प्रतिमा बाँस्कोटा
काठमाडौ, भाद्र १० - गृहमन्त्री भीम रावलले लामो समयसम्म सरकारको गठन हुन नसक्नु मुलुकको लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले यस्तै अवस्था लामो समय रहे मुलुकको शान्ति सुरक्षामा असर पुग्ने चेतावनी पनि दिएका छन् ।
असारमा पूर्ण बजेट प्रस्तुत नहुँदा शान्ति सुरक्षाका लागि चाहिने आवश्यक बजेटको अभाव हुने तर्फ संकेत गर्दै उनले शान्ति सुरक्षाको कार्य पनि प्रभावित हुने बताए । विशेष सुरक्षा नीतिमा तोकिएको पाँच वटा जिम्मेवारी पूरा गर्न सुरक्षा निकायहरुलाई कठिनाई हुने उनको कथन थियो । 'असारमा बजेट प्रस्तुत भएको भए ती कामहरु हुँदै जान्थ्यो,'उनले भने-'दुई महिनामा समेत सरकार गठन नहुँदा त्यसले शान्ति सुरक्षाको कार्यमा निश्चय नै प्रभाव पार्छ ।'
महानगरीय प्रहरी प्रभाव बुद्धनगर बानेश्वरको बिहीबार बिहान उदघाटन गर्दै उनले कुनै व्यक्ति,पार्टी वा समूहका लागि देशलाई अर्निणयको बन्दी बनाउन नहुने बताए । सहमति र सहकार्यबाट मुलुकका अगाडि रहेको समस्याको समाधान गर्दै प्रधानमन्त्री चयन गर्नुपर्ने उनको कथन थियो ।
समस्या समाधानका लागि प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा नै अचुक औषधी हुने माओवादीको अडानले देश अर्निणयको बन्दी बनेको उनको आरोप थियो । उनले प्रधानमन्त्रीको राजीनामा अगाडि नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद्बारे सहमति जुटाउनुपर्ने आफूहरुले दिएको सुझाव बेवास्ता गर्दा अहिले जग हँसाई भइरहेको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks