Loving nepal news

Monday, August 30, 2010

सरकार निर्माणमा कांग्रेस-माओवादी बाधक: खनाल

रासस

काठमाडौं, भाद्र १४ - एमाले अध्यक्ष झलनाथ खनालले नयाँ सरकार निर्माणमा ढिलाइ हुनुमा एमाले दोषी नभएको जिकीर गरेका छन् ।

संसदीय मामिला पत्रकार समाजले सरकार निर्माणमा ढिलाइले गर्दा शान्ति र संविधान निर्माणमा बाधा पुगेको भन्दै ध्यानाकर्षण गराउन सोमबार खनाल निवास डल्लुमा पुगेको टोलीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको चुनाव दोहोर्‍याएर नेपाली काँग्रेस र एमाओवादीले सरकार निर्माणमा बाधा पुर्‍याएको बताए ।

अध्यक्ष खनालले सरकार निर्माणका लागि एमालेको अडान राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भएको स्पष्ट पार्दै शान्ति र संविधानको सुनिश्चित गर्नका लागि राष्ट्रिय सहमतिको सरकार निर्माणमा पहल गरेको बताए । 'प्रधानमन्त्रीको निर्वाचनमा एमालेले बहुमत हुँदाहुँदै पनि राष्ट्रिय सहमतिको सरकारका लागि त्याग गर्‍यो, त्यसरी नै काँग्रेस र एमाओवादीले पनि त्याग गर्नुपर्छ'-उनले बताए ।

राष्ट्रिय सहमतिको सरकारबिना शान्ति र संविधान निर्माण हुन नसक्ने उल्लेख गर्दै उनले २०६८ जेठ १४ पनि संविधान निर्माण गर्न नसकेमा देशमा ठूलो सङ्कट आउनसक्ने खतरा औँल्याए ।

यसैबीच समाजले काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालालाई यसै विषयमा ध्यानाकर्षण गराउँदा उनले सरकार निर्माणको बाधक एमाले भएको बताएका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks