Loving nepal news

Monday, August 16, 2010

पहिरोपीडितको बिच्चली

कान्तिपुर संवाददाता

अछाम, भाद्र १ - खप्तड- ३ मल्लोतुका गाउँकी पानादेवी कडायतले कडा रुघाखोकी र ज्वरो आउँदा समेत औषधी पाएकी छैनन् । पहिरोको डरले तीन साताअघिदेखि घर छोड्नु परेपछि नौ महिनाको गर्भवती उनी अनिवार्य खोप समेत लिन पाएकी छैनन् ।

'नयाँ मानिस आएपछि औषधी ल्याएर आएको भन्ने आस लाग्छ', पानादेवीले भनिन्, 'हामी जस्तालाई सहयोग गर्ने कोही रहेनछन् ।' पानादेवी मात्र होइनन् । गाउँको चारै तिरबाट पहिरो जान थालेपछि विस्थापित भएर सुरक्षित स्थलतर्फ गएका खप्तड गाविसको ३/४ नम्बर वडामा पर्ने मल्लोतुका गाउँका ७३ परिवार विचल्लीमा छन् ।

विस्थापित भएका गाउँदेखि एक घन्टा टाढा पर्ने गोठपाँडाको पाखाचौरमा रेडक्रसले दिएको पालमुनि बस्दै आएका छन् । शिविर खडा गरेर बस्दै आएका ७३ परिवार सबैले पाल पाएका छैनन् । यीमध्ये ५३ परिवारले मात्र पाएको अङ्ग कडायतले बताए ।

खुला चौरमा बस्नु परेकाले शिविरमा विभिन्न रोग फैलिएको विस्थापितले बताए । महिला, बालबालिका, वृद्धवृद्धा र गर्भवती विभिन्न रोगबाट प्रभावित भएको उनीहरू बताउँछन् । 'अधिकांशलाई रुघाखोकी, ज्वरो र झाडापखालाले सताएको छ', हर्कबहादुर रावतले भने । खप्तडको उच्च लेकाली क्षेत्रको झरीले पहिरो पीडितलाई सताएको विस्थापितले बताउँछन् ।

हाल सम्म आफूहरूलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले आठ क्विन्टल चामल मात्र उपलब्ध गराएको विस्थापितले बताए । उनीहरूले समितिले आफूहरूको समस्यालाई बेवास्ता गरेको आरोप लगायका छन् । कडायतले कान्तिपुरसँग भने, 'रेडक्रसले जिल्लामा गएर विस्तापितलाई कुनै समस्या नभएको उल्लेख गरेको सुनेका छौं ।'

यता, जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजकसमेत रहेका अछामका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले खप्तडका पहिरो पीडितलाई सहयोगको आवश्यकता नभएको बताए । घरमा कुनै क्षति नभएकाले सहयोगको आवश्यकता छैन । उनले भने, 'राज्यले माग गरे जति सहयोग प्रदान गर्ने नीति बनाउनुपर्‍यो, होइन भने मागे जति दिन सकिंदैन ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks