Loving nepal news

Thursday, August 26, 2010

माओवादीका तीनै प्रतिवेदन विस्तारित बैठकमा राखिने

गंगा बीसी


काठमाडौ, भाद्र ११ - माओवादी बैठकमा प्रस्तुत भएका तीन फरक प्रतिवेदनलाई बिस्तारित बैठकमा लगिने भएको छ । दाहालको प्रतिवेदनमाथि असहमत हुँदै उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले प्रस्तुत गरेका फरक राजनीतिक प्रतिवेदन छलफलका लागि विस्तारित बैठकमा प्रस्तुत गरिने भएको हो ।

जारी केन्द्रीय समिति बैठकमा दाहाल, वैद्य र भट्टराईको प्रतिवेदन छलफलमा छन् । बैठकले ती प्रतिवेदन मतदानबाट टुंगो लगाउने कम सम्भावना भएकाले विस्तारित बैठकमा लाने तयारी भएको हो । 'तीन राजनीतिक प्रतिवेदनलाई राज्य समिति भेलामा छलफल गरी विस्तारित बैठकमा केन्दि्रत गर्नेछौं,' सचिव सीपी गजुरेलले भने, 'पार्टीमा भएका विवाद र बहसले तीनवटा प्रतिवेदन आएका हुन् । गम्भीर छलफल गर्न जरुरी छ ।'

स्थायी समिति सदस्य देव गुरुङले पनि तीन नेताले उठाएका महत्त्वपूर्ण मुद्दाहरू विस्तारित बैठकमा लगिने बताए । विस्तारित बैठकमा तीनवटै प्रतिवेदन लगे आफ्नो कार्यनीति पारित हुने दाहाललाई विश्वास भएको उनी निकट स्रोतले जनाएको छ । त्यही अनुसार विस्तारित बैठकको तयारी थालिएको हो । असोज पहिलो साता हुने भनिएको विस्तारित बैठक पर सारी कात्तिक पहिलो साता हुने भएको छ ।

केन्द्रीय समिति सदस्यलाई बिहीबार बन्द कोठामा तीन प्रतिवेदन पढ्न दिइएको थियो । केन्द्रीय सदस्यको नाम र कोड नम्बर लेखेर उपलब्ध गराएका प्रतिवेदन उनीहरूले पढेर फिर्ता दिएका थिए । प्रतिवेदनमा मुख्य गरी लोकतान्त्रिक गणतन्त्रको बाटो सही कि जनविद्रोहको तयारी गर्ने, भारतलाई प्रमुख अवरोध ठान्ने कि आन्तरिक अवरोध हटाउने विषयमा केन्दि्रत छन् ।

भारतलाई हेर्ने दृष्टिकोण पनि प्रतिवेदनको मुख्य विषय छ । लोकतान्त्रिक गणतन्त्रको बाटोबाट 'प्रगतिशील जनमुखी संविधान' बनाउने विषयमा दाहाल र भट्टराई नजिक देखिएका छन् । तर दाहालले संगसँगै जनविद्रोह तयारीको विषय उठाएका छन् । वैद्यले यो प्रक्रियाबाट जनमुखी संविधान बन्ने सम्भावना नकार्दै जनविद्रोहको बाटो लिनुपर्ने प्रस्ताव गरेका छन् ।

तीन 'स' बारे तीनै सहमत भए पनि भट्टराईले माओवादीको नेतृत्वमा सरकार बन्ने अवस्था नभएमा प्रतिपक्षमा बसेर सदन र सडकबाट दबाब दिएर जनमुखी संविधान बनाउन सकिने नयाँ प्रस्ताव गरेका छन् । वैद्यले त्यो सम्भावना देखेका छैनन् । तीनै पक्षका नेताहरूले आ-आफ्नो प्रतिवेदन सही भएको दाबी गरेका छन् ।

दाहाल पक्षका एक स्थायी समिति सदस्य अध्यक्षले प्रतिवेदन लेखिसकेपछि अन्य दुई नेताले तयार पारेको हुनाले साझा देखिएको दाबी गरे । 'अध्यक्षले प्रतिवेदन लेखिसकेपछि किरण (वैद्य) र बाबुरामले प्रतिवेदन तयार पार्नुभएको हो,' उनले कान्तिपुरसँग भने । दाहालको प्रतिवेदनमा जनविद्रोह आवश्यक भएको भन्नु वैद्यसँग मिलेको छ भने अग्रगामी जनमुखी संविधान बनाउने कुरा गर्नु भट्टराईसँग मिलेको छ ।

तीनवटै प्रतिवेदन अध्ययन गरेका अर्को पक्षका स्थायी समिति सदस्यले अध्यक्ष दाहालको प्रतिवेदन 'सारसंग्रह' खालको भएको आरोप लगाए । 'अध्यक्षको प्रतिवेदनमा अलिकति किरण (वैद्य) र अलिकति बाबुरामजीको प्रतिवेदनका कुरा उल्लेख भएका छन्,' उनले कान्तिपुरसँग भने, 'अध्यक्षको प्रतिवेदन सारसंग्रह खालको छ ।'

अर्का केन्द्रीय सदस्यका अनुसार भट्टराईको प्रतिवेदनले सरकारबाट कूटनीतिक पहल, सदनबाट जनपक्षीय संविधान र सडकबाट दबाब दिनुपर्ने कुरा उठाएका छन् । वैद्यले रुस, चीनको क्रान्तिको मोडेल असफल भएको बताउँदै माओवादीले लिएको लोकतान्त्रिक गणतन्त्र पनि असफल भएको दाबी गरेका छन् । जसमा दाहाल र भट्टराई पूरै असहमत छन् ।

वैद्य र भट्टराईले दाहालको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । वैद्यले दाहाललाई 'सार्वजनिक रूपमा पार्टीभित्रकै अति वामपन्थी र दक्षिणपन्थी मिलेर घेराबन्दी भयो भन्नु गलत' भएको बताएका छन् । 'क्रान्तिको कुरा गर्ने तर व्यवहार सुधारवाद देखिएको छ,' वैद्यले दाहालतर्फ संकेत गर्दै भनेका छन् । दाहाल पक्षले भट्टराईलाई लोकतान्त्रिक गणतन्त्र सही छ भन्ने कार्यनीति लिएको अरोप लगाएका छन् भने वैद्यलाई उग्र क्रान्तिकारी । एक केन्द्रीय सदस्यका अनुसार शान्ति र संविधानसभाको बाटोबाट 'जनताको संघीय लोकतान्त्रिक गणतन्त्र' स्थापना गर्ने कार्यनीतिमा दाहाल र भट्टराई सहमति नजिक छन् ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks