Loving nepal news

Monday, August 9, 2010

कांग्रेसमा चुनावी चहलपहल

कुलचन्द्र न्यौपाने

काठमाडौ, श्रावण २५ - कांग्रेस नेतृत्वमा उम्मेदवारी घोषणा गरिसकेका कार्यवाहक सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा देशभरि चुनिएका महाधिवेशन प्रतिनिधिको जोड-घटाउमा व्यस्त छन् ।

महाधिवेशनमा समावेशी प्रतिनिधित्वको नयाँ व्यवस्था र युवाहरूको संख्या बढेबाट दुवै नेता ढुक्क देखिँदैनन् ।

सक्रिय राजनीतिको लामो पृष्ठभूमि नभएका र कुनै पक्षतिर नलागेकाको संख्या उल्लेख्य भएपछि दुवैलाई ढुक्क हुन नसक्ने स्थिति पैदा भएको हो । त्यही मत निणर्ायक हुने देखिन्छ । दुवै नेताले त्यस्ता प्रतिनिधिलाई आफूतिर आकषिर्त गर्न कसरत सुरु गरिसकेका छन् । महाधिवेशन असोज १ देखि ५ सम्म राजधानीमा हुँदैछ ।

देउवाबाट कोइरालातिर आएका उपसभापति प्रकाशमान सिंह र संसदीय दलका नेता रामचन्द्र पौडेल, प्रवक्ता अर्जुननरसिंह केसीसहितको गठबन्धन एकगठ रहेमा कोइराला बलियो देखिनेछन् । तर निर्वाचित एक महामन्त्रीमा उपसभापति सिंह र केसीको प्रतिस्पर्धाको तयारीले कोइराला अप्ठ्यारोमा छन् । उता देउवाले महामन्त्री विमलेन्द्र निधि र खुमबहादुर खड्कामध्ये एकलाई निर्वाचित र अर्कालाई मनोनीत गर्ने गरी मिलाउन खोजेको स्रोतको दाबी छ । नयाँ विधानले पदाधिकारीमध्ये सभापतिका अतिरिक्त दुई महामन्त्रीमध्ये एक र कोषाध्यक्षको निर्वाचनको व्यवस्था गरेको छ । एक महामन्त्री, उपसभापति निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस्तै खुला, अञ्चलगत र समावेशी गरी ६१ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । युवा अनुहारको बाहुल्य महाधिवेशनको अर्को आकर्षण बनेको छ । देशभरबाट झन्डै २५ प्रतिशत प्रतिनिधि युवा चुनिएका छन् ।

महामन्त्री विमलेन्द्र निधिका अनुसार सक्रिय सदस्यतामा भने ४० प्रतिशत युवाहरूको बर्चस्व भइसकेको छ । केन्द्रीय सदस्यका लागि दुई सयभन्दा बढी आकांक्षी हुने अनुमान छ । हालसम्म नवीन्द्रराज जोशी, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, रामहरि खतिवडा, शंकर भण्डारी, दीपक गिरी, गोविन्द भट्टराई, शोभाकर पराजुली, किशोरसिंह राठौर, रामकृष्ण यादव, महेन्द्र यादव, अजय द्विवेदी लगायतले आकांक्षा देखाएका छन् ।

केन्द्रीय सदस्य पूर्णबहादुर खड्काका अनुसार महाधिवेशनमा भाग लिने प्रतिनिधि र पर्यवेक्षकको संख्या करिब ३२ सय रहनेछ । तीमध्ये ३१ सय महाधिवेशन प्रतिनिधि हुनेछन् । महाधिवेशनका लागि प्रत्येक क्षेत्रबाट कम्तीमा दुई महिला, एक दलित, एक आदिवासी जनजाति, एक मधेसी, मुस्लिम, अल्पसंख्यक र पिछडिएका वर्गको प्रतिनिधित्व हुनुपर्ने विधानमा व्यवस्था रहेकाले यसपालिको महाधिवेशन समावेशी चरित्रको हुनेछ ।

कांग्रेसले पहिलोपटक भ्रातृसंस्था तथा शुभेच्छुक संंस्थाबाट, विदेशस्थित जनसम्पर्क समितिबाट समेत महाधिवेशन प्रतिनिधि व्यवस्था गरेको छ । जसबाट १ सय ४० भन्दा बढी सहभागी हुनेछन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी ६० सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । तीमध्ये केही क्षेत्रीय अधिवेशनमा निर्वाचन लडेरै प्रतिनिधि छानिएका छन् । सभापतिले ३० जना मनोनीत गर्न पाउने व्यवस्था छ ।

साउन १७ को क्षेत्रीय अधिवेशनबाट २ हजार ८ सय ८० महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आइसकेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार विदेशमा रहेका जनसम्पर्क समितिमध्ये भारतबाट १४, बेल्जियमबाट ७, कतारबाट ७, बेलायतबाट ७ महाधिवेशन प्रतिनिधिको सूची आइसकेको छ । अमेरिकाबाट आउन बाँकी छ । महाधिवेशनमा सहभागीको ठूलो संख्या हुने भएकाले विदेशबाट आउनेबाहेक स्वदेशका लागि पर्यवेक्षकको व्यवस्था नगरिने निर्णयसमेत केन्द्रीय कार्यसमितिले गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks