Loving nepal news

Friday, August 13, 2010

काँग्रेसलाई भोट हाल्न बैठक बस्दैनः खनाल/सयपटक भएपनि माओवादीलाई हराउँछुः ओली

रासस

काठमाडौ, श्रावण २८ २०६७ ०८:१९ - नेकपा (एमाले) अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी संविधानसभा विघटन गर्ने 'षड्यन्त्र' को सहयोगी हुन नसक्ने बताएका छन् ।

शान्ति र संविधानका लागि एमालेले राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्रीको निर्वाचनमा लगातार तटस्थ बस्दै आएको उल्लेख गर्दै उनले पार्टीको अडान सही भएको दाबी गरे ।

एमाले काठमाडौं जिल्ला सङ्गठन कमिटीको बृहद् कार्यकर्ता भेलालाई आज केन्द्रीय कार्यालय बल्खुमा सम्बोधन गर्दै अध्यक्ष खनालले आगामी भदौ २ गतेको प्रधानमन्त्रीको पाँचौ चरणको निर्वाचन अगाडि नै माओवादी र नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन पुनः आग्रह गरे ।

बहुमतको सरकारबाट शान्ति र संविधान निश्चित नहुने भएकाले राष्ट्रिय सहमति नभएसम्म प्रधानमन्त्रीका उम्मेदवारहरु पुष्पकमल दाहाल 'प्रचण्ड' र रामचन्द्र पौडेलमध्ये कसैलाई पनि मत नहाल्ने उनले प्रष्ट पारे ।

उनले एमालेको तटस्थता शान्ति, संविधान र अग्रगतिका लागि भएको भन्दै सत्ताकै लागि आफ्नो पार्टी मरिहत्ते नगर्ने बरु प्रतिपक्षमै बस्ने जनाकारी दिए ।

एमालेले माओवादी, काँग्रेस वा भारतलाई मुख्य शत्रु नठानेको बताउँदै अध्यक्ष खनालले वर्तमानको प्रधानअन्तरविरोध 'सामन्ती पुनरुत्थानवाद र यथास्थितिवाद' सँग भएको चर्चा गरे ।

भदौ २ गते अगाडि केन्द्रीय कमिटीको बैठक बस्ने विषयमा पार्टीभित्र केही मतान्तर भएको स्वीकार्दै उनले काँग्रेसलाई भोट हाल्नका लागि एमालेले कुनै बैठक वा निर्णय नगर्ने पनि प्रष्ट पारे । यस विषयमा पार्टी एक ढिक्का भएर प्रस्तुत हुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह समेत गरे ।

सोही कार्यक्रममा एमाले स्थायी समितिका सदस्य के.पी.शर्मा ओलीले माओवादीले 'सत्ता कब्जा' को नीति कायमै राखेर सहमतिको राजनीति त्यागेकाले एकसय एक पटक निर्वाचन भए पनि उसको नेतृत्वमा सरकार बन्न नदिने प्रण गरे ।

माओवादी कम्युनिस्ट आन्दोलनको नाममा कलङ्क भएको आरोप लगाउँदै उनले भारतीय प्रतिनिधिहरुलाई कसले बोलायो ? र लाइन लागेर श्यामशरणलाई भेट्न को गयो ? अनि कसले राष्ट्रवादका चर्का नारा उछालेको छ ? भन्ने कुरा छर्लङ्ग भएको बताए ।

उनले एमालेले तटस्थ बसिरहँदा पनि माओवादीले जित्ने र काँग्रेसलाई छेक्न मात्रै तटस्थता कायम राखेको भन्ने अवस्था आएमा त्यस निर्णमा सोच्नुपर्ने धारणा राखे ।

सेना र हतियार छाडेमा माओवादीको नेतृत्व आफूहरुलाई आपत्ति नहुने ओलीको कथन थियो । नेता ओलीले एमाले विभाजनका लागि माओवादीले भैंसीपूजासमेत गरेको भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने प्रष्ट पारे ।

माओवादी 'सांस्कृतिक राजा' को नाममा साँठगाँठ गरिरहेको दाबी गर्दै उनले समयमा संविधान नबन्नुको मुख्य दोषी पनि माओवादी नै भएको ठोकुवा गरे ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज राजेन्द्र श्रेष्ठले मार्क्सवाद र लेलिनवादलाई तिलाञ्जली दिएर कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रीकरण गर्न नसकिने भन्दै उग्रवामपन्थीलाई एमालेले वैचारिकरुपमा परास्त गर्नुपर्ने बताए ।

भेलाका अध्यक्ष तथा काठमाडौं जिल्ला कमिटीका संयोजक निर्मल कुइकेलले काठमाडौंमा आगामी असोज ५ र ६ गते हुने पाँचौ अधिवेशन एकबद्धरुपमा सम्पन्न गरिने जानकारी दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks