Loving nepal news

Monday, August 9, 2010

एकै वर्ष दुई लाख सवारी साधन थपिए

योगेश खतिवडा

काठमाडौ, श्रावण २५ - गत आर्थिक वर्षमा मात्र नेपालमा २ लाखभन्दा बढी सवारी साधन थपिएका छन् । यससँगै मुलुकको सडकमा गुड्ने सवारीको संख्या १० लाख नाघेको छ । जसमध्ये आधा सवारी साधन वाग्मती अञ्चलमा दर्ता भएका छन् ।

गत आवमा अघिल्लो आवमा भन्दा ९७ प्रतिशत बढी सवारी दर्ता भएको यातायात व्यवस्था विभागले जनाएको छ । आव २०४६/०४७ पछि एक वर्षको अवधिमा भएको नयाँ सवारी दर्ताको वृद्धि अहिलेसम्मकै उच्च हो । २० वर्षको अवधिमा कुनै पनि वर्ष सवारी दर्ता १७ प्रतिशतभन्दा बढीले भएको थिएन । विभागका अनुसार गत आवमा मुलुकभरका १३ अञ्चल यातायात व्यवस्था कार्यालयमा २ लाख १ हजार ७ सय ८७ सवारी साधान दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा १ लाख २ हजार ५ सय ७० वटा सवारी साधन दर्ता थिए । कर्णाली अञ्चलमा कार्यालय छैन ।

गत आवमा तरलताको अभाव, बैंक ब्याजदरको उच्च वृद्धि, घरजग्गाको कारोबारमा मन्दीसँगै मुलुकको अर्थतन्त्रमा समस्या आउँदा गाडीको दर्ता घट्ने अनुमान तथ्यांकले गलत सावित गरिदिएको छ । तर व्यवसायीहरू दुईपांग्रे सवारीको व्यापार बढे पनि चारपांग्रे सवारीको व्यापारमा गत आवको अन्ततिर उच्च गिरावट आएको बताउँछन् । पहिले नै अर्डर गरिएका चारपांग्रे सवारी भित्रिएर दर्ता भए पनि तरलता अभाव, बैंकको उच्च ब्याजदरजस्ता कारणले बिक्री भने हुन नसकेको उनीहरू बताउँछन् । यिनको व्यापार ५० प्रतिशतले घटेको उनीहरू बताउँछन् ।

सहरी क्षेत्रमा युवा पुस्ताको मोटरसाइकलप्रति बढेको चासो र विदेशबाट आएको रेमिट्यान्सले सवारी किन्ने संस्कार बढेकाले सवारी दर्ताले समग्र तथ्यांकमा उच्च वृद्धि हुन सघाएको विभागका निर्देशक अनिलकुमार गुरुङले बताए । 'गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षमा भन्दा ९९ हजार २ सय १७ वटा बढी सवारी साधान दर्ता भएका छन्,' गुरुङले भने, 'यो अहिलेसम्मकै उच्च वृद्धि हो ।' सहरी क्षेत्रका युवामा मोटरसाइकल किन्ने सोख बढेकाले नयाँ सवारी दर्ताको संख्या उच्च वृद्धि भएको हो ।

गुरुङका अनुसार अहिलेसम्म कुल दर्ता भएका १० लाख सवारीको आधा वाग्मती अञ्चलमा दर्ता भएका छन् । आव ०४६/४७ देखि आव ०६६/०६७ सम्म वाग्मती अञ्चलमा ५ लाख ६ हजार ३५ वटा सवारी साधन दर्ता भएका छन् । वाग्मती अञ्चलमा गत आवमा ८२ हजार ५ सय ६२ वटा सवारी बिक्री भएको

छ । जसमा ६९ हजार ४ सय ८४ वटा मोटरसाइकल दर्ता भएका छन् । अघिल्लो वर्ष वाग्मती अञ्चलमा ५० हजार सवारी साधन दर्ता भए । वाग्मतीपछि सबैभन्दा बढी सवारी नारायणीमा दर्ता भए । गत आवका ३५ हजार ६ सय ७३ समेत नारायणीमा हालसम्म २ लाख २४ हजार ६ सय ४० सवारी दर्ता भएका छन् । धौलागिरिमा गत वर्षको ९ सय ३३ सहित १ हजार ३ सय ४३ मात्र सवारी दर्ता छन् ।

विभागले वाग्मती उपत्यकामा दुईपांग्रेको बिक्री बढेको बताएको छ । जनकपुर, कोसी, लुम्बिनी र भेरी सवारी दर्ता उल्लेख्य बढ्ने क्षेत्रमा पर्छन् । गत आवमा मेचीमा ६ हजार ३ सय ६, कोसीमा २० हजार ३ सय ३०, सगरमाथामा ४ हजार ८ सय ८५, जनकपुरमा ५ हजार ३ सय ७३, गण्डकीमा ९ हजार ९ सय ३० र लुम्बिनीमा २५ हजार ४ सय २ सवारी दर्ता भए । त्यस्तै राप्तीमा १ हजार ५ सय ८४, सेतीमा २ हजार ९ सय ४९ र महाकालीमा १ हजार ७९ सवारी दर्ता भए ।

अटोमोबाइल डिलर्स एसोसिएसनका उपाध्यक्ष सौरभ ज्योति गत आवमा दुईपांग्रे सवारी साधनको बिक्री बढे पनि आर्थिक वर्षको अन्ततिर चारपांग्रे सवारीको बिक्री उच्चदरले घटेको बताउँछन् । 'पछिल्लो तीन महिनामा चारपांग्रे सवारी साधनको बिक्री लगभग ५० प्रतिशतले घटेको छ,' उनले भने, 'गाडी उत्पादन कम्पनीलाई पहिले नै अर्डर गरिएकाले ल्याउनैपर्ने भएकाले संख्या तत्काल नघटेको हो ।' यो अवस्था रहिरहे चारपांग्रे सवारी दर्ता आगामी महिनामा घट्ने उनी बताउँछन् ।

बैंकले सहज ऋण नदिएकाले धेरै पैसा पर्ने गाडीको व्यापार घटेको छ । 'ब्याज ८/९ बाट १६ प्रतिशत पुगेको छ,' ज्योतिले भने, 'तैपनि एक दुई वटा बैंक मात्र पैसा दिन तयार हुँदा गाडीको व्यापार घटेको हो ।' दुईपांग्रे सवारी साधनको व्यापारमा भने असर नपरेको उनी बताउँछन् । कम मूल्य, सहकारी र वित्तीय संस्थाले सहजै ऋण दिएको अवस्था, सर्वसाधारणको आधारभूत आवश्यकता भएकाले मोटरसाइकल र स्कुटरको बिक्री भने बढेको उनले बताए ।

सरकारले सवारी आयातमा धेरै भन्सार लिए पनि सडक विस्तारलाई प्राथमिकता नदिएको गुनासो उनीहरूको छ । ज्योतिले सवारीको क्षेत्रबाट उठ्ने कर मात्र भए पनि सडक विस्तार र निर्माणमा खर्च हुनुपर्ने बताए । अहिले सरकारले चारपांग्रे सवारीको आयातमा २ सय ३८ प्रतिशत र दुईपांग्रे सवारीको आयातमा ८० प्रतिशत भन्सार लिन्छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks