Loving nepal news

Tuesday, August 31, 2010

गाउँलेले गराए अपहरण मुक्त

मकर श्रेष्ठ
भक्तपुर, भाद्र १६ - विद्यालय जाँदै गर्दा काभ्रेको बनेपाबाट अपहरणमा परेका एक विद्यार्थीलाई मंगलबार भक्तपुर ताथलीका गाउँलेले सकुशल मुक्त गराएका छन् । बनेपास्थित ज्ञानकुञ्ज उच्च माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय रोमन बिष्ट अपहरणमा परेका थिए ।
विद्यालयनजिकै पुगेका बिष्टलाई ओखलढुंगा तिलन्दु-९ घर भई हाल बनेपा डेरा गरी बस्ने ३१ वर्षीय कुमार कार्कीको मुख्य योजना र निर्देशनमा अपहरण गरिएको पुष्टि भएको प्रहरी परिसर भक्तपुरका एसपी राजेन्द्र श्रेष्ठले बताए ।
काभ्रे उग्रतारा गाविस-४ जनागालका कृपा बिष्टका छोरालाई बा१ज ५०७१ नम्बरको ट्याक्सीमा राखेर काभ्रेको नाला हुँदै च्यामासिंहतर्फ ल्याउँदै गर्दा ताथलीका राजकुमार बस्नेत, शंकर बस्नेत, ईश्वर थापालगायतका गाउँलेले मुक्त गराएका हुन् ।
'ट्याक्सीमा आत्तिएर मान्छे कराएको जस्तो लाग्यो, ट्याक्सीको सिसा लगाएको थियो,' अपहरण मुक्त गराउन सहभागी शंकरले भने, 'भाडाको बस ट्याक्सीभन्दा अगाडि थियो, कच्ची बाटो बिग्रेर गाडी रोकिएकाले साइड दिएको थिएन । बिरामी बोकेको ट्याक्सीलाई किन साइड नदिएको होला भनेर म अगाडि गएँ, ट्याक्सीमा ढल्केर हेर्दा दुई जनाको बीचमा रहेका एक बालकले बचाउ भन्दै करायो ।'
उनका अनुसार अपहरणकारीले 'पागल हो, अस्पताल लैजान लागेको' भनेर ढाँट्न खोजेका थिए । शंकरलाई देखेपछि बालक झन् चिच्याएकाले अपहरणको आशंकामा गाउँलेले अपहरणमा संलग्न दुई जना र ट्याक्सी चालकलाई पक्रेका थिए । अपहरण गर्ने एक जना भाग्न खोजेपछि समात्ने क्रममा ताथलीका शंकर बस्नेतको खुट्टामा जस्ताको पाताले काटेको थियो । घाइते अवस्थामा पनि उनले अपहरणकारीलाई लखेट्न छाडेनन् । उनको दायाँ खुट्टामा १२ टाँका लगाइएको छ ।
गाउँलेले अपहरणकारीलाई कुटपिट र ट्याक्सी तोडफोड गरी प्रहरीलाई बुझाएका थिए । प्रहरीले नियन्त्रणमा लिएका अपहरणकारीको बयानको आधारमा घटनाका मुख्य योजनाकारलाई लोकन्थलीबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा मुख्य योजनाकार कार्की, संखुवासभा खाँदबारी-११ स्थायी घर भई कोटेश्वर बस्ने २५ वर्षीय अनिश राई भनिने लोकेन्द्र राई, इलाम चुलाचुली-७ स्थायी घर भई जुडीबटी बस्ने ३४ वषर्ीय राजु सुब्बा र अपहरणमा प्रयोग गरिएको ट्याक्सीका चालक मकवानपुर बज्रबाराही-७ घर भई लोकन्थली बस्ने २३ वर्षका सुरेश बलामी छन् । घटनामा संलग्न आले
तामाङ फरार रहेको प्रहरीले जनाएको छ । ट्याक्सी चालकले दुई हजार रुपैयाँ दिन्छु भनेर कोटेश्वरबाट आफूलाई लगेको प्रहरीलाई बयान दिएका छन् ।
अपहरणमा संलग्न चारै जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी मंगलबार सार्वजनिक गर्‍यो । पक्राउ परेका सबैलाई काभ्रे प्रहरीसमक्ष बुझाइएको छ । मुख्य योजनाकार कार्की बिष्टको घरमा प्लम्बर काम गर्थे । 'चार दिनदेखि काममा आएको थिएन,' रोमनका बुबा कृपाले भने, 'केही दिन हराएको थियो, मेरो छोरा अपहरण गर्ने योजना बनाएको रहेछ ।'
विद्यालयका प्रधानाध्यापकले विद्यार्थी अपहरणको जानकारी तत्काल गराएकाले अपराधी पक्राउ गर्न सजिलो भएको एसपी श्रेष्ठले जानकारी दिए । बिष्ट परिवारको सबै जानकारी भएकाले फिरौतीका लागि अपहरण भएको हुनसक्ने प्रहरीको आशंका छ । मंगलबार अबेरसम्म उनीहरूको बयान नसकिएकाले अपहरणको कारण बुधबार खुल्ने प्रहरीले जनायो ।
यसरी समातिए अपहरणकारी
विद्यालय जाँदै गर्दा बनेपामा मंगलबार १५ वषर्ीय रोमन बिष्ट अपहरणमा परे । राजधानी आउन राजमार्ग छलेर काभ्रेको नाला हुँदै वैकल्पिक कच्ची बाटोबाट च्यामासिंह ल्याउँदै गर्दा भक्तपुरको ताथलीका गाउँलेले रोमनलाई अपहरणबाट मुक्त गराए । स्थानीय राजकुमार बस्नेत, ईश्वर थापा र शंकर बस्नेत लगायतले ज्यान जोखिममा राखेर अपहरणकारीलाई समेत समाती प्रहरीलाई बुझाए ।
राजकुमार बस्नेत
बिहान साढे ९ बजेको थियो । छोराले औषधि नखाई विद्यालय गएको थियो । औषधि पुर्‍याउन निस्केको थिएँ । नाला हुँदै ताथली च्यामासिंह जान लागेको भाडाको बस पछाडि बा१ज ५०७१ नम्बरको ट्याक्सी आइरहेको थियो । त्यसको सबै सिसा लगाइएको थियो । ट्याक्सीमा मान्छे आत्तिएर कराएको जस्तो लाग्यो । पछाडि सिटमा दुई जनाको बीचमा एउटा विद्यार्थी थियो । ऊ बेला-बेला कराउँथ्यो । बिरामी रहेछ क्यारे, गाडी जाम भएर समस्या भएजस्तो लाग्यो । ट्याक्सी अगाडिको बस सडक मर्मतका लागि थुपारेको गिट्टीका कारणले जान सकेको थिएन । मैले बसलाई अगाडि बढाउने प्रयास गरें, सकिनँ । त्यसपछि ट्याक्सीमा घोप्टो परेर चिहाएर हेरें । ऊ कराइरहेकै थियो, सिसा लगाएकाले प्रस्ट सुनिएन । बच्चाको दायाँबायाँ बस्ने दुई जनाले यो पागल भएकाले अस्पताल लैजान लागेको भने । यति भनेपछि म त्यहीं बसिरहेको थिएँ । मलाई उता जा भन्यो । अनि पो शंका लाग्यो । बच्चालाई किन मुख थुनेको होला भन्ने सोचें । फेरि बच्चा कराएको आवाज आयो । 'मार्न लाग्यो, अपहरण गरेर ल्याएको, मलाई मार्न लागिसक्यो' भनेको सुनें । त्यसपछि नजिकैको ह्याचरीमा काम गर्नेलाई बोलाएँ । दुई जना भाग्नलाई बाहिर निस्के । एउटाले 'खै अगाडि के भए छ' भन्यो अनि जाने बेलामा मलाई खुट्टाले हिर्कायो । मैले चोर-चोर भनेर कराएपछि गाउँले सबै भेला भए । दुई जना अपहरणकारी दुईतिर भागे । एक जनालाई फैढोका भन्ने ठाउँमा समायौं भने अर्कोलाई गोठाले चौरमा पुगेपछि समात्न सक्यौं ।
ईश्वर थापा
म ट्याक्सीको पछि-पछि मोटर- साइकलमा थिएँ । ट्याक्सी कच्ची सडकमा पनि स्पिडमा कुदार ल्याएको थियो । इमरजेन्सी लाइट बालेको
थियो । मोटरसाइकलले समेत भेट्टाउन गाह्रो भएको थियो । ताथली-४ गोठालेमा आएपछि बाटोका कारणले भाडाको बस रोकिएको थियो । ट्याक्सी पनि रोकियो । मैले मोटरसाइकल अगाडि लैजान खोजें, सकिनँ । पछि अपहरण गरेको शंका भएपछि हामीले समात्न सक्यौं । ट्याक्सी चालकलाई त्यहीं समायौं । कच्ची बाटोमा गाडी नरोकिएको भए अपहरण गरेको थाहा हुँदैनथ्यो । गाउँलेले थाहा पाएपछि उनीहरू भागे पनि हामीले समाएरै छाड्यौं । अनि अपहरणकारी र ट्याक्सी प्रहरीलाई बुझायांै ।
शंकर बस्नेत
म खेतमा काम गरिरहेको थिएँ । गाउँमा चोर आयो भनेर हल्ला
भयो । कसैले चोर भन्यो, कसैले अपहरणकारी भन्यो । निधो पाइनँ ।
भाग्दै गरेको मैले देखें । त्यसपछि समात्नका लागि खेतको काम छाडेर दौडिएँ । उनीहरूलाई समात्न जाँदा मेरो दायाँ खुट्टा जस्ताले
काट्यो । रगतको धारो बग्यो । मभन्दा अघि-अघि अपहरणकारी थियो । खुट्टामा हेर्दै नहेरी म दौडिनै रहें । फैढोका भन्ने ठाउँमा पुगेपछि समात्न सफल भएँ । अपहरणकारीलाई समाएपछि अस्पताल गएको थिएँ । १२ टाका लगाउनुपर्‍यो ।
यसरी समातिए मुख्य अभियुक्त
राजेन्द्र श्रेष्ठ (एसपी)
प्रमुख, महानगरीय प्रहरी परिसर भक्तपुर
प्रहरी पुग्दा ताथलीका गाउँलेले अपहरणकारीलाई कुटपिट गरिहरेका थिए । उनीहरूलाई प्रहरी टोलीले नियन्त्रणमा लिएर उद्धार गर्‍यो । ताथली पुगेको प्रहरी निरीक्षक श्रीराम भण्डारीको टोलीले ट्याक्सी आफैं चलाएर सबै अपहरणकारीलाई ल्यायो । म आफंै अनुसन्धानमा खटिएँ । अपहरणकारीले मुख्य योजनाकार अर्को व्यक्ति भएको बयान दिए । मुख्य अभियुक्त कुमार कार्कीलाई सबैले भिनाजुमात्र भने । उनीहरूलाई नाम थाहा रहेनछ । अपहरण गरेर ल्याए एक जनालाई २० हजार दिन्छु भनेर लगेको बयान उनीहरूले दिए । अनुसन्धान भइरहँदा लाइन फोनबाट एक अपहरणकारीको मोबाइलमा फोन आयो । त्यो काठमाडौं लाइनको फोन थियो । मोबाइलधारीले आफूलाई आएको फोन मुख्य अभियुक्तको हुनसक्ने बतायो । 'अपहरण गरेको थाहा पायो, प्रहरी हाम्रो खोजीमा छ, अब कता भेट्ने ?' भनेर भन्न मैले सिकाएँ । मुख्य अभियुक्तले कोटेश्वर आउनुस् भनेछ । त्यसपछि मैले निजी जिप खोजेर प्रहरी निरीक्षक कुमार विक्रम थापासहितको पाँच जनाको टोली कोटेश्वर पठाएँ ।
कोटेश्वर बोलाएपछि मैले कोटेश्वर प्रहरी प्रभागका निरीक्षकलाई फोन गरेँ । अपहरणकारीको मोबाइलमा फोन गरेको लाइन नम्बर दिएँ । उनले कोटेश्वर क्षेत्रकै साइबरबाट गरेको पत्ता लगाए । भक्तपुरबाट गएको टोली कोटेश्वर प्रहरीको सम्पर्क पुग्यो । कोटेश्वर पुगेपछि त्यहाँको प्रहरीले टेलिफोन गरेको ठाउँ देखायो ।
त्यस क्षेत्रमा भक्तपुरबाट गएको टोलीले निगरानी राख्यो । त्यतिकैमा अर्को फोन आयो । मुख्य योजनाकारले 'लोकन्थलीको पुलतिर छु,' भनेर लोकन्थली बोलायो । अनुसन्धान टोली कोटेश्वरबाट पुलतिर हानिए । लोकन्थली जाँदै गर्दा मनहरा पुल छेवैमा मुख्य योजनाकार हिँडेर लोकन्थलीतर्फ आइरहेकोरहेछ । गाडीमा लिएर गएको अपहरणकारीले देखाएपछि अनुसन्धान टोली कार्कीलाई समात्न सफल भयो । ताथलीमा पक्राउ परेका दुई जनाको कोठा कोटेश्वरमा रहेछ । कोठा खानतलासी गर्दा सहकारीको पासबुक फेला पर्‍यो । अपहरणमा प्रयोग गरिएको ट्याक्सीमा विद्यालयसम्म कसरी पुग्ने भनेर नक्सा बनाएको रहेछ । नक्सा अपहरित बिष्ट घरदेखि स्कुल जाने बाटोको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks