गंगा बीसी
काठमाडौ, भाद्र १२ - माओवादी मुख्य नेताहरू अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र मोहन वैद्यका एक-एक स्थायी समिति सदस्य सल्लाहकार छन् । दाहालका निकट सहयोगी वर्षमान पुन हुन् भने वैद्यका नेत्रविक्रम चन्द र भट्टराईका टोपबहादुर रायमाझी । मुख्य नेताहरू जस्तै दोस्रो पुस्ताका यी युवा नेताबीच पनि को प्रभावशाली बन्ने भन्ने प्रतिस्पर्धा छ । पुन र चन्द एक-अर्कालाई प्रतिस्पर्धी मान्छन् भने रायमाझी दुवैलाई आफूभन्दा 'जुनियर’ ठान्छन् ।
काठमाडौं- माओवादीका तीन शीर्ष नेतामध्ये को प्रभावशाली हुनेछन् भन्ने उनीहरूका युवा सल्लाहकारमा निर्भर हुनेछ । किन कि युवा नेताहरूको सल्लाह र बलबाटै उनीहरूले राजनीति हाक्नु पर्नेछ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र मोहन वैद्य औपचारिक रूपमा तीन धारमा विभाजित भएपछि उनीहरूको राजनीतिक भविष्य आंकलन गर्न थालिएको छ । तीन नेताले लिएको 'लाइन' भविष्यमा कार्यान्वयन हुनेमा उनीहरूका सल्लाहकारको महत्त्वपूर्ण भूमिका हुनेछ ।
तीनै नेताका एक-एक स्थायी समिति सदस्य नजिकका सल्लाहकार छन् । दाहालका वर्षमान पुन, वैद्यका नेत्रविक्रम चन्द र भट्टराईका टोपबहादुर रायमाझी नजिकका सल्लाहकार हुन् । त्यसबाहेक नेताहरूले आफ्नो कार्यनीतिमा समर्थन गर्ने पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यको सल्लाह पनि लिन्छन् ।
माओवादीमा पुन, चन्द र रायमाझी दोस्रो पुस्ताका युवा नेता हुन् । पुनसँग युद्धकलाको राम्रो अनुभव छ । रोल्पामा जन्मेर त्यहींबाट राजनीति सुरु गरेका उनले दर्जनभन्दा बढी ठूला युद्ध मोर्चा नेतृत्व गरेका छन् । दाङको घोराही ब्यारेक आक्रमणलगायतमा उनीसँग युद्धको अनुभव छ । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उनी दाहाल निकट रहेर काम गर्दै आएका छन् ।
पछिल्लो समयमा उनी दाहालका राजनीतिक सल्लाहकार हुन् । उनी माओवादी सेनाका डेपुटी कमान्डरदेखि स्थायी समितिसम्म पुग्न दाहालको योगदान भएको स्रोतको भनाइ छ । युवा नेताहरूमध्ये तुरुन्त निर्णय लिन सक्ने चतुर नेताका रूपमा उनी चिनिन्छन् । उनी केही समय पहिले भट्टराई नजिक भई पुनः दाहालतिर फर्केका थिए । उपाध्यक्ष भट्टराईले पूर्वराजदूत श्याम शरणलाई एक्लै भेटेकामा उनले स्पष्टीकरण दिनुपर्ने बताएपछि विवादमा परेका थिए ।
युद्धमा मारिएका सहिद, जनसेना,
करिब ४० हजार पूर्णकालीन कार्यकर्ता र जनादेशलाई सम्झनामा राखी नेतालाई सुझाव दिनुपर्ने उनी बताउँछन् । 'शान्ति, संविधानलाई निष्कर्षमा पुर्याउन बल पुग्ने गरी नेतृत्वलाई सुझाव दिनुपर्छ,' उनले कान्तिपुरसँग भने, 'नेताहरूबीच संघर्ष गर्दागर्दै एकता हुनुपर्छ र हामीले त्यही सुझाव दिनुपर्छ ।' उनी निकट स्रोतअनुसार दाहाल र भट्टराई मिलाउने धारणा राख्न थालेका छन् । उनी सैन्य विभाग इन्चार्ज हुन् ।
'हार्डलाइनर' नेताको रूपमा चिनिने उपाध्यक्ष वैद्यलाई जहिले पनि साथ दिने स्थायी समिति सदस्य चन्द सञ्चारमाध्यममा आउन कम रुचाउँछन् । विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका उनी छोटै समयमा स्थायी समिति पुग्ने नेताका रूपमा दरिन्छन् । बाहिरी संसारभन्दा संगठन र कार्यकर्ताबीच व्यस्त हुन रुचाउने नेताको जीवनशैली साधारण देखिन्छ ।
उनी वैद्यको कार्यनीतिलाई समर्थन गर्दै आएका छन् भने वैद्यले उनलाई प्रोत्साहन गरेका छन् । पार्टी 'संशोधनवाद' तर्फ उन्मुख हुने खतरा भएको भन्दै नेता तथा कार्यकर्ताको जीवनशैली सुधारमा जोड दिँदै आएका छन् । उनी मुलुकमा 'नयाँ जनवाद' ल्याउन अर्को क्रान्ति हुनुपर्ने बताउँछन् । दोस्रो पुस्ताका अध्ययनशील नेतामा उनी पनि पर्छन् । उनी संगठन विभाग र विद्यार्थी फाँट हेर्छन् ।
उनी व्यक्ति हेरेरभन्दा वैज्ञानिक विचारलाई समर्थन गर्नुपर्ने बताउँछन् । 'वैज्ञानिक विचारलाई समर्थन गर्नुपर्छ,' उनले भने, 'जिम्मेवार ठाउँमा बसेपछि हामीले प्रचण्ड, किरण र बाबुरामलाई सुझाव गर्नुपर्छ, एउटैलाई मात्र सुझाव दिनुपर्छ भन्ने छैन ।'
अर्का उपाध्यक्ष भट्टराईका सल्लाहकार हुन् रायमाझी । उनले शान्ति प्रक्रियामा आइसकेपछि भट्टराईलाई खुलेरै साथ दिँदै आएका छन् । लडाकु स्वभावका रायमाझीले माओवादी सरकार गठन हुने क्रममा भनेका थिए, 'माझीले तार्न पनि जानेको छ, डुबाउन पनि ।' उनले यसो भनेर आफूलाई उचित स्थान नदिएको भन्ने संकेत गरेका थिए । राजनीतिमा लाग्नुअघि कराँतेका ब्लाकबेल्ट खेलाडी रायमाझीले युद्ध सुरु गर्नुअघि छापामारलाई तालिम पनि दिएका थिए । उनले उद्योग विभाग हेर्ने जिम्मा पाएका छन् । लोकतान्त्रिक गणतन्त्रको बाटोबाट मुलुक जनताको संघीय गणतन्त्र स्थापना हुने उनको विश्वास छ । भट्टराईले बौद्धिक समस्याको आफैं समाधान निकाल्ने भएकाले रायमाझीले रणनीतिक सल्लाह दिन्छन् ।
'हामीले देश, जनता र पार्टीको हित हुने गरी नेतृत्वलाई सुझाव दिनुपर्छ,' उनले कान्तिपुरसँग भने, 'स्वस्थ ढंगले नेताहरूलाई सुझाव दिनुपर्छ ।' भट्टराई निकट स्रोतका अनुसार उनले अन्य पक्षका युवा नेताहरूको सुझाव पनि बेलाबेलामा लिन्छन् । जस्तो केही समयअघि भट्टराईले राम्रो सम्भावना भएका युवा नेतामा पुन र चन्दको नाम लिएका थिए ।
पुन, चन्द र रायमाझी दोस्रो पुस्ताका 'प्रभावशाली' नेता हुने दौडमा छन् । पुन र चन्दले एक-अर्कालाई प्रतिस्पर्धी मान्छन् भने रायमाझीले दुवैलाई आफूभन्दा 'जुनियर' ठान्छन् । दाहाललाई नजिकबाट सल्लाह दिने पोलिटब्युरो सदस्यहरू हरिबोल गजुरेल, जनार्दन शर्मा, अग्नि सापकोटा र शक्ति बस्नेत पनि हुन् । वैद्यलाई पोलिटब्युरो सदस्य नारायण शर्मालगायतले सघाउँछन् ।
भट्टराईका अन्य सल्लाहकार पोलिटब्युरोहरू हिसिला यमी, राम कार्की र देवेन्द्र पौडेल पनि हुन् । केन्द्रीय समिति जारी रहेको बेला तीन पक्षका सल्लाहकारहरू उनीहरूको कार्यनीति पारित गराउन कम्मर कसेर लागेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks