काठमाडौं, भाद्र १ - राष्ट्रपति डा रामवरण यादवले राजनीतिक गतिरोधका कारण लोकतान्त्रिक संस्थाहरुप्रतिको विश्वास समेत कमजोर हुने स्थिति पैदा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले मंगलबार प्रधानमन्त्री माधवकुमार नेपालसंगको भेटमा तत्काल गतिरोध अन्त्य गरी मुलुकलाई निकास दिन आग्रह गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार मंगलबार साँझ भएको एक घण्टा लामो भेटमा राष्ट्रपतिले पटक पटकको निर्वाचनबाट पनि प्रधानमन्त्री चयन हुन नसकेकोमा दुःख प्रकट गरेका थिए ।
'डेमोक्रेटिक इन्टिच्यूसनहरुप्रतिको विश्वास घट्ने क्रास बढेको छ' राष्ट्रपतिलाई उद्घृत गर्दै प्रेस सल्लाहकार दाहालले भने,' अब त अति भयो, चाँडो निकास निकाल्ने प्रयास गर्नुहोस् ।' कामचलाउ प्रधानमन्त्रीको भरमा मुलुकलाई लामो समय सम्म राख्न नहुने धारणा राष्ट्रपतिले राखेका थिए । कर्मचारीतन्त्रको भरमा मुलुक चल्नुपर्दा महत्वपूर्ण काम प्रभावित हुने भन्दै उनले राजनीतिक दलहरुबीचको समझदारीले निकास दिनुपर्ने बताएका थिए ।
पटक पटकको निर्वाचनबाट पनि प्रधानमन्त्री चयन गर्न नसक्दा अन्तराष्ट्रिय स्तरमा पनि नेपालको छवि नराम्रो हुने भन्दै प्रधानमन्त्री नेपाललाई राष्ट्रपतिले ध्यानाकर्षण गराएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks