Loving nepal news

Sunday, August 22, 2010

प्याकेजमा सहमति भए विकल्पमा छलफलः कांग्रेस/ 'नेपाली सेनालाई सुपरिवेक्षमा राख्नु हुँदैन'

काठमाडौ, भाद्र ७ - नेपाली कांग्रेसले प्याकेजमा साझा सहमति भए सबै विकल्पमा छलफल गर्न सकिने जनाएको छ । प्रधानमन्त्रीको पाँचौ चरणको निर्वाचन हुनु अघि सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले शान्ति प्रकृया, लोकतन्त्र र लोकतान्त्रिक संविधानलाई आधार मानेर प्याकेजमा साझा सहमति हुनुपर्नेमा जोड दिएको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले शान्ति र लोकतान्त्रिक संविधानलाई आधार मानेर प्याकेजमा साझा सहमति खोज्न सकिने बताए । 'त्यसो भए हर किसिमको विकल्पमा खुला रहन्छौ ।' उनले भने, 'हैन भने बरु प्रतिपक्षमा बसौला । जसले जसरी सरकार बनाए पनि हुन्छ ।' उनले सोमबार हुने प्रधानमन्त्रीको निर्वाचनपछि कांग्रेसले यसअघि सारेको लिखित आधारपत्रलाई परिमार्जन गरेर दलहरुसँग छलफल अघि बढाइने बताए ।
'अनमिनको म्याद थपिए पनि नेपाली सेनाको सुपरिवेक्षण गर्नु हुदैन'
उनले अनमिनको म्याद थपिए पनि राष्ट्रिय सेनालाई पार्टीको सेनाको समकक्षमा राखेर सुपरिवेक्षण गर्ने क्रमको अन्त्य हुनुपर्ने बताए । 'अनमिनको म्याद थप्ने बिषय सबै दलको साझा सरोकार हो । यसबारेमा प्रमुख दलहरुबीच छलफल गरेर धारणा बनाउछौ ।' उनले भने, 'अनमिनको म्याद थपिए पनि राष्ट्रिय सेना कसैको सुपरीवेक्षण, नियन्त्रण र बन्देजमा रहनु हुदैन । उसले देशको संविधान र कानुन अनुसार भूमिका निभाउन पाउनुपर्छ ।' उनले माओवादी लडाकु र राष्ट्रिय सेनालाई समान दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । अनमिनले हाल नेपाली सेना र माओवादी लडाकुको अनुगमन गर्दै आएको छ । केसीले अनमिनको परिणाममूलक भूमिका नदेखिएको बताउदै उसको अनुगमनमा रहेको लडाकुले ज्यादती जारी राखेको बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks