Loving nepal news

Tuesday, August 17, 2010

बन्दले मुलुकको विभिन्न भाग प्रभावित

दुर्गालाल केसी

दाङ, भाद्र २ - संघीय लोकतान्त्रिक पार्टीले आव्हान गरेको आमहड्तालका कारण बुधबार बिहानैदेखि थरुहट क्षेत्रका दाङ लगायत पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा यातायातका साधन चलेका छैनन् । उद्योग कलकारखाना, शिक्षणसंस्था र बजार पनि पूर्णरुपमा ठप्प रहेका छन् ।

आमहड्तालले गर्दा दाङ जिल्लाबाट बाहिरी जिल्लामा जाने र भित्रिने कुनैपनि सवारीका साधन नचलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । यसका साथै जिल्लाका मुख्य वजार घोराही, तुलसीपुर, नारायणपुर, लमही र भालुवाङमा पनि बजारहरु खुलेका छैनन् । निर्धारित समयमा संविधान निर्माण गर्नुपर्ने र नयाँ सर्वजातीय सरकार गठन हुनुपर्ने मागसहित एक दिने थारुवान, लिम्वुवान, किराात लगाएतका क्षेत्रमा आमहड्तालको आव्हान गरिएको संघिय लोकतान्त्रिक पार्टीका अध्यक्ष लक्ष्मण थारुले जानकारी दिए ।

चितवनमा पनि बन्दको प्रभाव

दीपेन्द्र बडुवाल

संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले आब्हान गरेको बन्दको प्रभाव चितवनमा पनि परेको छ । पार्टीको प्रभाव नरहेपनि हल्लाका भरमा जिल्ला ठप्प भएको छ ।

ठूला तथा साना सवारी साधन चलेका छैनन् । नगर क्षेत्रमा फाट्टफुट मोटरसाईकल र रिक्सा चलेका छन् । मुख्य व्यापारिक नाका नारायणगढ बजार पनि पुरै बन्द रहेको छ । बजारको पसल, कलकारखाना पुरै बन्द रहेको छ । पुर्व-पश्चिम महेन्द्र राजमार्ग सुनसान रहेको छ । नारायणगढकेा लायन्स चौक, शहीद चौक, पुल्चौकमा प्रदर्शनकारी कोई नदेखिए पनि स्वस्र्फत सबै बन्द भएका छन् । नगर भित्र गल्लीमा सामान्य पसलहरु खुलेपनि अन्य सबै बन्द छन् ।

आदिवासी जनजातिको अधिकार सुनिश्चित हुनुपर्ने, सहमतीय सरकार बन्नुपर्ने, गुटबन्दी हटनुपर्ने, सहमतीय सरकार गठन हुनुपर्ने माग गर्दै संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टीले आज थरुहट, लिम्बुवान, खम्बुवान र ताम्सालिग क्षेत्र बन्दको घोषणा गरेका छन

बिराटनगरबाट भीम घिमिरेका अनुसार

सर्वजातीय सरकार गठनको माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले गरेको बन्द आह्वानका कारण पूर्वाञ्चलको जनजीवन पनि प्रभावित भएको छ ।

बन्दका कारण पूर्वका सहरहरुमा सवारी आवागमन प्रभावित भएको छ । विराटनगर र राजविराजबाट छिटफुट यातायातका साधन चलेपनि अन्यत्र सवारी आवागमन ठप्प रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । मेची अञ्चलमा यातायात चल्न सकेको छैन भने कोशी र सगरमाथा अञ्चलका केही ठाउँमा सवारी साधन गुडेको प्रहरीको भनाई छ । पार्टीले थारुहट, ताम्सालिङ, लिम्बुवान र खम्बुवान क्षेत्र बन्द आह्वान गरेको हो ।

पूर्व पनि प्रभावित

रमेशचन्द्र अधिकारी

धनकुटा- वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि सर्वजातीय राष्ट्रिय सरकार गठनको माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले आज आव्हान गरेको बन्दका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ ।

लक्ष्मण थारु नेतृत्वको उक्त पार्टीले आव्हान गरेको बन्दले बिहानैदेखि धनकुटा सदरमुकाम लगायत हिले, सिधुवा, पाखि्रबास तथा भेडेटार-राजारानी सडकमा सवारी साधन ठप्प रहेको छ । मोटरसाईकल, एम्बुलेन्स, प्रेस, दुध बोक्ने गाडी मात्र सञ्चालनमा आएको प्रहरीले जनाएको छ । बन्दको असर यातायात क्षेत्रमा मात्र मुख्य परेको छ भने बजार पसल, विद्यालय खुलेका छन् ।

थारुहट, लिम्बुवान, ताम्सालिड, खम्बुवान प्रदेशहरु अन्तरगतका जिल्लाहरु बन्द गरेको केन्द्रीय सदस्य छिवाहाङ राईले जानकारी दिनुभयो । बन्दका कारण धनकुटा सदरमुकाम तथा मुख्य बजारहरुमा सयौं यात्रु अलपत्र परेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks