सेना तथा हतियारको व्यवस्थापनको अनुगमन सम्बन्धी जिम्मेवारी पाएको अनमिनको म्याद भदौ ३० मा सकिँदै
काठमाडौं, ४ भाद्र (दैनिकी)
नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले थपिएको चार महिने म्याद सकिन लाग्दा आफ्नो म्याद थप बारे प्रमुख दलहरुसंग छलफल गरेको छ । शुक्रबार विहान राजधानीको बत्तिसपुतलीस्थित होटल द्वारिकामा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका प्रतिनिधिहरुसँग अनमिन प्रमुख करिन ल्यानग्रेनले धारणा माग्नु भएको हो । छलफलमा माओवादीका वर्षमान पुन, जनार्दन शर्मा, काँग्रेसका रामशरण महत र एमालेका ईश्वर पोखरेलको सहभागिता थियो । संयुक्त छलफलमा ल्यानग्रेनले छैठौं पटक थपिएको अनमिनको म्याद सकिन लागेको र नेपाल सरकारले म्याद थप्नु पर्ने बताएको छलफलमा सहभागि काङ्ग्रेस नेता डा. रामशरण महतले बताउनुभयो । एमाले महासचिव ईश्वर पोख्रेलले म्याद थप गर्ने या नगर्ने भन्ने विषयमा ठोस निचोड आउन नसकेको र सरकारले दलहरुसँग परामर्श गरेर म्याद थप गर्ने या नगर्ने भन्ने निक्र्यौल गर्ने बताउनुभयो । छलफलमा अर्का सहभागि एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन ‘अनन्त’ले शान्तिप्रक्रिया टुङ्गोमा पुग्ने गरी अनमिनको म्याद थप्नु पर्ने बताउनुभयो । छलफलमा संयुक्त अनुगमन समिति (जेएमसीसी)को औचित्य, नेपाली सेनाको भर्ना प्रक्रिया र माओवादी जनमुक्ति सेनाको भर्ती आह्वानले शान्ति प्रक्रियामा पार्न सक्ने असरबारे पनि कुराकानी भएको बताइएको छ । सेना तथा हतियारको व्यवस्थापनको अनुगमन सम्बन्धी जिम्मेवारी पाएको अनमिनको म्याद भदौ ३० मा सकिँदै छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks