काठमाडौ, भाद्र १४ - सरकारी र निजी क्षेत्रका वाणिज्य बैंकमा कार्यरत कर्मचारीले तलब, बोनस र सुविधाबापत वाषिर्क १२ अर्ब रुपैयाँभन्दा बढी बुझ्ने गरेका छन् । आर्थिक वर्ष २०६६/६७ मा तलबभत्ता र बोनस गरी करिब १५ हजार ५ सय कर्मचारीहरूले १२ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको तिनीहरूको लेखापरीक्षण हुन बाँकी प्रतिवेदनले देखाएको छ ।
गत आर्थिक वर्षभर सञ्चालित २६ वाणिज्य बैंकको वित्तीय विवरणमा कर्मचारी खर्च १० अर्ब ३९ करोड रुपैयाँ देखिन्छ । यसैगरी यी बैंकहरूले १ अर्ब ८३ करोड रुपैयाँ बोनस वितरण गरेका छन् । गत वर्ष यी बैंकहरूले कर्मचारीको तलबभत्ता र बोनसका लागि १० अर्ब रुपैयाँ खर्चेका थिए । यो वर्ष खर्च २३ प्रतिशत वृद्धि भएको छ । गर्त वर्षभन्दा ७ प्रतिशतले बोनस बढेको छ ।
बैंकका शाखा र कर्मचारी संख्या बढेकाले खर्च थपिएको जानकारहरू बताउँछन् । हालै सञ्चालनमा आएका जनता र मेगा बैंकको तथ्यांक यसमा छैन ।
यस तथ्यांकले बैंकका लगानीकर्ता र कर्मचारीहरूको आम्दानीमा २ अर्ब रुपैयाँको मात्र फरक देखिएको छ । यही विवरणअनुसार गत वर्ष बैंकका लगानीकर्ताले करिब १४ अर्ब ३१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरे । यो आम्दानी कर्मचारीको तलब र बोनस कटाइसकेपछिको हो । 'बैंकले पारदर्शी रूपमा नाफा कमाएर कर्मचारीहरूलाई पनि राम्रो पारिश्रमिक दिन सकेका छन्,' बैंकर्स संघका अध्यक्ष ससिन जोशीले भने, 'यस क्षेत्रलाई निर्वाध काम गर्न दिने हो भने यसबाट सिकेर अन्य क्षेत्र पनि यसैगरी पारदर्शी भएर आउन सक्छ ।'
यसमध्ये करिब ७ खर्ब २५ करोड रुपैयाँ तीन सरकारी वाणिज्य बैंक नेपाल बैंक, वाणिज्य बैंक र कृषि विकास बैंकका कर्मचारीले तलब र भत्तामार्फत पाएका छन् । यी बैंकमा झन्डै ९ हजार ६ सय कर्मचारी कार्यरत छन् । बैंकमा २ हजार ८ सय ९३ पूर्णकालीन र ४ सय ९ जना करार सेवाका कर्मचारी कार्यरत छन् ।
राष्ट्रिय वाणिज्य बैंकमा ३ हजार ९० कर्मचारी छन् । यसैगरी करिब ३ हजार ४ सय कर्मचारी कृषि विकास बैंकमा कार्यरत छन् । यी ३ बैंकका कर्मचारीले ३८ करोड रुपैयाँ बोनस पाएका छन् । सरकारी बैंकका कर्मचारीले पनि बोनससहित महिनाको औसत ६५ हजार रुपैयाँ आर्जन गर्ने देखिन्छ ।
यसैगरी करिब ७ हजार जनशक्तिले २३ निजी वाणिज्य बैंकहरूमा रोजगारी पाएको अनुमान छ । निजी वाणिज्य बैंकका कर्मचारीहरूले तलबभत्ता र बोनससहित वर्षको ५ अर्ब रुपैयाँ आर्जन गरेका छन् । जसअनुसार यहाँ कार्यरत कर्मचारीहरूको मासिक आर्जन औसत ८५ हजार रुपैयाँ देखिएको छ । 'बैंकिङ क्षेत्रले केही मात्रामा भए पनि राम्रा युवाहरूलाई स्वदेशमै काम गर्न प्रेरित पनि गरेको छ,' जोशीले भने ।
तर तल्लो तहका कर्मचारीको भने न्यून पारिश्रमिक हुने गरेको गुनासो पछिल्लो समयमा आउन थालेपछि कर्मचारीको तलब अन्तरबारे केन्द्रीय बैंकले समेत बैंकर्स संघको राय मागेको छ । 'धेरै तलब र बोनस अधिकृतभन्दा माथिका कर्मचारीको हुने भएकाले तल्लो तहका कर्मचारी भने मारमा छन्,' बैंकमा कार्यरत एक अधिकारीले भने । समग्र बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको तलबभत्ता मात्रै मासिक औसत ६ लाख रुपैयाँ छ । तर पछिल्लो समयमा केही वाणिज्य बैंकले बैंकका उच्च तहका कर्मचारीको तुलनामा निकै न्यून पारिश्रमिकमा करारमा जनशक्ति भर्ना गर्ने गरेका छन् । 'पहिलो वर्ष धेरैले छोड्ने भएर करारमा लिने गरिएको हो,' जोशीले भने, '१ वर्षपछि स्थायी गरिन्छ ।'
राष्ट्र बैंकका कर्मचारीको भने तलबभत्ता गरी मासिक औसत १ लाख ८ हजार आर्जन हुने देखिएको छ । आर्थिक वर्ष २०६५/६६ को वित्तीय विवरणमा कर्मचारी खर्च शीर्षकमा १ खर्ब ९५ करोड रुपैयाँ छुट्याइएको छ । केन्द्रीय बैंकमा १५ सय कर्मचारी कार्यरत छन् । निजामती सेवामा अधिकृतको तलब १४ हजार रुपैयाँ छ भने सचिवको २५ हजार रुपैयाँ छ । सरकारी सेवाका कर्मचारीले दसैंमा एक महिनाको थप पारिश्रमिक पाउँछन् भने ग्रेड र भत्तासमेत जोड्दा आधारभूत तलबमा २५ प्रतिशतसम्म थप हुने कर्मचारीहरू बताउँछन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks