Loving nepal news

Saturday, August 21, 2010

घरैपिच्छे बैंक

शंकर आचार्य

पर्सा, भाद्र ६ - आर्थिक नगरी वीरगन्जको आदर्शनगरमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक रहेको भवनमै वीरगन्ज फाइनान्सको केन्द्रीय कार्यालय छ । एभरेस्ट बैंकको वीरगन्ज शाखा रहेको भवनमा ग्लोबल बैंकको केन्द्रीय कार्यालय छ ।

त्यसैगरी आदर्शनगरमै रहेको अर्को घरमा भुइँतलामा कन्ट्री डेभलपमेन्ट बैंकको र माथिल्लो तलामा गोर्खा डेभलपमेन्ट बैंकका शाखा छन् ।

आर्थिक नगरीको आदर्शनगर क्षेत्रमा निजी तथा सरकारी बैंकहरूको बाक्लो उपस्थितिले केही वर्षयता बैंकिङ नगरीका रूपमा परिणत हुँदै गएको छ । वीरगन्जमा केन्द्रीय कार्यालय स्थापना गर्ने हुन् वा शाखा स्थापना गर्ने हुन् सबै वित्तीय संस्थाहरूले आदर्शनगरलाई आफ्नो रोजाइ बनाउँछन् ।

नगरमा रहेका चार दर्जनभन्दा बढी वित्तीय संस्थामध्ये आदर्शनगरको करिब दुई वर्ग किलोमिटर क्षेत्रमा मात्र झन्डै ४० वित्तीय संस्थाका कार्यालय छन् ।

यहाँ महँगो भाडा तिरेर कार्यालय स्थापना गर्ने छँदै छन् । महँगोमा जग्गा खरिद गरेर आफ्नै भवन निर्माण गर्ने बैंक पनि धेरै छन् । बैंकको रोजाइमा परेकाले यस क्षेत्रमा घर भएकाहरूले भाडामा लगाएर मासिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

आदर्शनगर क्षेत्रमा बसोवास भएका नगरका प्रमुख उद्योगी व्यवसायी तथा व्यापारिक प्रतिष्ठाहरूलाई लक्षित गरी यस क्षेत्रमा वित्तीय संस्थाले कार्यालय स्थापना गर्ने गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकारिया आदर्शनगर वीरगन्जको मुख्य स्थान भएकाले यहाँ वित्तीय संस्था मात्र नभई जुनसुकै औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले आफ्नो कार्यालय स्थापनाको प्रयास गर्ने गरेको बताउँछन् ।

पाइलैपिच्छै बैंक तथा वित्तीय संस्था हुँदा उद्योगी व्यवसायीले रोजीरोजी बैंकिङ कारोबार गर्न पाएका छन् । एकै ठाउँमा धेरै वित्तीय संस्था हुँदा असुरक्षाको कारण नगद बोकेर लाँदा हुने त्रासबाट मुक्ति मिल्ने सिकारिया बताउँछन् ।

यहाँस्थित नेपाल राष्ट्र बैंकका मुख्य व्यवस्थापक एजिन्द्रप्रसाद लुइँटेल पनि आदर्शनगर बैंकिङ नगरमा परिणत भएको स्विकार्छन् । उनले राष्ट्र बैंक नजिक भएकाले बैंकहरूले नगद जम्मा गर्ने सुविधा पाउँदा कार्यालय स्थापना गर्न यस क्षेत्रलाई रोज्ने गरेको उनको बुझाइ छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks