काठमाडौ, भाद्र १ - नेपालले आईसीसी विश्व क्रिकेट डिभिजन-४ मा मंगलबार मेडिसिना मैदानमा तान्जानियाको सामना गर्दै छ । पहिलोपल्ट तान्जानियासँग खेल्न लागेको नेपाली टिमको आत्मविश्वास उच्च रहेको छ ।
आयोजक इटालीलाई आइतबार ५ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको नेपालले प्रतियोगिताको फाइनल पुग्ने टिमका रूपमा आफूलाई प्रस्तुत गरिसकेको छ ।
दुवै टिम एकापसमा अपरिचित भए पनि तान्जानियाले डिभिजन-३ खेलिसकेकाले नेपाललाई कडा टक्कर दिने प्रशिक्षक रोय लुक डायसले बताए । 'तान्जानिया राम्रो टिम हो, उसको टिममा वेस्ट-इन्डिजका खेलाडीको जमात छ,' डायसले भने, 'तान्जानियाको युवा टिमले राम्रो खेल पस्कन सक्छ । खेल प्रतिस्पर्धात्मक हुनेछ ।'
प्रतियोगिताको प्रत्येक खेल महत्त्वपूर्ण रहेको प्रशिक्षक डायसले बताए । 'हाम्रो लक्ष्य डिभिजन-३ हो । प्रत्येक खेलमा हामी जित हात पार्न चाहन्छौं,' डायसको भनाइ थियो ।
इटालीविरुद्ध खेलमा ब्याट्सम्यानले खेल्न नसक्नुमा डायसले पिचलाई दोष दिए । 'पिचमा बाउन्सको भर थिएन, त्यसैले इटाली पनि सानो योगफलमा रोकिएको थियो,' डायसले भने, 'नेपाली खेलाडीले राम्रो खेलिरहेका छन् । उनीहरूबाट मंगलबार अझ राम्रो ब्याटिङको आशा गरेको छु । फिल्डिङ र बलिङतर्फ सन्तोषजनक प्रदर्शन गरेका छन् ।'
प्रशिक्षक डायस तान्जानियाविरुद्ध मेडिसिना मैदानमा खेल हुनेमा शंका गर्छन् । त्यहाँ हुने भनिएका प्रतियोगिताका दुवै खेल मैदान हिलो भएका कारण हुन सकेनन् ।
त्यस मैदानमा ज्ञानेन्द्र मल्लको शतकीय इनिङ मदतले इटालीको बोगोग्ना क्रिकेट क्लबलाई नेपालले अभ्यास खेलमा २ सय ८८ रनले हराएको थियो । टिमका हरेक सदस्यले राम्रो प्रदर्शन गरिहेकाले आफूले तान्जानियाविरुद्ध पनि इटालीसँग उतारेको खेलाडीलाई स्थान दिने डायसले बताए । युवा खेलाडी प्रदीप ऐरीलाई आफूले टिममा ल्याउन चाहे पनि उनको स्थानमा बाहिर राख्ने खेलाडी फेला नपारेको डायसले बताए ।
बोलोग्ना क्रिकेट क्लबविरुद्धको अभ्यास खेलमा नाकमा चोट लागेर घाइते भएका स्पिनर सञ्जम रेग्मीले प्रतियोगितामा खेल्ने सम्भावना कम हुँदै गएको छ । चोटका कारण उनले राम्रोसँग अभ्यास गर्न सकेका छैनन् ।
नेपाल र अमेरिकाबीच खेल भएन अमेरिका र नेपालबीच सोमबार हुने भनिएको खेल अन्तिम समयमा आएर आयोजकले रद्द गर्यो । अर्जेन्टिना र कायमन द्वीपबीच आइतबार वर्षाका कारण खेल नभएपछि त्यसलाई सोमबारका लागि सारिएको थियो । त्यस कारणले नेपाल र अमेरिकाबीच खेल हुनेमा अनिश्चितता बढेको हो । प्रतियोगिताको उद्घाटन दिन शनिबार वर्षाका कारण नेपाल र अमेरिकाबीचको खेल रद्द भएको थियो । आयोजकले त्यस खेललाई सोमबारका लागि सारेको थियो ।
प्रशिक्षक रोय डायसले नेपाल र अमेरिकाबीच कहिले खेल हुने भन्ने बिहीबार टुंगो लाग्ने बताए । 'आयोजक स्थगित खेल कहिले गराउने भन्ने समस्यामा परेको छ,' डायसले भने, 'बिहीबार हाम्रो आरामको दिन छ । अमेरिकासँग हामीले त्यही दिन खेल्नुपर्ने पनि हुनसक्छ ।'
कायमन द्वीप-अर्जेन्टिना लिगअन्तर्गत सोमबारको खेलमा कायमन द्वीपले अर्जेन्टिमाथि ५ विकेटको जित दर्ता गरेको छ । पहिले ब्याटिङ गरेको अर्जेन्टिनाले ८ विकेट क्षतिमा १ सय ६० रन बनायो । जवाफमा कायमन द्वीपले ३३ ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन जोड्यो ।
लिगको पहिलो चरणका खेलको समाप्तिमा अमेरिका पहिलो तथा कायमन द्वीप दोस्रो स्थानमा रहेका छन् । जित हात पारे पनि नेट रनरेटका आधारमा नेपाल तेस्रो स्थानमा छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks