्री कोइरालाले भने शरणको भ्रमणलाई 'व्यक्तिगत' भनिन् । 'यो उहाँको व्यक्तिगत भ्रमण हो, नेताहरूले भेट्नुभयो,' सभासदहरूको जिज्ञासामा उनले भनिन्, 'परराष्ट्र मन्त्रालयलाई यसको जानकारी छैन ।' नेपाल सरकार र सम्बन्धित मन्त्रालयलाई जानकारी नगराई आएका शरणसँग नेताहरूले गरेको भेटघाटप्रति सभासदहरूले आपत्ति जनाएका हुन् ।

'कूटनीतिक मर्यादाविपरीत भ्रमणमा आएकासँग हाम्रा नेताले गरेको व्यवहारले हाम्रो शिर झुकाउने काम भएको छ,' एमाले सभासद विन्दा पाण्डेले भनिन्् । उनले सभासद शर्माकी छोरीलाई विद्यालयबाट निकाल्ने धम्की राष्ट्रिय स्वाभिमानविरुद्ध मात्र नभई नागरिक अधिकारविरुद्ध समेत भएको टिप्पणी गरिन् । नेकपा संयुक्तका सभासद सुनीलबाबु पन्तले उपचारका नाममा दिल्ली धाउने, परराष्ट्रको जानकारी बेगर दूतावासका अधिकारीसँग हेलमेल गर्ने प्रवृत्तिका कारण समस्या झाँगिएको बताए ।

पूर्वप्रधानमन्त्री एवं राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले शर्मामाथि धम्की 'कूटनीतिक मर्यादाविपरीत मात्र नभई व्यक्तिले व्यक्तिसँग गर्नेभन्दा तल झरेर गरिएको व्यवहार' भएको टिप्पणी गरे । बैठकमा सभासदहरू राधा ज्ञवाली, राम शाह, प्रसाद यादव, मोहम्मद सिद्दिकी, सन्तबहादुर नेपाली, चन्दि्रकाप्रसाद यादव, गौरी महतो, लक्की शेर्पा, तिलकबहादुर मिजार, रामनन्द मण्डल, रामपि्रत पासवान, रेणु चन्द, भरत साहलगायतले घटनाको छानबिनको माग गरेका थिए ।

माओवादी नेताहरूचाहिँ आफ्ना केन्द्रीय सदस्य शर्मालाई आएको धम्कीले सरकार निर्माणमा विदेशी हस्तक्षेप पुष्टि भएको तर्क गरे । 'यो जुन सन्दर्भमा भएको छ, त्यसले नेपालको आन्तरिक मामिलामा कसरी विदेशी हस्तक्षेप भइरहेको छ भन्ने देखाएको छ,' माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार माओवादीले उक्त घटनालाई लिएर दूतावासलाई विरोधपत्र दिने तयारी गरेको छ । पार्टीले घटनाबारे दूतावाससँग प्रस्टीकरण सोधिएको र प्राप्त जवाफ आफूहरूलाई चित्त नबुझेको उनले बताए । 'कूटनीतिक निकायले माफी माग्नुपर्छ, सम्बन्धित कर्मचारीलाई फर्काउनुपर्छ,' उनले भने । माओवादी सभासद सुरेश आले मगरले भने दोषी कर्मचारीलाई 'अवाञ्छित व्यक्ति' घोषणा गरी देशनिकाला गर्नुपर्ने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks