Loving nepal news

Sunday, August 29, 2010

सञ्चारमाध्यममा भारतीय हस्तक्षेपको आलोचना

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र १४ - नेपालका स्वतन्त्र सञ्चारमाध्यममाथि भारतीय दूतावासले हस्तक्षेप गरेको भन्दै सञ्चारसम्बद्ध संस्था तथा व्यक्तिले आलोचना गरेका छन् ।

नेपाल पत्रकार महासंघका उपत्यकाका तीन जिल्लाका शाखा, क्रान्तिकारी पत्रकार संघ, प्रेस काउन्सिल र माओवादीले कूटनीतिक मर्यादा बिर्सेर दूतावासले वक्तव्यबाजी गरेकामा त्यसको भत्र्सना गरेका हुन् ।

भारतीय दूतावासले शुक्रबार विज्ञप्ति जारी गरी केही सञ्चारमाध्यमले भारतीय लगानीमा सञ्चालित उद्योगबाट उत्पादित वस्तुको समाचार विज्ञापन नदिएकाले गलत तरिकाले छापेको भन्दै नेपाली सञ्चारमाध्यमको आलोचना गरेको थियो । पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुर शाखाले नेपाली सञ्चारमाध्यम लक्षित भारतीय दूतावासको वक्तव्यको भत्र्सना गरेका हुन् । महासंघ काठमाडौं, ललितपुर र भक्तपुरका सभापतिहरू क्रमशः युवराज विद्रोही, दामोदर तिमल्सिना र नारायण सुन्दर किलम्बुले आइतबार संयुक्त वक्तव्यमार्फत यस्तो अभिव्यक्ति नसच्याए दूतावासविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।

'न्युज पि्रन्ट रोकिँदाको समाचार छाप्दा पनि भारतीय दूतावासले नेपाली सञ्चारलाई धम्की दिएको थियो, नेपालका एक सभासदलाई धम्की दिएको चर्चा सेलाएको छैन,' उनीहरूले विज्ञप्तिमार्फत भनेका छन्, 'यसले भारतको सिलसिलाबद्ध हस्तक्षेपकारी नीतिलाई प्रस्ट्याएको छ ।' उनीहरूले दूतावासको यो कदमको विरोध गर्न सरकारलाई अनुरोध गरेका छन् ।

प्रेस काउन्सिलका अध्यक्ष नारायण शर्माले भारतीय दूतावासले कूटनीतिक मर्यादा उल्लंघन गरी सञ्चारमाध्यममा प्रकाशित समाचारबारे प्रतिक्रिया दिएको बताएका छन् । उनले नेपाली सञ्चारमाध्यम तथ्यपूर्ण समाचार प्रकाशित गर्न स्वतन्त्र रहेकाले दूतावासको प्रतिक्रिया आलोच्य रहेको बताए ।

जनसञ्चार अभियानद्वारा आयोजित अन्तक्रिर्यामा सामुदायिक रेडियो प्रसारक संघका कोषाध्यक्ष सुवास खतिवडाले भारतीय दूतावास नेपालको प्रेस स्वतन्त्रता विरुद्ध लागेको बताए । कार्यक्रममा ब्रोडकास्टिङ एसोसिएसन नेपालका अध्यक्ष विष्णुहरि ढकालले दूतावास नियोजित रूपमा नेपाली प्रेसमाथि आक्रमणमा लागेको बताए ।

नेपाली सञ्चारमाध्यममा प्रकाशित समाचारबारे भारतीय दूतावासको धम्कीपूर्ण विज्ञप्तिको क्रान्तिकारी पत्रकार संघले पनि विरोध गरेको छ । दूतावासले कूटनीतिक मर्यादा तथा सार्वभौम प्रेस स्वतन्त्रताको उल्लंघन गरेको संघको ठहर छ । संघले दूतावासको यो धारणा नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता विरोधी भएको उल्लेख गरेको छ । 'यो नेपाली सञ्चारमाध्यममा के कस्ता विषयवस्तु दिने भन्ने सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने धृष्टता पनि हो,' संघका संयोजक महेश्वर दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिअनुसार स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने रिपोर्ट प्रकाशित भइरहेका सन्दर्भमा तिनको नेपाल सरकार वा अन्तर्राष्ट्रिय स्वतन्त्र संस्थाबाट छानबिन होस् भन्ने प्रतिबद्धता जनाउनुको साटो उल्टै गलत आरोप लगाउनु दूतावासको दादागिरी हो । 'यस्तो कार्यप्रति माफी माग्न र आगामी दिनमा नदोहोर्‍याउन दूतावासलाई आग्रह गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'साथै सरकारलाई यसको आधिकारिक रूपमा प्रतिवाद गर्न माग राख्दै दूतावासको गलत गतिविधिको विरोध गर्न सबैमा अनुरोध गर्दछौं ।'

स्वतन्त्र प्रेसमाथि हस्तक्षेप ; माओवादी

माओवादीले काठमाडौंस्थित भारतीय दूतावासले नेपालका स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गरेको भन्दै भत्र्सना गरेको छ । जारी केन्द्रीय समिति बैठकले विश्वव्यापी मान्यताविपरीत हस्तक्षेप गरेको उल्लेख गर्दै दूतावासलाई क्षमायाचना गर्न आग्रह गरेको हो । 'भारतीय दूतावासले स्वतन्त्र सञ्चारमाध्यम माथि विज्ञप्ति जारी गरी हस्तक्षेप गरेको छ,' उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकको निर्णय सुनाउँदै भने, 'बैठकले उक्त हस्तक्षेपको भत्र्सना गर्ने निर्णय गरेको छ ।' उनका अनुसार दूतावासले आफ्नो भनाइ सच्याउनु पर्ने मागसमेत बैठकले गरेको छ । 'दूतावासले आफ्नो भनाइ सच्याउनुपर्छ,' श्रेष्ठले भने, 'दूतावासले नेपाली प्रेसको सम्मान गर्नुपर्छ ।' माओवादीले दूतावासको भनाइप्रति सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ । दूतावासले सञ्चारमाध्यमलाई लक्षित गरी जारी गरेको विज्ञप्तिबारे स्पष्ट गर्नुपर्ने माग पनि गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks