Loving nepal news

Saturday, August 21, 2010

बाढीले तटबन्ध बगायो

महेन्द्रनगर, भाद्र ५ - महाकाली नदीको बाढीले तीन दिन देखि कटान गरिरहेको भुजेला नदी किनारको तटबन्धको करिव २५ मिटर शुक्रबार राति भत्केर बगेको छ । तटबन्ध भत्केर बगेपछि नदीको भंगालो छेवैको दलित वस्ती महाकाली टोलमा पस्ने खतरा बढेको छ ।
मंगलवार देखिको बर्षाका कारण महाकाली नदीमा आएको बाढीले नदी किनारको तटबन्ध कटान गर्न थालेको हो । स्थानीय भिमदत्त नगरपालिका - ११ मा पर्ने भुजेला गाउँको नदी किनारको वस्ती बाढी बाट जोगाउन यसैबर्ष निर्माण गरिएको तटबन्ध बाढीले बुधवारदेखि कटान गरिरहेको थियो ।
' तटबन्धको दोस्रो प्याकेज अन्तर्गत शुक्रवार दिउसो सम्म ६० मिटर कटान भएको थियो , राति कटान भइरहेकै ठाउको २५ मिटर जति भत्केर बगेको छ ' शनिवार कटान रोकथाममा संलग्न जनताको तटबन्ध आयोजनाका प्रमुख डिइ प्रेम कुमार श्रीवास्तवले भने ।
२५ मिटर तटबन्ध पुरै कटान भइ बाढीले बगाए पछि नदी किनार छेवैमा घरवास भएका वासिन्दा महाकाली वस्तीमा पस्ने त्रासमा छन् । नदीको बहाव घटदै गएका कारण पानी वस्ती तिर पस्ने खतरा नरहेको श्रीवास्तवले बताए । तटबन्ध बगाए पछि शनिवार बिहानै देखि सशस्त्र तथा जनपद प्रहरीको र नेपाली सेनाको टोली संगै स्थानीयवासी तारजालीमा ढुंगा भरेर क्रेट बिछ्याउने काममा जुटेका छन् । स्थानीय प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरु तथा बिभिन्न राजनैतिक दलका कार्यकर्ता कटान भएको क्षेत्रको निरीक्षणका लागि पुगेका थिए ।
' यतिवेला कटान रोकथामका लागि ढुंगा भरेर तारजालीको क्रेट बिछ्याउनु मात्र एकमात्र उपाय हो ' श्रीवास्तवले भने । उनका अनुसार नदीको बहाव वायाँ तर्फको पूर्वी भेगतिर मोडिएका कारण तटबन्धमा बाढीको बेगको दवाव पर्न गइ कटान भएको हो । स्थानीयवासीहरु भने तटबन्धको निर्माण प्रविधि नै दीगो खालको नभएकोले कटान भएको बताउछन् ।
बुधवार २ लाख ५४ हजार क्युसेक बाढीको बहाव भएका बेला देखि कटान भएको तटबन्ध शनिवार पानी घटेर १ लाख ३८ हजार हुदा समेत कटान भइरहेकोछ । यसैबीच सिमाको बनवासा पुल शनिवार तेस्रो दिन पनि सार्वजनिक यातायातका लागि बन्द गरिएकोछ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks