प्रयास लिम्बू ताप्लेजुङ्ग ४ भदौ
ताप्लेजुङ्गमा नेपाल टेलिकमद्वारा वितरित लेण्डलाइन तथा मोबाइल सेवामा एक साता अघि देखि आएको खराबीका कारण सेवाग्राहीले सास्ती भोग्नु परेको छ । यसरी फोन तथा मोबाइलमा खरावी आएपछि जिल्लाभित्र वितरित करिव सात सय लेण्डलाइन टेलिफोन तथा सिडिएमए फोन, नमस्ते र स्काई मोबाइलका गरी दशौं हजार उपभोक्ताहरु मारमा परेका छन्। जिल्लामा टेलिफोन सेवा नहँदा स्थानीय उपभोक्ता मात्र होइन देश विदेशबाट आउने आगन्तुकहरु समेत मारमा परेका छन्।
सञ्चार सेवा अवरुद्ध भएपछि सरकारी कार्यालय, गैर सरकारी कार्यालय र सर्वसाधारण उपभोक्तामा सास्ती भएको छ नै, बाहिर देशबाट आउने रेमिटेन्स रकमको लागि समेत बाधा पुगेको स्थानीय मनी ट्रास्फरका सञ्चालहरु बताउँछन्।
विकट तथा दुर्गम गाउँका मानिसहरु दुई/तीन दिनको पैदल बाटो हिंडेर आफन्तले विदेशबाट पठाएको रकम लिन सदरमुकाम फुङलिङ आउने गरेका छन् तर टेलिफोन नचलेकाले रकम दिएर पठाउन नसकिएको मनी ट्रास्फर तथा मनी एक्सप्रेसका सञ्चालकहरु बताउँछन्।
त्यस्तै इमेज कम्प्युटर इन्ष्टिच्युटका प्रोपाइटर राजकुमार गुरुङ पनि टेलिफोन अवरुद्ध भएकोले साइवरमा आउने उपभोक्ताहरुलाई सेवा दिन नसकेको बताउँछन्।
यता दुर सञ्चार कार्यालय ताप्लेजुङ्गका निमित्त प्रमुख विरेन्द्र चेम्जोङले निरन्तर वर्षाका कारण सुकेटारमा रहेको रिपिटर टावरमा राखिएको सोलार व्याट्री चार्ज हुन नसक्दा टेलिफोन सेवा अवरुद्ध भएको बताउनु भयो।
मौसममा परिवर्तनसँगै घाम लागेमा ब्याट्री चार्ज भई सेवा सुचारु हुने र भरपर्दो सेवाको लागि ह्यावी जेनेरेटर जडान गर्न लागिएको पनि चेम्जोङले बताउनुभयो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks