Loving nepal news

Monday, August 9, 2010

माओवादी-कांग्रेस छलफल/सहमति भए उम्मेदवारी फिर्ता लिन सकिन्छः माओवादी

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण २४ - माओवादीले दलहरुबीच सहमति भए प्रधानमन्त्रीबाट उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ । कांग्रेस नेतृत्वसँग सोमबार भएको छलफलमा माओवादीले राष्ट्रिय सहमतिको आधार निर्माण भए उम्मेदवारी फिर्ता लिन तयार भएको बताएको हो ।

छलफलपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारको नेतृत्वबारे कांग्रेससँग बिभिन्न विकल्पमा छलफल भएको बताए ।

'हाम्रो पार्टीको नेतृत्वको राष्ट्रिय सहमतिको सरकारदेखि सबै बिषयमा छलफल भयो । मुद्दागत रुपमा छलफल गरेर सहमतिमा पुग्न सकिने कुरा राख्यौ', उनले भने, 'सबै गम्भीर भएर सहमतिमा पुगे राष्ट्रिय सहमतिको लागि उम्मेदवारी फिर्ता लिन सकिने पनि बतायौ ।'

उनले निर्वाचनमा प्रतिष्पर्धा गरेपनि राजनीतिक सहमतिमा अघि बढ्न सकिने बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा प्रतिपष्र्धा गरिरहेका छन् । प्रधानमन्त्री निर्वाचन भदौ २ गते हुँदैछ ।

तर कांग्रेसले शान्ति प्रकृयादेखि संविधानसभा निर्वाचनसम्म आफ्नो पार्टीले नेतृत्व गरेकाले प्रधानमन्त्रीमा सघाउन आग्रह गरेको थियो ।

'माओवादी लडाकु र हतियारबिहीन नागरिक पार्टी बन्नुपर्ने कांग्रेसको अडान कायमै छ', छलफलपछि कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले भने, 'कांग्रेसले शान्ति प्रकृयादेखि संविधानसभा निर्वाचनसम्म नेतृत्व गरेकाले सरकारको नेतृत्वको दावी जायज भएको कुरा राख्यौ ।' कांग्रेसले माओवादी नेतृत्वमा राष्ट्रिय सहमति जुट्न नसक्ने बताएको थियो । छलफलमा माओवादीले नेतृत्वको दावी छाडेर विकल्प सोच्न कांग्रेसलाई आग्रह गरेको थियो ।

माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा दुबै दलका शीर्ष नेताहरुको उपस्थिति थियो । दुबै दलले छलफललाई निरन्तरता दिने बताएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks