अतुल मिश्र
काठमाडौ, भाद्र १० - मुलुकमा शतप्रतिशत ग्यारेन्टी गर्न सक्ने गरिएको डीएनए परीक्षण अभावमा अग्नि एयरको विमान दुर्घटनामा ज्यान गुमाउने मृतकका सही पार्थिव अवशेष पाउन समस्या भएको छ । राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा ताजा रगतबाट मात्रै डीएनए परीक्षण गर्न सक्ने क्षमता छ । त्यही पनि करिब दुई महिनायता यो सुविधासमेत उपलब्ध छैन ।
'सामान्य परीक्षणका आधारमा कुन व्यक्तिको कुन अवशेष हो भन्न सकिने अवस्था छैन,' त्रिवि शिक्षण अस्पतालका एक वरिष्ठ विशेषज्ञले कान्तिपुरसँग भने, 'डीएनए परीक्षण अभावमा हालमात्र आँखाले देखिने प्रमाणका आधारमा शरीरको अवशेष पहिचान गर्न सकिन्छ, जो पूर्ण सही हुने ग्यारेन्टी कसैले गर्न सक्दैन ।' '
यस्तो स्थितिमा आफ्नो मान्यताअनुसार आफ्नै आफन्तको अन्तिम संस्कार गर्न पाउनुपर्ने सहज मानवीय अधिकारसमेत प्रभावित भइरहेको छ,' ती विशेषज्ञले भने, 'मृतकको सही अवशेष पाउन असजिलो हुनु अति नै अमानवीय स्थिति हो तर यसमा कसैको ध्यान पुगेको छैन ।'
डीएनए परीक्षण सुविधा विस्तार गर्न प्रयोगशालामा निर्माण काम चलिरहेका कारण २ महिनायता ताजा रगतबाट डीएनए परीक्षण गर्ने प्रक्रियासमेत बन्द भएको हो । 'निर्माण र विस्तार प्रक्रिया सकिएलगत्तै १ महिनाभित्र तन्तुलगायतकाबाट परीक्षण सुरु गर्ने छौं,' प्रयोगशालाकी निर्देशक मिनुशोभा तुलाधरले भनिन् । प्रयोगशालामा एक महिनापछि मुलुकमै सबैखाले डीएनए परीक्षण गर्न सकिने उनले उल्लेख गरिन् ।
एक महिनापछि अपराध अनुसन्धानमा कम लाग्ने सबै खाले डीएनए परीक्षण गर्न सकिने उल्लेख गर्दै प्रयोगशालाका विशेष वैज्ञानिक जीवन रिजालले भने, 'तर यसका लागि भने अपराध अनुसन्धानको प्रोटोकल तुरन्त तयार गर्नुपर्ने हुन्छ ।' डीएनए परीक्षण सुचारु भएपछि ताजा रगत, हाड, कपाल, छालालगायत मनुष्यको सम्पूर्ण अंगको डीएनए परीक्षण गर्न सकिन्छ ।
'बेपत्ता नागरिकको वर्षौ पुरानो हाड, विमानलगायतका दुर्घटनामा समेत डीएनए परीक्षण गरी अवशेषको किटानी गर्न सकिने उल्लेख गर्दै रिजालले भने, 'हाम्रो लक्ष्य नै त्यही हो ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks