काठमाडौ, श्रावण २६ - गएको एक वर्षभित्र मोबाइलबाट मात्र थप २१ लाख नेपाली दूरसञ्चारको सञ्जालमा आबद्ध भएका छन् । मोबाइल कम्पनीबीचको प्रतिस्पर्धा र शुल्कका कारण सेवा क्षेत्र विस्तारमा पनि उल्लेख्य प्रगति भएको छ । दूरसञ्चारका अन्य सेवा मात्र लिन यो अवधिमा ३ लाखले बढेको दूरसञ्चार प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । तर आधारभूत टेलिफोन विस्तार भने सुस्त देखिएको छ ।
प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार आव ०६६/०६७ को जेठसम्म दूरसञ्चार क्षेत्रका कुल उपभोक्ता संख्या ८४ लाख ८२ हजार २ सय ५७ पुगेको
छ । यो आधारभूत लाइन (तारसहित र तारविहीन), मोबाइल (जिएसएम र सिडिएमए), लिमिटेड मोबिलिटी, जिएमपिसिएस र थि्रजी प्रयोगकर्ताको कुल संख्या हो । प्राधिकरणका अनुसार अघिल्लो जेठमा यो संख्या ६० लाख ६९ हजार ६ सय ५९ थियो ।
प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपाने यस अवधिमा दूरसंचार सेवा प्रदायकको संख्यामा उच्च वृद्धि भएको बताउँछन् । सेवा प्रदायक कम्पनीबीचको प्रतिस्पर्धा, सेवा शुल्कमा आएको गिरावट, मोबाइल सेटको मूल्यमा गिरावट, सेवा विस्तारलगायतका कारण ग्राहकको संख्यामा उच्च वृद्धि भएको उनले बताए ।
'विश्वव्यापी रूपमा बढेको सञ्चारको महत्त्व नेपालमा पनि बढेको छ,' उनले भने, 'सेवा विस्तारसँगै दूरसञ्चार कम्पनीले सेवा शुल्क घटाउँदा सर्वसाधारणको पहुँचमा सेवा पुग्नुले संख्या वृद्धिमा सघाएको छ ।' सेवा प्रदायकले कम्पनीले ल्याउने गरेको आकर्षक अफर, युवा पुस्तामा बढेको मोबाइल फेसनले पनि यसको वृद्धिमा सहयोग पुर्याएको हो ।
यस्तो उच्च वृद्धिसँगै मुलुकको टेलिघनत्व ३० दशमलव २४ प्रतिशत पुगेको छ । अघिल्लो जेठमा टेलिघनत्व २२ दशमलव ०७ प्रतिशत थियो । अहिले पुगेको टेलिघनत्वमा २५ दशमलम ७५ प्रतिशत मोबाइल घनत्व छ भने २ दशमलव ९६ प्रतिशत आधारभूत लाइन र १ दशमलव ५३ प्रतिशत अन्य सेवाको हिस्सा छ ।
प्राधिकरणका अनुसार यस अवधिमा मोबाइलका ग्राहक २१ लाखले बढेका छन् । गत वर्ष मोबाइल प्रयोगकर्ताको कुल संख्या ५१ लाख ८२ हजार ३ सय ४ मा रहेकामा यस वर्षको जेठमा ७२ लाख २० हजार ९ सय ७० पुगेका छन् । मोबाइल प्रयोगकर्तामा सबैभन्दा बढी हिस्सा रहेको नेपाल टेलिकम र दोस्रो बढी उपभोक्ता रहेको एनसेलका ग्राहक बढेका छन् । गत जेठमा टेलिकमको जिएसएम मोबाइल प्रयोगकर्ता २७ लाख ८२ हजार ३ सय ३० अहिले बढेर ३७ लाख ७६ हजार ७ सय ३१ पुगेका छन् । एनसेलको जिएसएम मोबाइल ग्राहक गत वर्ष १८ लाख ६८ हजार ३ सय ८८ रहेकामा अहिले बढेर २७ लाख ३१ हजार ४ सय ४० पुगेका छन् ।
टेलिकमको सिडिएमए मोबाइल प्रयोगकर्ता अघिल्लो वर्ष ५ लाख ३१ हजार ६ सय १३ रहेकामा अहिले बढेर ७ लाख १२ हजार ७ सय ९९ पुगेको छ । प्राधिकरणको तथ्यांकका आधारमा आधारभूत टेलिफोनको ग्राहक संख्याको वृद्धि धेरै सुस्त भएको छ । अघिल्लो वर्ष आधारभूत टेलिफोनका ग्राहक ८ लाख १२ हजार ६ सय २३ रहेकामा अहिले यो संख्या ८ लाख ३१ हजार २ सय ९५ पुगेको छ । अहिले टेलिकमसहित स्मार्ट टेलिकम, नेपाल स्याटलाइट टेलिफोन र एसटिएमले आधारभूत लाइट वितरण गरिरहेका छन् । तारविहीन आधारभूत टेलिफोन सेवा टेलिकम र युटिएलले दिइरहेका छन् । यो सेवा लिने टेलिकमको ग्राहक १ लाख ७४ हजार छन् भने युटिएलका ग्राहक ६९ हजार १ सय १६ छन् ।
थि्रजीका ३ हजार ५ सयले बढे
नेपाल टेलिकमले करिब तीन वर्षअघि भित्र्याए पनि केही महिनाअघिबाट मात्र विस्तारलाई तीव्रता दिएको थि्रजी सेवा प्रयोगकर्ताको संख्या अघिल्लो जेठको तुलनामा यस जेठमा ३ हजार ८ सय १५ ले बढेको छ । अघिल्लो जेठसम्म थि्रजी प्रयोगकर्ताको संख्या ६ सय ८४ रहेकामा अहिले ४ हजार ९९ पुगको छ । यस्तै जिएमपिसिएको ग्राहक १ हजार ५ सय १७ बाट बढेर १ हजार ७ सय ४२ पुगेका छन् भने युटिएल नेपाल स्याटलाइट टेलिकमले दिँदै आएको लिमिटेड मोबिलिटी सेवा प्रयोगकर्ता ७२ हजार ५ सय ३१ रहेकामा अहिले बढेर २ लाख २४ हजार १ सय ५१ पुगेका छन् ।
दूरसञ्चार कम्पनीको बजार हिस्सा
कम्पनी उपभोक्ता गत वर्ष
नेपाल टेलिकम ५२४९८८७ ४०५५३१९
स्मार्ट टेलिकम ४३८ ०
युटिएल ४३९१५० १४०४१९
एनसेल २७३१४४० १८६८३८८
एसटिएम टेलिकम ४८६१ ४०१६
नेपाल स्याटलाइट टेलिकम ५४७३९ ०
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks