काठमाडौ, श्रावण १९ - लामो समयदेखि नकारात्मक वृद्धि देखिएको सेयर बजारमा फेरि लगानीकर्ताको आशा फर्किएको छ । बढ्दै गएको तरलता र पछिल्लो समय मौदि्रक नीतिका प्रावधानले बजार बढ्न सक्ने देखिएको हो । सेयर धितो राखी दिइने कर्जालाई केही समयअघि खुकुलो बनाइए पनि मौदि्रक नीतिले यसबारे स्पष्ट प्रावधान सार्वजनिक गरेको छ ।
यसबाहेक तरलता अभाव अझ कम गर्न राष्ट्र बैंकले लिएको योजनाले पनि सेयर बजारमा सकारात्मक प्रभाव पार्ने विश्लेषक बताउँछन् । 'पछिल्ला दिनमा बजार स्थिर देखिएको छ,' धितोपत्र दलाल संघका अध्यक्ष नन्दकिशोर मुन्दडाले भने, 'एकै पटक बुलिस प्रवृत्ति नदेखिए पनि सुधार हुने संकेत भने छ ।' तरलता अभावसँगै बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जामा वृद्धि गरेको ब्याजले सेयर बजारलाई असर गरेको छ । 'तरलता अभाव हट्दै गएपछि बैंकको ब्याजदर पनि कम हुन्छ,' सेयर बजार विश्लेषक रवीन्द्र भट्टराई भन्छन्, 'यसले सेयर बजारमा लगानी बढ्नेछ ।'
सेयर बजारमा लगानी वृद्धि गर्न केही समयअघि ६० प्रतिशतसम्म सेयर धितो राखी ऋण दिने र १० प्रतिशतभन्दा बढी मूल्य परिवर्तन भए मात्र मार्जिन कल गर्ने व्यवस्था भए पनि चर्को ब्याजका कारण लगानी बढेको थिएन । तरलता वृद्धि हुँदै गएकाले सेयर धितो कर्जामा वृद्धि आउने लगानीकर्ता बताउँछन् ।
मौदि्रक नीतिले १ सय ८० दिनको औसत सेयर मूल्य वा पछिल्लो बजार मूल्य जुन कम छ त्यसको ६० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरेको छ । यसअघि राष्ट्र बैंकले आर्थिक वर्ष २०६४।६५ मा सेयरको धितो कर्जामा नयाा व्यवस्था बनाएर ५० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था गरेको थियोे । उच्च वृद्धिको क्रममा रहेको सेयर बजारमा गिरावट आउन थालेपछि कर्जाका प्रावधान परिवर्तन गर्दै बैंकले २०६५।६६ मा मार्जिन कल गर्नुपर्ने व्यवस्था गरेको थियो ।
यसका साथै सामूहिक लगानी कोष -म्युचुअल फन्ड) को कारोबार सुरु गर्न धितोपत्र बोर्डसँग सहकार्य गरेर निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्ने केन्द्रीय बैंकले मौदि्रक नीतिमार्फत जनाएको छ । सामूहिक लगानी कोषको कानुन र नियमावलीको मस्यौदा तयार भए पनि लामो समयदेखि पारित हुन सकेको छैन । सेयर संख्या र कम्पनीको तुलनामा लगानीकर्ताको संख्या कम भएकाले संस्थागत लगानीकर्ता र सामूहिक लगानी कोषको प्रवेश गराइनुपर्ने माग गरिँदै आएको थियो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यससम्बन्धी काम अघि बढाउन प्रोत्साहन गर्नुलाई सकारात्मक रूपमा लिइएको छ । '५० करोड पुँजी भएका संस्थाले मात्र म्युचुअल फन्डको काम गर्न पाउने व्यवस्था बनाइएको छ,' मुन्दडाले भने, 'तर हुँदै नहुनुभन्दा केही कम्पनीले काम सुरु गरे सकारात्मक असर पर्नेछ ।'
मौदि्रक नीतिले प्लटिङ र जग्गा खरिद गर्नेका लागि कर्जा खुकुलो नगरेकाले पनि सेयर बजारमा लगानी वृद्धि हुने अनुमान गरिएको छ । नीतिले आर्थिक वर्ष २०६७/६८ मा कुल कर्जाको १० प्रतिशतभन्दा बढी लगानी जग्गा खरिद बिक्रीमा गर्न नपाउने व्यवस्था गरेको छ । हाल यसभन्दा बढी लगानी गर्ने संस्थाले उक्त कर्जा २ वर्षभित्र १० प्रतिशतमा झारिसक्नुपर्नेछ ।
यसका साथै बैंक तथा वित्तीय संस्थाको सुधारका लागि ल्याइएको कार्यक्रमले पनि सेयर बजारमा सकारात्मक असर गर्ने बताइन्छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा हुने पुँजीगत खर्च र अन्य मसलन्द खर्चमा पारदर्शिताका साथै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ कर्मचारीको सेवा सुविधालाई समेत समेटेको छ । 'कम्पनीको अनावश्यक खर्च घट्नु भनेको नाफा वृद्धि हुनु हो,' भट्टराईले भने, 'यसले लगानीकर्ताको फाइदा वृद्धि गर्नेछ ।'
बैंक तथा वित्तीय संस्था गाभिने प्रक्रियालाई पनि प्रोत्साहन गर्ने नीतिमा उल्लेख छ । यसले पनि सेयरबजारमा सकारात्मक असर पर्ने विश्लेषक बताउँछन् । गाभिन प्रोत्साहित गर्नका लागि विभिन्न छुट तथा सहुलियतको स्पष्ट व्यस्था गर्ने तयारी छ । 'कम्पनी गाभिने भएपछि त्यसको असर सेयर मूल्यमा पर्छ,' भट्टराईले भने, 'यो काम अघि बढ्न सके बजारलाई राम्रो हुन्छ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks