काठमाडौ, भाद्र १४ - कांग्रेसले महिलाविरुद्ध हिंसा र छुवाछूतको भेदभाव गर्ने व्यक्तिलाई पार्टीको सदस्यताबाट वञ्चित गर्ने कार्यनीति ल्याउने भएको छ ।
पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाको संयोजकत्वमा गठित समितिले १२ औं महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको मस्यौदामा यस्तो व्यवस्था राखिएको हो । उसले सामाजिक अभियान अघि बढाउन देशभर समता दिवस मनाउने कार्यक्रमसमेत प्रस्ताव गरेको छ ।
लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न शान्ति, संविधान र संघीयताको मुद्दामा प्रस्ट कार्यदिशा लिँदै कांग्रेसले प्रजातान्त्रिक समाजवादमा आधारित नयाँ आर्थिक तथा सामाजिक विकासका कार्यक्रमलाई समेत नीति तथा कार्यक्रममा जोडेको छ ।
कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रमले परस्पर विरोधी धु्रवका विचार पनि एक ठाउँमा ल्याउन सक्ने दाबी गरे । समाजवादी कार्यक्रमलाई अघि बढाउन 'शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षा र रोजगार, मर्यादित जीवनका पाँच अधिकार' भन्ने नारालाई नीति तथा कार्यक्रममा राखिएको छ । युवाको चाहना र रुचिलाई लक्षित गरी प्रविधि र पूर्वाधारको विकासमा जोड दिइएको छ ।
आचार्यका अनुसार नीतिगत कार्यक्रममा महिला अधिकार, छुवाछूतको अन्त्य, आदिवासी जनजाति र मधेसको मुद्दालाई प्राथमिकतामा राखिएको छ । मधेसको विकासका लागि अल्पकालीन र मध्यकालीन योजनामा जोड दिँदै कांग्रेसले 'समृद्ध मधेस अखण्ड देश' भन्ने नारा राखेको छ ।
पार्टी संरचनामा आएको परिवर्तनसँग वैचारिक रूपमा पनि पार्टीलाई अघि बढाउने योजना, नीति र कार्यक्रममा रहेको आचार्यले बताए । कांग्रेसले आफ्नो स्थापनाकालदेखि मर्यादित जीवन र न्यायपूर्ण समाज निर्माणका लागि स्पष्ट विचार लिएर अघि बढेको उनले बताए । 'कांग्रेसको विचारमा क्रिया र प्रतिक्रिया गरेर नै अरू पार्टीले विचार लिएका छन्,' उनले भने, 'अरू पार्टीले जुन विचारका साथ अघि बढेका छन् । ती कांग्रेसले रोपेकै विचार हुन् ।'
आर्थिक परिवर्तनका लागि कांग्रेसले निजी क्षेत्र र सरकारको साझेदारीबाट विकास योजनालाई जोड दिएको छ । 'सबै राज्यले गर्ने परम्परागत साम्यवादी मोडलबाट पनि मुलुक अघि बढ्न सम्भव छैन । राज्यले केही नगरी सबै निजी क्षेत्रले गर्ने मोडल पनि काम छैन,' आचार्यले भने, 'कांग्रेसले यी दुवैको समन्वयमा योजना अघि बढाउने नीति अघि बढाएको छ ।'
समितिले तयार पारेको मस्यौदालाई अब बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरी टुंग्याएपछि महाधिवेशनमा प्रस्तुत गरिनेछ । महाधिवेशनमा कांग्रेसले समसामयिक राजनीतिक विश्लेषण, आर्थिक तथा सामाजिक विषय, पार्टी संगठन र अन्तर्राष्ट्रिय सम्बन्धबारे छुट्टाछुट्टै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
देउवा समितिअन्तर्गत केन्द्रीय सदस्य आचार्यको संयोजकत्वमा समसामयिक राजनीति विश्लेषण, रामशरण महतको संयोजकत्वमा आर्थिक र सामाजिक नीति र कार्यक्रम, चक्र बाँस्तोलाको संयोजकत्वमा अन्तर्राष्ट्रिय सम्बन्ध र चिरञ्जीवी वाग्लेको संयोजकत्वमा गठित उपसमितिले पार्टी संगठनसम्बन्धी मस्यौदा तयार गरेको हो ।
महाधिवेशनबाट पार्टी नेतृत्व ००७ सालको पुस्ताबाट दोस्रो पुस्तामा विधिवत हस्तान्तरण हुँदैछ । 'यसले पुरानो पुस्ताको कार्यशैली परिवर्तन गरी सामूहिक निर्णय, जिम्मेवारी बाँडफाँडको प्रक्रियामा प्रवेश गरी पार्टी संस्थागत पद्धतिमा प्रवेश गर्नेछ,' आचार्यले भने, 'पार्टीको आन्तरिक जीवनमा यो ठूलो उपलब्धि हो ।' महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा कम्तीमा सात महिला, ६ आदिवासी जनजाति, ६ दलित, ६ मधेसी र दुई मुस्लिम नेताको प्रतिनिधित्व वैधानिक रूपमा सुनिश्चित बनाएको छ ।
शान्ति प्रक्रिया र संविधान निर्माणमा भएको गतिरोध, माओवादी, एमालेलगायत राजनीतिक दलका व्यवहार, सरकार निर्माणमा देखिएको अन्योलजस्ता राजनीतिमा मुद्दामा कांग्रेसले प्रस्ट धारणा राखेर जाने अर्का केन्द्रीय सदस्य चक्र बाँस्तोलाले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks