काठमाडौं , भाद्र ८ - जिल्ला अदालत काठमाडौंले सोमबार थुनुवा भगाएको अभियोग लागेका प्रहरी निरीक्षक डोलराज शाहीलाई हिरासतमा राखेको भोलिपल्टै धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश शेखरप्रसाद पौडेलले निरीक्षक शाहीसहित पाँचै अभियुक्तहरूलाई सामान्य धरौटीमा छाड्ने फैसला गरेका हुन् ।
नेपाल प्रहरीका निरीक्षक शाहीलाई आइतबार मात्रै घटनाको अनुसन्धान गरिरहेको कारागार व्यवस्थान विभाग मातहतको छानविन टोलीले अनुसन्धानका लागि हिरासतमा राख्ने निर्णय गरेको थियो ।
ठगी मुद्दाका थुनुवा पेशल बुढाथोकीलाई भगाउने कार्यमा प्रहरी निरीक्षक शाहीको चरम लापरबाही र मिलामतो देखिएपछि उनलाई हिरासतमै राखी अनुसन्धान गर्ने निष्कर्षमा विभाग पुगेको थियो ।
निरीक्षक शाहीलाई न्यायाधीश पौडेलले ५ हजार घरौटी राखेर रिहा गर्ने आदेश दिएका छन् । धरौटीको आदेश भएलगत्तै शाही ५ हजार बुझाएर हिरासतमुक्त भएका छन् ।
कारागार ऐनमा अनुसन्धानका लागि सात दिनभन्दा बढी हिरासतमा राख्न नपाउने प्रावधानलाई टेकेर न्यायाधीश पौडेलले त्यस्तो फैसला गरेका अदालत श्रोतको दाबी छ । शाहीसँगै अनुसन्धानका क्रममा हिरासतमा राखिएका प्रहरी हवल्दार राजु राई, प्रहरी जवान रमेश बस्नेत, चन्द्रकुमार थारू र रीता थापा मगर पनि रिहा भएका छन् ।
कारागार ऐन-२०१९ मा 'सरकारी कर्मचारीले थुनुवा वा कैदी भगाएको भए घूस खाएकोमा सो घूसको बिगो बमोजिम जरिवानासमेत गरी दुई वर्षदेखि ६ वर्षसम्म कैद गर्ने' व्यवस्था छ ।
अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि नेपाल प्रहरीले निरीक्षक शाहीलाई सरकारवादी मुद्दामा धरौटीसमेत लिने गरी पुर्पक्षको निर्णय भइसकेकाले निलम्बन गर्न मन्त्रालयमा सिफारिस गरेको छ । घटना लगत्तै गठित छानविन टोलीले प्रहरीका हवल्दार र दुई जवानलाई मात्रै हिरासतमा राखेर थुनुवा छाड्न आदेश दिने प्रहरी निरीक्षक शाहीलाई केही नगरेकोमा अनुसन्धान टोलीको आलोचना भएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks