काठमाडौ, श्रावण १९ - राष्ट्रपति डा.रामवरण यादव र एमाले अध्यक्ष झलनाथ खनालबीच बुधबार बिहान भेटवार्ता भएको छ । राष्ट्रपति निवास शितल निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री चयनका लागि जारी परिक्रियाबारे राष्ट्रपतिले चासो राखेका थिए ।
भेटमा राष्ट्रपतिले दलहरु छिट्टै सहमतिमा पुगेर प्रधानमन्त्रीको चयन हुने विश्वास व्यक्त गरेका थिए । खनालले राष्ट्रिय सहमतिका लागि एमालेले निर्वाह गरेको भूमिका बारे राष्ट्रपतिलाई अवगत गराएका थिए । राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुबीच भइरहेको पहलबारे पनि खनालले राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
भेटपछि संचारकर्मीसंग कुरा गर्दै खनालले मुलुकको परिस्थितिप्रति राष्ट्रपतिले चिन्ता व्यक्त गरेको बताए । 'चाँडो भन्दा चाँडो राजनीतिक दलहरु एक ठाउँमा आएर सहमतिका साथ अगाडि बढ्नुहोस',राष्ट्रपतिले दिएको सुझावलाई उदृत गर्दै खनालले जानकारी दिए ।
व्यवस्थापिका संसदमा भएको तीन पटकको निर्वाचनबाट पनि प्रधानमन्त्रीको चयन हुन नसकेपछि राष्ट्रपतिले राजनीतिक परामर्श सुरु गरेका छन् । उनले मंगलबार सभामुख सुवास नेम्वाङसंग परामर्श गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks