काठमाडौ, श्रावण ३० २०६७ ०८:२४ - विदेशमा पढ्न गएका विद्यार्थीसँगै उनीहरूको खर्चका लागि वर्षमा २० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । करिब ४० हजार विद्यार्थीको शुल्क, खान-बस्न लाग्ने खर्च र विदेशी एयरलाइन्सलाई टिकटबापत यति रकम लागेको हो ।
यस वर्ष करिब १० अर्ब रुपैयाँ शिक्षण शुल्कका लागि मात्र गएको छ । गत आर्थिक वर्षदेखि विदेश पढ्न तिरिने शिक्षण शुल्कमा १ प्रतिशत कर लाग्ने व्यवस्था सुरु गरिएको थियो । १० करोड रुपैयाँ विदेशी संस्थामा तिरिने शिक्षण शुल्कबाट उठेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
'गत वर्ष शिक्षा सेवा शुल्क करिब १७ करोड उठेको छ,' विभागका उपमहानिर्देशक लक्ष्मण अर्यालले भने, 'जसमध्ये झन्डै दस करोड रुपैयाँ विदेशी संस्थामा बुझाइने शिक्षण शुल्कबाट उठेको छ ।' यसअघि करको दायरामा नरहेको विदेशी संस्थामा बुझाइने शिक्षण शुल्कमा गत वर्षदेखि १ प्रतिशत कर लगाइएको हो । खान-बस्नका लागि आफूसँग लाने खर्चमा भने कर लाग्दैन ।
गत वर्ष शिक्षा मन्त्रालयबाट विदेशमा शिक्षा लिन पाउने 'नो अब्जेक्सन लेटर' २६ हजार ९ सय जनाले लिएका छन् । एक विद्यार्थीले २ हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाउँछ । यसअनुसार करिब ४ अर्ब रुपैयाँ विद्यार्थीले खान-बस्नका लागि लिएर गएका छन् ।
यसबाहेक विद्यार्थीले गन्तव्यसम्म पुग्न लाग्ने एयरलाइन्स खर्च करिब २ अर्ब रुपैयाँ छ । गत वर्ष बेलायतमा भिसा दिने चार टेयर प्रणाली सुरु भएपछि नेपाली विद्यार्थी त्यतै हान्निएका छन् । बेलायत, अस्ट्रेलिया र अमेरिका नेपाली विद्यार्थीका प्रमुख गन्तव्य हुन् । त्यहाँ जान औसत ७० हजार रुपैयाँ टिकट खर्च लाग्छ । स्वदेशी नेपाल वायुसेवा निगमको विदेशी उडानमा ६ प्रतिशत मात्रै रहेको आधारमा टिकट खर्चको ठूलो हिस्सा विदेश नै जान्छ ।
अध्यागमन विभागका अनुसार करिब ४२ हजार युवा अध्ययनका लागि त्रिभुवन विमानस्थलबाट बाहिरिएका छन् । भारतका लागि शिक्षा मन्त्रालयबाट पत्र नचाहिने हँुदा त्यहाँको रेकर्डमा नभएका युवा भारत गएको अनुमान छ । करिब १५ हजार विद्यार्थी भारतमा शिक्षाका लागि गएका छन् ।
भारतमा वाषिर्क दुई लाख भारतीय रुपैयाँ खर्च हुने आधारमा पनि करिब चार अर्ब रुपैयाँ भारत गएको हो । भारतको एकतर्फी हवाई भाडा औसत १४ हजार रुपैयाँ पर्छ ।
यस आधारमा झन्डै २० करोड रुपैयाँ टिकटमा खर्च भएको छ । स्थल मार्गबाट भारत जाने विद्यार्थीको भने यकिन तथ्यांक उपलब्ध छैन । यो सबै रकम जोड्दा शिक्षाका लागि विदेशिने रकम २० अर्ब रुपैयाँ नाघेको छ । 'विद्यार्थी रहरले होइन करले विदेशिएका हुन्,' शैक्षिक परामर्श संघका महासचिव राजेन्द्र बरालले भने, 'सरकारले ध्यान दिन सक्यो भने विद्यार्थीलाई सुरक्षित तबरबाट पठाउन सकिन्छ ।' वैदेशिक शिक्षासम्बन्धी नियमावली बनाउन संघले सरकारसँग आग्रह गरिरहेको छ । यो रकम दुई वर्षअघिको भन्दा करिब ७० प्रतिशत बढी हो । ४७ देशमा नेपाली विद्यार्थी पुगेको शैक्षिक परामर्श संघले जनाएको छ ।
यो रकम नेपाल भित्रिने रेमिट्यान्सको १० प्रतिशत हो । गत वर्ष करिब दुई खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको प्रारम्भिक अनुमान छ । अत्यधिक आयात र शिक्षा स्वास्थ्यलगायतका लागि धेरै रकम बाहिरिएपछि गत वर्ष रेमिट्यान्सले भुक्तानी सन्तुलनलाई दुरुस्त राख्न सकेन । गत वर्ष रेमिट्यान्सको वृद्धिदर १० प्रतिशतमा झरेपछि भुक्तानी सन्तुलन फागुनमा साढे २३ अर्ब रुपैयाँले ऋणात्मक बन्न पुगेको थियो । अहिले घाटा पाँच अर्बभन्दा तल झरे पनि अर्थतन्त्र दुरुस्त भने भइसकेको छैन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks