काठमाडौ, भाद्र ६ - उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष उपेन्द्र कोइरालाले लेखा समितिको पूर्वाग्रहका कारण आफूले पदबाट राजीनामा दिएको बताएका छन् । लेखाले परिषद्को उत्तरपुस्तिका प्रकाशन तथा वितरणमा अनियमितता गरेको ठहर गर्दै उपाध्यक्षसहित पदाधिकारीलाई कारबाही सिफारिस गरेपछि शुक्रबार पदबाट राजीनामा दिएका उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
शिक्षामन्त्री सर्वेनाथ शुक्लले लेखाको सिफारिसअनुसार उपाध्यक्ष कोइराला र सदस्य सचिव रामबहादुर खड्काको निलम्बनका लागि सिफारिस गरेपछि उपाध्यक्षको राजीनामा आएको हो । उपाध्यक्ष कोइरालाले लेखा समितिले आफूप्रति पूर्वाग्रह राखेको प्रतिक्रिया दिए ।
'पूर्वाग्रही छानबिन समितिको प्रतिवेदनका आधारमा मलाई दोषी ठहर गरेर निलम्बन सिफारिस गरियो,' उनले भने, 'अख्तियार र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै निलम्बन गर्ने ? यो ममाथिको दुराशय नभएर के हुन्छ ? यसले लेखा समितिको विश्वसनीयतामा समस्या खडा गर्छ ।'
शिक्षा मन्त्रालयले गठन गरेको उत्तरपुस्तिका अनियमितताबारे छानबिनमा उपाध्यक्षसहितका उच्च पदाधिकारीलाई दोषी देखाएको थियो । शिक्षा मन्त्रालयको उच्च स्रोतका अनुसार शिक्षामन्त्रीले निलम्बनका लागि अर्को मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लान लागेकाले उनले त्यसअघि नै राजीनामा दिएका हुन् । मन्त्री तत्काल राजीनामा स्वीकृत गर्ने मनस्थितिमा छैनन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks